दिल्लीमा राष्ट्रपति भण्डारी: सम्बन्ध सुदृढ हुने विश्वास (भिडियोसहित)
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो भारत भ्रमणबाट आपसी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपतिको सम्मानमा दिइएको ‘गार्ड अफ अनर’ पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले दुई देशबीचको सांस्कृतिक सम्बन्ध थप बलियो हुँदै जाने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति भण्डारीले भारत र भारतीय जनताको प्रगती तथा सुख शान्तिको कामना गरिन् ।
उक्त अवसरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो ।
यमुना उद्यानमा वृक्षरोपण
यसैबीच राष्ट्रपति भण्डारीले आज जगतपुर सडकस्थित यमुना उद्यानमा वृक्षरोपण गरेकी छन् ।
कुल ४५७ एकड जमिनमा फैलिएको सो यमुना बायोडायभर्सिटी पार्कमा राष्ट्रपति भण्डारले मौवाको बिरुवा रोपेकी हुन् ।
राष्ट्रपति भण्डारीका साथ भ्रमण दलका सदस्य, भारतका महिला तथा बालबालिका मामिला राज्यमन्त्री कृष्णा राज सहभागी थिए ।
यसअघि राष्ट्रपति भण्डारीले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल, राजघाटमा पुगी श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन् ।