जिम्मेवारीपूर्वक काम गर्न प्रमुख निर्वाचन आयुक्तको निर्देशन
प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले उच्च मनोबल लिएर निर्वाचनको जिम्मेवारी पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।
निर्वाचन आयोग परिसरमा निर्वाचन अधिकृतका लागि सञ्चालन गरिएको निर्वाचन व्यवस्थापन र सञ्चालन प्रशिक्षणमा बोल्दै प्रमुख आयुक्तले जिम्मेवारीपूर्वक निर्वाचनको काम गर्न निर्देशन दिएका हुन् ।
प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “पूर्ण विश्वासका साथ उच्च आत्मबल बनाएर स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको जिम्मेवारी पूरा गर्ने अठोट गर्नुस्, आयोग तपाईहरुको साथमा छ ।”
निर्वाचनको वातावरण अनुकूल बन्दै गएको छ, कहीँ कतै समस्या देखियो भने खबर गर्नुस् आयोग तत्कालै त्यहाँ उपस्थिति हुनेछ, सुरक्षाको पूर्ण प्रत्याभूति भएको हुँदा ढुक्क भएर काम गर्नुस्– उनले भने ।
‘‘संविधान कार्यान्वयन र लोकतन्त्रको स्थायित्वको सन्दर्भमा आधारशीलाको रुपमा रहेको स्थानीय तहको निर्वाचन नयाँ खाले जिम्मेवारी भएकाले त्यसलाई पुरा गर्नु राष्ट्रको लागि ठूलो योगदान हो” – प्रमुख निर्वाचन आयुक्त यादवले भने ।
विगतका तालिममा उपस्थित हुन नसकेका, जगेडामा रहेका तथा नयाँ नियुक्ति भएका निर्वाचन अधिकृतका लागि सञ्चालित उक्त एकदिने प्रशिक्षणमा २८ जना सहभागी रहेको आयोगले जनाएको छ ।
उक्त प्रशिक्षणमा निर्वाचन कानुन, नियमावली, निर्देशिका, निर्वाचन सञ्चालन गर्ने विधि र प्रक्रिया, मतगणनालगायतका विषयमा प्रशिक्षण दिइनेछ । रासस