ब्लगआइतवार, बैशाख ३, २०७४

एउटा निम्ता कार्डको अर्थ

कनक दीक्षित

पूर्व राजा ज्ञानेन्द्रले घुमाउरो पाराले नभई सीधै गणतन्त्र स्वीकारेको देखाएका छन् ।

नेपालको संवैधानिक राजतन्त्रबाट गणतन्त्रमा फेरबदल ‘इपोकल’ थियोे– युगान्तकारी । नेपाल निर्माण गर्ने वंशको १२औं पुस्ताका राजाले आफ्नै हातबाट राजसंस्था गुमाए ।

जनआन्दोलन २०६२–६३ को प्रमुख माग गणतन्त्र थिएन; तर हठ, दम्भ र मूर्खताका कारण ज्ञानेन्द्रले राजनीतिक अवस्था ठम्याउन सकेनन् । ‘अ ला महेन्द्र’ सक्रिय राजतन्त्र स्थापना गर्न कदम चालेका उनी जनता जागेपछि पछाडि परे ।

उतिबेला गल्तीको स्वस्फूर्त स्वीकारोक्ति या ‘कल्चरल किङ्ग’ वा ‘बेबी किङ’ प्रस्ताव मानेको भए आज पनि नेपालमा राजसंस्था हुने थियो, शायद ।

ज्ञानेन्द्रले बुझेनन् कि माओवादी नेतृत्वलाई सफल अवतरणको लागि केही उपलब्धि लडाकू–क्याडरलाई पेश गर्नु थियो, त्यसैले राजसंस्थाको अन्त्य अपरिहार्य भयो ।

लोकतान्त्रिक अभ्यासमा निरन्तर धावा बोल्ने नारायणहिटीलाई पदच्यूत गर्दा अन्य दलहरूलाई पनि हाइसन्चो नै थियो ।

अन्य मुलुकमा रक्तपात हुँदो हो, राजसंस्था मासिंदा । नेपालमा भने २९ जेठ २०६५ को साँझ पत्रकार सम्मेलन गरेर शालिन बहिर्गमन भयो नारायणहिटीबाट ज्ञानेन्द्र तथा कोमलको ।

तत्पश्चात्का वर्षहरूमा ज्ञानेन्द्रले समयचक्र कुरेर बसे– अर्धराजनीतिक सन्देश–वक्तव्य दिंदै, नयाँदिल्ली भ्रमणमा ठूलाबडा भेट्दै, नेपालको राजनीतिको नाडी छाम्दै । तर अन्ततोगत्व उनले गणतन्त्रअन्तर्गत नै जीवनयापन गर्ने निर्णयमा पुगेजस्तो देखिन्छ ।

३ माघ २०७३ मा राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहको निम्तो स्वीकारेर शीतलनिवासमा प्रवेश गरे उनी, अन्य नागरिकसरह । योभन्दा पनि ठूलो संकेत थियो– आफूलाई ‘पूर्वराजा’ भन्दै राष्ट्रपतिलाई नातिको ब्रतबन्धमा बोलाउनु र आदर–सम्मानका साथ आतिथ्य र सिटिङ गर्नु ।

उपनयन
राजनीतिक घटनाक्रमले नेपालमा गणतन्त्र स्थापित गर्‍यो र इतिहाससँगको एउटा तन्तु चुँडिंदा पनि पोलिटीको विकासक्रम रोकिएन । संविधान लेखियो ।

भारतमा हिन्दूवादी नरेन्द्र मोदी तथा उत्तरप्रदेशमा नेपालको गणतान्त्रिक रुपान्तरणको विरोधी महन्त आदित्यनाथको उदय हुँदा यहाँको राजनीति समेत खल्बलिने सम्भावना प्रचूर थियो र छ ।

यस्तो अवस्थामा नेपाल नेपालीले सञ्चालन गर्ने हो, सिमानापारिको अभ्यास, प्रयोग र हावाहुरीले यताको राजनीतिक उत्पत्तिलाई असर पार्नुहुँदैन ।

नेपाल जेजस्तो छ, हुनेछ; नेपाली नागरिकबीचको बहस, समझदारी, राजनीतिक रस्साकस्सीबाट हुनेछ ।

राजनीतिक तथा भू–राजनीतिक चुनौती झेलिरहेको नेपाल राज्यलाई ज्ञानेन्द्रले त्यो निम्तो कार्डमार्फत लोकतान्त्रिक स्थिरताको लागि चाहिने एउटा सौगात दिएका छन् ।

२४ चैत २०७३ मा होटल सोल्टीमा पूर्व श्री ५ नवयुवराज हृदयेन्द्रको उपनयनको निम्ता कार्डमा ज्ञानेन्द्रको परिवार यसरी प्रस्तुत छन्:
पूर्व श्री ५ महाराजाधिराज
पूर्व श्री ५ बडामहारानी
पूर्व युवराजाधिराज
पूर्व युवराज्ञी

अंग्रेजी कार्डमा पनि यसै गरी ‘फर्मर किङ अफ नेपाल’ र ऐजन ऐजन छ ।

यो निम्ता कार्ड गणतन्त्रको लिखितम् स्वीकारोक्ति हो । पूर्वराजा ज्ञानेन्द्रले आफ्नो पूर्व ‘स्टेटस्’ मा मात्र ल्याप्चे लगाएनन्, आफ्ना शाखासन्तानलाई पनि यस अभिव्यक्तिबाट बाँधिदिए ।

कसैले भन्लान् कि ‘श्री ५’ र ‘हिज म्याजेस्टी’ प्रयोगले अझै पनि पूर्ण स्वीकारोक्ति जनाउँदैन, तर ‘पूर्व’ शब्दले त्यो सबै गौण बनाइदिन्छ ।

बाँकी रह्यो पूर्व राजपरिवारलाई आम नागरिकले आउँदा दिनमा कसरी हेर्ने हुन् ।

नेपाल राज्यमा लोकतान्त्रिक स्थिरता आइसक्दा मुलुकको सार्वभौमिकताका कारण पनि यहाँ समृद्धि पलाउँछ भन्ने प्रष्ट छ, यसै कारण पनि एकीकरणका नायक पृथ्वीनारायण शाह र उनका वंशजलाई मर्यादा दिनमा कुनै कन्जुस्याइँ गर्नुको अर्थ छैन ।

नेपालको संविधान २०७२ मा नामोनिशान छैन राजसंस्था र राजपरिवारको, तर यस परिवारको मर्यादा भने कायम रहनुपर्छ ।

पूर्व राजपरिवारको सत्कार र अभिवादन गर्न चाहने नागरिकलाई पूर्ण छूट हुनुपर्छ (जो छ पनि) । यसलाई नेपाली तरीका भनौं । आम नागरिकमाझ रहुन् बसुन् पलायन हुने अवस्था कहिल्यै नआओस्।

यसको लागि पूर्व राजपरिवारको पनि दायित्व छ– गणतन्त्रको स्वीकारोक्तिसहित कुनै पनि अर्थमा ‘राजनीति’ नगर्ने ।

समाजको सहज नजरको हकको दाबी गर्न पूर्व राजपरिवार आफैं शालीन र गैरराजनीतिक हुनुपर्‍यो । उपनयनको निम्ता कार्डले त्यस्तै संकेत गर्छ ।

प्रतिकृया दिनुहोस