कांग्रेस नेता सिटौला अस्पताल भर्ना
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्वस्थ भएर अस्पताल भर्ना भएका छन् ।
झाडापखाला र कम रक्तचापको समस्या भएपछि पूर्व उपप्रधानमन्त्री समेत रहेका सिटौलालाई ४ बैशाख साँझ झापाको विर्तामोडस्थित विर्ता सिटी अस्पताल भर्ना गरिएको हो ।
झाडापखालाका कारण सिटौलाको शरीरमा पानीको मात्रा कम देखिएको र रक्तचाप पनि घटेको उपचारमा संलग्न डाक्टर अनिल बस्नेतले बताएका छन् ।
उपचारपछि अवस्था सामान्य बनेकोले ५ बैशाखमै सिटौला डिस्चार्ज हुने डाक्टर बस्नेतले जानकारी दिए ।
५ बैशाख दिँउसो पश्चिम झापाको लखनपुरस्थित रंगशालामा काँग्रेसले आयोजना गर्ने चुनावी सभाको लागि सिटौला ४ बैशाख देखि गृहजिल्ला झापा थिए ।
सभालाई कांग्रेस सभापती शेरबहादुर देउवा, नेता रामचन्द पौडेल, डाक्टर शशांक कोइराला, कृष्ण सिटौला लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।
गोपाल गडतौला, झापा