बाँकेका राजनीतिक दलद्वारा निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता
बाँके जिल्लाका राजनीतिक दलहरुले स्थानीय तहको निर्वाचनमा बालबालिकाको प्रयोग नगर्ने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् ।
जिल्ला बालकल्याण समितिद्वारा ८ बैशाखमा आयोजित ‘स्थानीय तह निर्वाचन र बालअधिकार संरक्षण तथा प्रवद्र्धन’ विषयमा राजनीतिक दलका प्रतिनिधिसँग गरिएको छलफलपछि दलहरुले सो प्रतिबद्धता जनाएका हुन् ।
बाँके युनेस्को क्लब, सेभ द चिल्ड्रेन र युनिसेफको सहयोगमा आयोजित कार्यक्रममा बालबालिकासम्बन्धी कानुन, ऐन, प्रयोगको प्रावधान, निर्वाचन आचारसंहितालगायत विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले निर्वाचन र राजनीतिक दलका अन्य कुनै पनि क्रियाकलापमा बालबालिकाको प्रयोगमा रोक लगाइएको बताउँदै यसमा जिल्ला बालकल्याण समितिले अनुगमन गर्ने व्यवस्थासमेत मिलाइएको जानकारी गराए ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र छ गाउँपालिकामा गरी दुई लाख ४६ हजार ७८ मतदाता छन् । रासस