मधेशी मोर्चा र सत्तारुढ दल सहमति नजिक, भोलि बस्ने बैठकले सबै टुंगो लगाउने
संविधान संशोधन प्रस्ताव र स्थानीय तहको निर्वाचनबारे सहमति जुटाउन बसेको सत्तारुढ दल र मधेशी मोर्चा बीचको सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।
आज बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव, प्रस्तावमाथि मोर्चाको धारणा र ३१ बैशाखमा घोषणा गरिएको स्थानीय तहको निर्वाचनका विषयमा छलफल भएको थियो ।
छलफल सकारात्मकरुपमा अघि बढेको र भोलि हुने अर्को बैठकमा सहमति हुने सम्भावना रहेको तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले जानकारी दिए ।
“सत्तारुढ दलका नेताहरु निकै लचक भएर प्रस्तुत हुनु भएकोछ, परिमार्जन सहित संशोधन पारित गर्नका लागि करिब करिब सहमतिमा पुगेका छौं,” लालले भने, “भोलि शनिबार बस्ने अर्को बैठकमा सबै कुरा टुंगो लाग्नेमा आशावादी छौं ।”
बैठक निकै उत्साहवर्धक भएको र शनिबारसम्म ठोस सहमतिमा पुगिने माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, मोर्चाका नेताहरु महन्त ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महेन्द्र राय लगायतका नेताहरु सहभागी थिए ।
सरकारले संसदमा पेश गरेको संशोधन प्रस्तावलाई के–कसरी परिमार्जन गर्ने भन्ने विषयमा सरकार र मोर्चाले आवश्यक गृहकार्य गरेर शनिबार दिउँसो २ बजे बस्ने बैठकमा टुंगो लगाउने सहमति भएको पनि लालले बताए ।