मधेशी मोर्चामा आवद्ध पाँच दलबीच आज एकता हुँदै
मधेशी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ । नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी राख्ने नेताहरुबीच सहमति भएको छ ।
सदभावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी, तराई मधेश सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र मधेशी जनाधिकार फोरम गणतान्त्रिकबीच आज ७ वैशाख दिउँसो दुई बजे एकताको घोषणा हुने भएको सदभावना पार्टीका सचिव उपेन्द्र महतोले जानकारी दिए ।
उनका अनुसार नयाँ दलको नाम राष्ट्रिय जनता पार्टी (राजपा) राख्ने सहमति भएको छ भने चुनाव चिन्ह छाता रहने छ ।
पार्टीको नेतृत्व अध्यक्ष मण्डलले गर्नेछ । जसमा पाँचवटै दलका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजकिशोर यादव, शरत्सिंह भण्डारी रहनेछन् ।
नयाँ पार्टीमा अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टीलाई समेट्ने प्रयास भइरहेको पनि महतोले बताए ।
६ चैत राति अवेरसम्म ललितपुरमा बसेको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो ।
पार्टी एकताको घोषणा आज दुई बजे कालिकास्थानस्थित एक पार्टी प्यालेसमा गरिने पनि उपेन्द्र महतोले जानकारी दिए ।