निर्वाचन सुरक्षा तयारीबारे सबै सन्तुष्टः गृहमन्त्री निधि
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले पहाड र तराईमा अलगअलग सुरक्षा चुनौती रहेको भन्दै त्यस्तो चुनौति निरुपणका लागि सुरक्षा योजना बनाइएको बताएका छन् ।
“ती सबै सुरक्षा चुनौतीका बारेमा हामीले छलफल गरेका छौँ,” निधिले भने, “त्यसलाई संगठित र व्यवस्थित तरिकाले निरुपण गर्न तयार छौं ।”
आसन्नत स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी पोखरामा आयोजित पश्चिमाञ्चल क्षेत्रिय सुरक्षा गोष्ठीमा सहभागी भएका निधिले सञ्चारकर्मीसँग भने “चुनाव शान्तिपूर्ण वातावरणमा हुन्छ, म सबैलाई यो ऐतिहासिक निर्वाचनमा सहभागी हुन आग्रह गर्छु ।”
हिजो ५ वैशाख विहान प्रधानमन्त्री कार्यालयमा विभिन्न दलका नेताहरुसँग भएको छलफलमा आफूले सुरक्षा स्थितिका बारेमा जानकारी गराएको उनले बताए ।
बैठकले मधेशी मोर्चासँगको वार्तालाई निरन्तरता दिने निष्कर्ष निकालेको जानकारी दिंदै उनले अगाडि भने, “निर्वाचनको सुरक्षा तयारी बारे सबै सन्तुष्ट हुनुहुन्छ, प्रधानमन्त्रीदेखि प्रतिपक्षी एमाले र अन्य दलका नेताहरु त्यहाँ हुनुहुन्थ्यो ।”
बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनको विषयमा कुनै आशंका नगर्न समेत उनले आग्रह गरेका छन् ।
आफुले केही दिन अघि राजनीतिक दलहरुलाई निर्वाचनको तयारीमा लाग्न प्रेरित गर्नका लागि गरेको ट्विटलाई अन्यथा बुझिएको उनले गुनासो गरे । आफ्नो ट्विटको उनले यस्तो अर्थ लगाएः “निर्वाचन आयोगको तयारी र सुरक्षा तयारीमा कुनै कन्जुस्याँई छैन, दलहरु पनि निर्वाचनमा आउनुप¥यो भनेको हो ।”
गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रमा रहेका १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाली सेना, अनुसन्धान विभाग लगायत सुरक्षा प्रमुखहरुको सहभागिता रहेको क्षेत्रिय प्रशासक यमकुमारी खतिवडाले जानकारी दिइन् ।
युवराज श्रेष्ठ, पोखरा