निगमको जहाज खरिदका लागि सरकार जमानी बस्ने
मन्त्रिपरिषद्को आजको बैठकले नेपाल वायु सेवा निगमको ‘वाईड बडी जहाज’ खरिदका लागि सरकार जमानी बस्ने निर्णय गरेको छ ।
निगमले गत २५ चैतमा अमेरिकी विमान कम्पनीसँग २१ अर्ब ९० करोडमा दुई वटा वाईड बडी जहाज’ खरिदका लागि सम्झौता गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले युरोपियन सङ्घलाई नेपालमा जग्गा खरिदका लागि अनुमति दिने निर्णय गरेको ऊर्जामन्त्री जनार्दन शर्माले जानकारी दिए ।
बैठकले महोत्तरीको बर्दिवास नगरपालिकास्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्दा लाग्ने जग्गा रजिस्ट्रेसन शुल्क मिनाहा गर्ने निर्णय पनि गरेको छ ।
बैठकले महिला बालबालिका दिवा सेवा स्याहार केन्द्रको म्याद थप गर्ने, खेलकुद मन्त्रीको विदेश भ्रमण स्वीकृति गर्ने, प्रधानसेनापतिसहितको भ्रमण दललाई अमेरिका भ्रमणका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
बिपी र पुष्पलाल पार्क निर्माण गरिने
बैठकले नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको जन्मस्थल सिन्धुलीको दुम्जामा सङ्ग्रहालय र पार्क बनाउने तथा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको जन्मस्थल रामेछापमा पार्क निर्माण गर्ने निर्णय गरेको छ । तत्कालका लागि ती दुई स्थानमा पार्कको काम अघि बढाउन रु ५०/५० लाख छुट्याउने निर्णय भएको छ । रासस