समाचारबुधवार, बैशाख ६, २०७४

गोहीको आक्रमणबाट बाँच्न सफल बालक

हिमालखबर

गोहीले ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु सजिलै मार्न सक्छ । गोहीको आक्रमणमा परेपछि फुत्किने मौका सायदै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका बालक फुत्किएर बाँच्न सफल भएभन्दा तपाईंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् ।

गत २५ चैतमा भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्न गए । सधैँ पौडी खेल्ने ठाउँमा त्यो दिन पनि साथीसँगै पुगे ।

पौडी खेल्न नदीमा हामफालेका अर्जुन गोहीको पिठ्यूँमा परे । लेउले ढाकेर बसेको थियो गोही । लेउ नै सम्झेँ उनले । “म हामफालेँ, गोहीको माथि परेछु, लेउ जस्तै बनेर बसेको रहेछ, म हामफालेपछि एक्कासी हात समायो,” सम्झँदै अर्जुन भन्छन् । देब्रे हातमा समाएर तीनचोटि पछार्‍यो । त्यसलगत्तै पानीमुनि लग्यो । सामान्यतया गोहीले समाइसकेपछि पानीमुनि लगेर सास फेर्न नदिई मार्छ । “यो हात त पुरै दुखिराछ,” गोहीले समाएको देब्रेहात देखाउँदै उनले भने ।

यति गर्दा पनि अर्जुनले होस भने गुमाएका थिएनन् । फुस्कने कोसिस उनको व्यर्थ थियो । “मैले साथीहरुलाई एउटा हातले बोलाएँ, धन्न उनीहरु आए, साथीले गोहीको आँखामा हानेछन्, अनि गोही भाग्यो,” अस्पताल शैयाबाट खुसीका साथ उनले घटनाबारे बेलिविस्तार लगाए । गोहीको आँखामा लाग्ने बित्तिकै भाग्दोरहेछ भन्ने उनले त्यो दिनबाट थाहा पाए । अर्जुन भन्छन्, “म बेहोस भएको थिइनँ, अब ज्यान बचेन भन्ने लाग्याथ्यो । एउटा हात त गोहीले छाडेकै थिएन ।”

गोहीको आक्रमणबाट अर्जुनको भुँडीमा प्वाल पारेको छ । विभिन्न ठाउँमा गोहीले टोकेको छ । खुट्टाभरि घाउ नै घाउ छ । देब्रे हात तीन ठाउँमा भाँचिएको छ । गोहीको मुखबाट फुत्किएर नयाँ जीवन पाएका अर्जुन खुसी हुँदै भन्छन्, “ठीकै भाछ सञ्चो हुन लाछ अब घर जाने ।” अब कहिल्यै पौडी खेल्न नजाने उनी बताउँछन् ।

पैसा तिर्न सकेनन् परिवारले
उनको परिवारसँग सम्पत्तिका नाममा एक कट्ठा ऐलानी जमिन मात्रै छ । घरको एउटा मात्रै छोरो हुन् अर्जुन । उनका तीन दिदिबहिनी र आमा फुलमाया अहिले १३ दिनदेखि छोराको उपचारमा चितवन मेडिकल कलेजमा छन् । कलेजको अर्थाेपेडिक वार्डको २९६ नम्बर शैयामा उनी छन् । अर्जुनकी दिदी सरिता पनि अस्पतालमै उनको हेरचाहमा छिन् । अहिलेसम्म करिब रु दुई लाख पैसा लागेको छ । नौ दिन आइसियुमा राखिएको थियो । एकदिन पोस्टअपमा राखेर चार दिनअघि अर्थाेमा सारिएको हो ।

औषधिको ऋण खोजेर नगद नै तिरे । अस्पतालको पैसा करिब रु डेढ लाख तिर्न बाँकी छ । अस्पतालको बिलको बिटो देखाउँदै आमा फूलमाया भन्छिन्, “यो पैसा कसरी तिर्नु ?” बुबा रामबहादुर मजदुरको काम गर्छन् । फूलमाया मेलापात । “म घरमै थिएँ, गोहीले तेरो छोरालाई टोक्यो, छोरो लिन जा भने गाउँलेले, त्यो सुन्दै ढलेछु, अनि मलाई थाहै भएन । भोलिपल्ट होस आयो र हस्पिटलको आइसियुमा छोरो छ भेट्न जाउँ भनेपछि आ‘को,” फुलमायाले भनिन् ।

पैसा तिर्न चन्दा सङ्कलन
चितवनका एक सामाजिक अभियन्ता द्रोण सिवाकोटीले फेसबुकमा उनको दर्दनाक तस्बिर हालेपछि घटना बाहिर आएको हो । उनीलगायत गाउँलेले अहिले उनको उपचारका लागि चन्दा सङ्कलन शुरु गरेका छन् । सक्ने सहयोग गरिदिए उनको अस्पतालको ऋण घट्ने थियो भन्छन् सिवाकोटी । पैसा नभएर परिवार पनि रन्थनिरहेको छ । “हिजो नै पैसा जम्मा गर भनेको थियो,” अर्जुनकी दिदी सरिताले भनिन्, “दश हजार जम्मा गर्‍याै‌ अरू गर्न सकिएन । गरिबले कहाँबाट ल्याउनु पैसा । गरिब परिवारलाई कसैले सहयोग गरिदिए हुन्थ्यो”, उनी अनुनय गर्दै भन्छिन् ।

अस्पताल ल्याउँदा नरुने कोही थिएन
त्यो दिन सहयोगीका रुपमा आकस्मिक कक्षमा थिइन् अस्पतालकी कर्मचारी मञ्जु भट्ट । “अर्जुनलाई ल्याउँदा अस्पतालमा नरुने कोही थिएन,” मञ्जुले भनिन्, “घाउहरु हेर्नलायक थिएन ।” भुँडीमा पारेको प्वालबाट आन्द्रा नै देखिएको उनी सम्झिन्छिन् । साह्रै पीडामा देखिएका बालक अहिले सञ्चो हुँदै जाँदा सबैलाई खुसी लागेको मञ्जुले बताइन् ।
नारायण ढुंगाना/रासस, चितवन

प्रतिकृया दिनुहोस