पोखराको मेयरमा उम्मेदवार छान्न एमालेमा मतदान, माछापुच्छ्रे, रुपा र मादीका उम्मेदवार सिफारिस
पोखरा महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारमा धेरै आकांक्षी देखिएपछि नेकपा एमालेले मतदानबाट तीन जनाको नाम केन्द्रमा पठाउने प्रक्रिया अगाडि बढाएको छ ।
शुक्रबार बोलाइएको महानगर संगठन कमिटीमा तीन जनाको नाम सर्वसम्मत हुने सम्भावना नभएपछि निर्वाचन प्रक्रिया शुरु भएको छ । एमालेमा मेयरको उम्मेद्वार बन्नका लागि १० जनाले आन्तरिक उम्मेदवारी दिएका छन् ।
उम्मेद्वारी दिनेमा एमाले केन्द्रीय कमिटीका वैकल्पिक सदस्य मानबहादुर जिसी, कास्कीका अध्यक्ष कृष्ण थापा, प्रदेश सदस्य श्रीनाथ बरालसहित धनराज आचार्य, पुष्पज्योति ढुंगाना, मदनकाजी श्रेष्ठ, मित्रकुमारी सुवेदी गुरुङ, राजीव पहारी, नारायणप्रसाद बास्तोला र होमबहादुर नेपाली छन् ।
मेयरमा तीन जना मध्ये एक जना महिलाको नाम अनिवार्य पठाउनु पर्नेछ । मेयरमा महिलाबाट मित्रकुमारी सुवेदीको मात्र उम्मेदवारी परेकोले उनको नाम सिफारिस हुने पक्का भएको छ ।
त्यसैगरी उपमेयरमा ८ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिने सबै महिला छन् ।
उपमेयरमा उमा परियार, गंगा कुँवर, छलिकुमारी कुँवर सुवेदी, देवका पहारी त्रिपाठी, प्रभा कोइराला, मञ्जुदेवी गुरुङ, मीना गुरुङ पोखरा ११ र मीना गुरुङ पोखरा १६ उम्मेदवारी दिएका छन् ।
उम्मेदवार छनौटका लागि केहीबेर पहिले मतदान शुरु भएको छ । महानगर कमिटीका ४ सय ३५ जनाले मतदान गर्नेछन् ।
यता, एमाले माछापुच्छ«े र रुपा गाउँपालिका संगठन कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रमुख र उप प्रमुखमा आकांक्षी बढी भएपछि मतदानबाट टुंगो लगाएका छन् ।
माछापुच्छ«ेमा मतदानबाट प्रमुखको उम्मेद्वारमा चुनिएका कर्ण गुरुङ र यदुनाथ अधिकारीको नाम जिल्ला कमिटीमा सिफारिस गरेको छ ।
प्रमुखमा महिलाको दाबी नपरेपछि गुरुङ र अधिकारीको मात्र नाम पठाइएको हो ।
गाउँपालिकाबाट सर्वसम्मत हुन नसके २ पुरुष र १ महिलाको नाम सिफारिस गर्न जिल्ला कमिटी कास्कीले निर्देशन गरेको थियो ।
मतदानमा तेस्रो नम्बरमा परेका लालबहादुर परियारको भने नाम नपठाइएको एमालेले जनाएको छ ।
उपप्रमुखमा कमला पौडेल, कृष्णकुमारी दवाडी र सीता अधिकारी तिवारीको नाम सिफारिस गरिएको छ ।
प्रमुखका ११ आकांक्षीमध्ये मतदानमा जाने भएपछि ६ जनाले नाम फिर्ता लिएका थिए । उपप्रमुखमा ७ जना आकांक्षी थिए । माछापुच्छेमा उम्मेदवार छनौटको जिम्मेवारी सचिवालय सदस्य दीपक पौडेलले पाएका थिए । जिल्ला कमिटी कास्कीले सकेसम्म बिहीबार उम्मेद्वारी टुंग्याउन निर्देशन गरे पनि कमिटीले बुधबार नै मतदानबाट छिनोफानो गरेको छ ।
यस्तै एमालेले रुपा गाउँपालिकाको पनि प्रमुख र उपप्रमुख मतदानबाट टुंग्याएको छ । अध्यक्षका ५ आकांक्षीमध्ये नवराज ओझा, कालिदास सुवेदी र कृष्णकुमारी पौडेल चयन भएका छन् । रुपाकोटमा बसेको कमिटीको बैठकले उपप्रमुखमा सरिता कुमाल, लालसुवा गुरुङ र कौशिला सुवेदीलाई चयन गरेको छ ।
यता, मादी गाउँपालिका कमिटीले मादी गाउँपालिकाको प्रमुखमा वेदबहादुर गुरुङ श्यामलाई सर्वसम्मत उम्मेदवार सिफारिश गरेको छ ।
प्रदेश कमिटी सदस्य गुरुङ लाई सर्वसम्मत प्रमुखमा उम्मदेवार बनाउन शुक्रबार सिफारिस गरेको एमाले कास्कीका कार्यालय सचिव बैनबहादुर अधिकारी क्षेत्रीले बताए । उपप्रमुखको सिफारिस शनिबार गर्ने जनाएको छ ।
जिल्ला कमिटी कास्कीका सचिवालय सदस्य तथा एमाले अन्नपूर्ण गाउँ संगठन कमिटीका संयोजक लक्ष्मीप्रसाद अधिकारीले शनिबार सम्ममा प्रमुख र उपप्रमुखको उम्मेद्वार टुंगो लगाइने जानकारी दिए । अन्नपूर्णमा प्रमुखमा ११ आकांक्षी छन् ।
युवराज श्रेष्ठ, पोखरा