बुटवलमा चन्द माओवादीको कार्यक्रम विथोलियो
आसन्न स्थानीय निर्वाचनको विरोध गर्दै ‘भण्डाफोर’ अभियान सञ्चालन गरिरहेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले बुटवलमा आयोजना गरेको आमसभा प्रहरीले विथोलेको छ ।
बुटवलको ट्राफिक चोकमा आयोजित सभास्थललाई घेरा हाली प्रहरीले कार्यक्रम गर्न रोकेको हो ।
९ जना वक्ताले बोल्ने कार्यक्रम रहेको उक्त सभामा नेकपा माओवादी नेता सन्तोष बुढाबाहेक अरुले बोल्न पाएनन् ।
प्रहरी मञ्चमै पुगेर मञ्चसमेत नियन्त्रणमा लिएको थियो भने माओवादी नेता कार्यकर्ताहरु तल मैदानमा थिए ।
वरपरका जिल्लाबाट समेत ल्याइएका माओवादी कार्यकर्ताले गर्दा उपस्थित सहभागीको संख्या उल्लेख्य देखिन्थ्यो ।
निर्वाचन विरोधी कुनै कार्यक्रम गर्नबाट रोक लगाउने केन्द्रको आदेश अनुसार नेकपा माओवादीको कार्यक्रममा रोक लगाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक मुकुन्द मरासिनीले बताएका छन् ।
प्रहरीले कार्यक्रमस्थल नियन्त्रण लिई कार्यक्रम सञ्चालनमा रोक लगाउने क्रममा कुनै अप्रिय घटना भने हुन पाएन ।
दीपक ज्ञवाली, बुटवल