तनहुँ जलविद्युतको २१ करोड मुआब्जा वितरण
१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि २१ करोड १० लाख रुपैंया मुआब्जा वितरण गरिएको छ ।
आयोजनाले डुवान क्षेत्रको जग्गा अधिग्रहणका लागि गत ५ फागुनबाट मुआब्जा वितरण शुरु गरेको थियो ।
सरकारले चालु आर्थिक वर्ष ०७३/७४ मा मुआब्जा वितरणका लागि ४२ करोड रुपैंया बिनियोजन गरेको छ । त्यसमध्ये आजसम्म २१ करोड १० लाख रुपैंया वितरण भएको छ ।
जलशायबाट डुवानमा पर्ने करिब एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेछ । आयोजनाको बाँधले तनहुँको भिमाद, माझकोट, ऋषिङ्ग रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्र डुवानमा पर्नेछन् ।
आयोजनाको १४० मिटर अग्लो बाँध व्यास नगरपालिकमा पर्नेछ । आयोजनाको बाँध करिब २५ किलोमिटर फैलने छ । काहुँशिवपुरको कुनौटेमा भूमिगत विद्युत् गृह रहनेछ । बाँधभन्दा करिब ५ किलोमिटर तल्लो तटमा रहने भूमिगत विद्युत् गृहमा पानी पुर्याएर विद्युत् उत्पादन गरिने छ । विद्युत् गृहमा ७०/७० मेगावाटका दुईवटा फ्रान्सिस टर्वाइन रहनेछन् । विद्युत् उत्पादनपछि १९० मिटर लामो सुरुङमार्फत पानीलाई सेती नदीमा खसालिने छ ।
आयोजनाको निर्माण आगामी असोजमा शुरु गरेर ०७९ पुसमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
अहिले निर्माण पूर्वका काम भइरहेका छन् । आयोजनाबाट उत्पादित बिजुली २२० किलोभोल्ट (केभी)को डबल सर्किट प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जडान गरिनेछ । यसका लागि विद्युत् गृहदेखि चितवनको भरतपुरस्थित सव–स्टेसनसम्म ३७ किलोमिटर प्रसारण लाइनको निर्माण गरिने आयोजनाले जनाएको छ ।
आयोजनाको अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर छ ।
आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत् प्राधिकरणको ८ करोड ६० लाख, एसियाली विकास बैङ्कको १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोगको १८ करोड ४० लाख र युरोपेली लगानी बैङ्कको ८ करोड ५० लाख अमेरिकी डलर सहुलितपूर्ण ऋण लगानी रहने छ ।