राष्ट्रपतिको भारत भ्रमणः सबैलाई समेटेर अघि बढ्ने प्रयासमा भारतको सहयोग रहने
भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीले महत्वपूर्ण राजनीतिक भेटघाट गरेको भोलिपल्ट भारतीय विदेशमन्त्रालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधान कार्यान्वयन प्रक्रियामा समाजका सबै तप्कालाई समेटेर अघि बढ्ने नेपालको प्रयासमा सहयोग पुर्याउने नेताहरुले बताएको उल्लेख छ ।
राष्ट्रपति भण्डारीको भेटघाट र भ्रमण कार्यक्रमबारे जनाकारी दिंदै भारतीय परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “भारतीय नेतृत्वले नेपालको संविधान कार्यान्वयन प्रक्रियामा त्यहाँको सरकारले समाजका सबै तप्कालाई समेटेर वार्ताका माध्यमबाट अघि बढ्न गरेको प्रयासमा आफ्नो सहयोग र समर्थन रहने दोहोर्याएको छ ।”
त्यस्तै विज्ञप्तिमा भारतीय नेतृत्वले ‘नेवरहुड फस्र्ट’ (पहिलो महत्व छिमेकीलाई) को नीतिमा पुनः जोड दिएको, नेपाल भारतको उच्च प्राथमिकतामा रहेको उल्लेख गरिएको छ ।
भारतीय राष्ट्रपति प्रणव मुखर्जीले नेपाल भारतबीच आपसी विश्वास र सद्भावको विकास बढेर गएको बताउँदै नेपालको हित र विकासमा भारत सदैव साथमा रहेको बताएको, प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पुनःनिर्माण तथा समग्र देशको विकास चाँडोभन्दा चाँडो पूरा होस् भन्ने चाहना व्यक्त गरेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दिल्लीको राजनीतिक भेटघाटपछि राष्ट्रपति भण्डारी गुजरात राज्यको भ्रमणमा गएकी छन् । उनले त्यहाँ सोमनाथ र द्वारकाधिस मन्दिरमा पुजाआजा समेत गरेकी छिन् ।
गुजरातपछि राष्ट्रपति भण्डारीको उडिसा जाने कार्यक्रम छ । त्यहाँ राष्ट्रपतिले भुवनेश्वर मन्दिरको दर्शन गर्ने, महिला सशक्तिकरण सम्बन्धी परियोजनाको अवलोकन गर्ने र उनका सम्मानमा ओडिसाका गभर्नरले विशेष भोजको आयोजना गर्ने कार्यक्रम छ ।