बरुण नदी थुनिएपछि सप्तकोशी आसपास उच्च सतर्कता
संखुवासभामा बरुण नदीमा पहिरो गई थुनिएपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
हिजो दिउँसो ४ बजेतिर संखुवासभाको भोटखोला गाउँपालिका अन्तर्गत स्याक्सीला गोला भन्ने ठाउँमा बरुण नदी थुनिएको हो । अरुणमा मिसिने यो नदी थुनिदा करिब ३ किलोमिटर चौडा ताल बनेको छ भने बरुण बजारको ४ वटा घरमा क्षति पुगेको छ ।
नदी थुनिएपछि आज गृहमन्त्रालयको बिपद् व्यबस्थापन महाशाखा प्रमुख कृष्णबहादुर राउत, भूगर्भविद्, जला तथा मौसम बिज्ञान बिभागका प्रतिनिधि, नेपाली सेनाका तीन जना प्राविधिक, सशस्त्र प्रहरी, जल उत्पन्न प्रकोप जिभागका प्रतिनिधि र खानेपानी तथा सरसफाई राज्यमन्त्री दीपक खड्का त्यसतर्फ गएका छन् ।
पहिरोका कारण चीनसंगको नाका किमाथांका जाने बाटो समेत बन्द भएकोछ । सदरमुकाम खाँदबारीबाट ८० किलोमिटर उत्तरको यो गाउँमा सुरक्षाकर्मीको टोली आज बिहान पुगिसकेको छ ।
सप्तकोसी नदी आसपास क्षेत्रमा उच्च सतर्कता
बरुणमा पहिरो झरेर नदी थुनिएपछि सुनसरी सप्तकोसी नदी आसपासका क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
ताल एकैपटक फुटेमा सप्तकोसी नदीमा साविकभन्दा पानीको सतह बढ्ने भएकाले सो क्षेत्रमा उच्च सर्तकर्ता अपनाइएको हो ।
सुनसरीका प्रममुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलिको अध्यक्षतामा शुक्रबार जिल्ला दैवी प्रकोप उद्धार समितिको आकस्मिक बैठकले ताल फुटेर कोसीमा एकाएक कुनै पनि बेला पानीको सतह बढ्नसक्ने पूर्वानुमान गर्दै उच्च सर्तकता अपनाउने निर्णय गरेको हो ।
सप्तकोसी नदी क्षेत्रका बराहक्षेत्र, प्रकासपुर, महेन्द्रनगर, श्रीपुर, पश्चिमकुशाहा, लौकही, श्रीपुरलगायतका स्थानमा उच्च सतर्कता अपनाउनका लागि सर्वसाधारणमा आग्रह गरेको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।
नदीमा झण्डै २ दशमलव ५ किलोमिटरको ताल बनेकाले सो फुटेर सप्तकोसी नदीमा समेत ठूलो बाढी आउनसक्ने आशङ्का गर्दै कोसी आसपासका बासिन्दालाई उच्च सतर्क अवस्थामा रहन सुनसरी प्रशासनले आग्रह गरेको हो ।
समितिको बैठकले कोसीमा डुँगा सञ्चालन गर्न रोक लगाउने, गाईबस्तु चराउन नजान अपिल गर्ने, माछा मार्न निषेध गर्ने, आसपासका क्षेत्रमा रहेका वस्तीलाइ उच्च सतर्कताका साथ बस्न र सुरक्षा विकल्पका लागि वैकल्पिक स्थानको खोजी गर्ने निर्णय गरेको छ ।
रासस