समाचारबुधवार, भाद्र ८, २०७३

‘हिमाल साउथएशियन’ को प्रकाशन स्थगन

हिमालखबर

काठमाडौंबाट प्रकाशित हुने २९ वर्ष पुरानो अंग्रेजी भाषाको दक्षिण एशियाली पत्रिका ‘हिमाल साउथएशियन’ को प्रकाशन स्थगन हुने भएको छ ।

राज्यका निकायहरुको निरन्तर असहयोगका कारण वाध्यताबस ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गर्नुपरेको प्रकाशक संस्था ‘साउथ एशिया ट्रष्ट’ ले जनाएको छ ।

“दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीका विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको हो”, ट्रष्टद्वारा ८ भदौमा जारी विज्ञप्तिमा उल्लेख छ ।

वैशाख २०७१ मा हिमाल साउथएशियन माथि व्यवस्थापिका संसदमा दोषारोपण हुँदा र गत एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदै गर्दा पनि पत्रिका प्रकाशनमा आँच आउन नदिइएको तर, स्थिति काबुभन्दा बाहिर पुगेपछि पत्रिका स्थगनको निर्णय लिइएको ट्रष्टको भनाई छ ।

आफ्ना विभिन्न दायित्वहरु पूरा गर्न पत्रिका आगामी मंसीरसम्म प्रकाशन हुने पनि ट्रष्टले जनाएको छ ।

त्यस्तै पत्रिकाको सम्पादकीय टोली स्वतन्त्र पत्रकारिताप्रति समर्पित रहेकोले जब नेपालभित्र (या अन्यत्र) सम्भावना खुल्दछ, हिमाल साउथएशियन पुनः प्रकाशनमा आउने पनि विज्ञप्तिमा उल्लेख छ ।

हिमाल साउथएशियन २९ वर्षअघि हिमाली क्षेत्रको पत्रिकाको रुपमा शुरु भई सन् १९९६ मा पहिलो दक्षिण एशियाली पत्रिकामा परिणत भएको हो। पछिल्लो समय पुस्तकाकारमा प्रकाशन हुने यो पत्रिकाले दक्षिण एशिया क्षेत्रका समसामयिक विषयहरुमा गम्भीर बहस चलाइरहेको छ ।

प्रेस विज्ञप्ति:

हिमाल साउथएशियन पत्रिका प्रकाशन स्थगन सम्बन्धमा

दक्षिण एशियाली ‘क्रस–बर्डर पत्रकारिता’ गर्ने हिमाल साउथएशियन पत्रिकाको प्रकाशन स्थगन गरिएको सूचना प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ ले खेदपुर्वक जारी गर्दछ । नेपाल सरकारका सम्बन्धित नियमन निकायहरुको असहयोगको कारण ट्रष्टको कार्यकारी समितिको ६ भदौको बैठकले उक्त निर्णय लिएको हो ।

दक्षिण एशियाका अन्य ठाउँका मिडिया र नागरिक समाजलाई जस्तै ठाडो सेन्सरसीप या अन्य खालका हस्तक्षेपबाट नभई ब्यूरोक्रेसीको विभिन्न अंगमार्फत दबाव दिई हिमाल साउथएशियन लाई बन्द गराइएको हो । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि नेपाल राज्य दक्षिण एशियामा प्रेस स्वतन्त्रताको हिमायती भए तापनि गत २० वर्षको राजनीतिक अन्योलमाझ राजनीतिक नेतृत्व ‘खुला समाज’ प्रति निरन्तर उदासीन हुँदै गएकोले प्रेस स्वतन्त्रता कुण्ठित भएको छ ।

धेरै हदसम्म दातृ संस्थाका अनुदानमा भरपर्ने प्रकाशक ‘द साउथएशिया ट्रष्ट’ले विद्यमान नियम, कानून अन्तर्गत रही आफ्नो क्रियाकलापहरु गर्दै आएको छ । विभिन्न नियमन निकायका पदाधिकारीहरुले ट्रष्टको क्रियाकलापमा कुनै समस्या नरहेको तर ‘माथिको दबाव’ का कारण आफू निरीह भएको भन्दै आएका छन् ।

७ महिनाभन्दा बढी भयो– दातृ निकायबाट हिमाल साउथएशियन का लागि स्वीकृत अनुदान प्रयोग गर्न ट्रष्टलाई स्वीकृति दिइएन । अन्तर्राष्ट्रिय पत्रिका हिमाल साउथएशियन मा काम गर्न गैर–नेपाली पत्रकारहरुलाई श्रम स्वीकृति प्राप्त हुन छाड्यो । मुलुक बाहिरका लेखक÷स्तम्भकारहरुको पारिश्रमिक पठाउन अस्वभाविक ढिलाइ हुन थाल्यो । हाम्रो सानो सम्पादकीय र प्रशासनिक टिमले यी र अन्य चुनौतीबीच पत्रिका प्रकाशन निरन्तर गर्न कोशिश गर्‍यो ।

निरन्तर २९ वर्ष प्रकाशित हिमाल साउथएशियन बन्द गर्ने निर्णय लामो मन्थन र सोच पुर्‍याएर गरिएको हो । गत ३ वर्षदेखि विभिन्न चुनौतीहरु सामना गर्दै प्रिन्ट र अनलाइन प्रकाशनलाई निरन्तरता दिइएको थियो । २०७१ वैशाखमा हिमाल साउथएशियन माथि व्यवस्थापिका संसदमा दोषारोपण हुँदा र गत एक वर्षयता पत्रिकाका संस्थापक सम्पादक एवं ट्रष्टका अध्यक्ष कनकमणि दीक्षितमाथि प्रहार हुँदै गर्दा पनि पत्रिका प्रकाशनमा आँच आउन दिइएन । तर स्थितिलाई सम्हाल्न सकिनेभन्दा बाहिर पुर्‍याइएपछि पत्रिका स्थगनको निर्णय लिइयो ।

हिमाल साउथएशियन ले आफ्नो सबै अभिभारा र दायित्व पूरा गरी २०७३ मंसिरमा प्रकाशन स्थगन गर्नेछ । सम्पादक अनोहिता मोजुमदार र उनको टीम स्वतन्त्र पत्रकारिताप्रति समर्पित रहेकोले जब नेपालभित्र (या अन्यत्र) सम्भावना खुल्दछ, हिमाल साउथएशियन पुनः प्रकाशनमा आउने नै छ । हाम्रा पाठकवर्ग तथा वृहत दक्षिण एशियाली बौद्धिक समाजलाई भविष्यका घटनाक्रम र हाम्रा योजनाबारेको सूचना www.himalmag.com द्वारा दिइनेछ ।

 

हस्ताक्षरः  द साउथ एशिया ट्रष्टको कार्यकारी समितिको तर्फबाट शमिक मिश्र

८ भाद्र २०७३

(हिमाल साउथएशियन सन् १९८७ मा हिमाली क्षेत्रको पत्रिकाको रुपमा शुरु भई सन् १९९६ मा पहिलो दक्षिण एशियाली पत्रिकामा परिणत भएको हो । द साउथएशिया ट्रष्ट, नेपालको ‘संस्था दर्ता ऐन’ अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुरमा दर्ता भएको छ ।)

सोधपुछः +९९७–१–५५५२१४१

इमेलः [email protected]

 

प्रतिकृया दिनुहोस