दस्तावेजशनिवार, बैशाख २, २०७४

चीनमा संस्कृत भाषा

ज्ञानमणि नेपाल

चीनमा ताङ्गवंशको शासनकालभन्दा पहिल्यैबाट संस्कृत र पालिका ग्रन्थहरू चिनियाँ भाषामा अनुवाद भइरहेका थिए। 
 
कुनै पनि देशका मान्छेले अर्को देशमा कुनै कारणवश जानै पर्छ। धार्मिक, आर्थिक, राजनीतिक, सामाजिक कारणले जाँदा गन्तव्य देशको विषयमा सामान्य जानकारी राख्नैपर्छ। गन्तव्य देशको भाषा–संस्कृति जानिएन भने मनोभावनाको आदानप्रदान हुन सक्तैन, इशाराले बाहिरी कामचलाउ मात्र हुन्छ।

विशेषतः राजदूत भएर (राजनीतिक कारणले) जानेले गन्तव्य देशको भाषा जानेको हुनुपर्छ, नभए साथमा दोभाषे राखेकै हुनुपर्छ। 

यहाँ हामी चीनको विषयमा कुरा गर्न लागेका छौं। महान् चीन र भारत साँध जोडिएकै देश हुन्, तापनि बीचमा विशाल हिमालय श्रृंखला छिचोलेर आउने बाटो नहुँदा लामो पश्चिमको गोवी मरुभूमि हिंडेर अफगानिस्तान हुँदै भारत आउजाउ गर्नु पर्थ्यो।

विशेषतः बेपारीको सामान ओसारपसार गर्न सजिलो हुने हुँदा पूर्वको समुद्री मार्गबाट पनि आवतजावत हुन्थ्यो। चीन र भारतबीच त्यस्तो बेपार उहिल्यैबाट भएको पाइन्छ।

मौर्यकालमा लेखिएको कौटिल्यको अर्थशास्त्रमा चीनमा बनेको चीनांशुक (रेशमी बस्त्र) उत्तम हुन्छ भनेर लेखिएको छ। त्यसरी बेपार गर्ने यताका महाजनहरूले उताको चिनियाँ भाषा र उताकाले यताको पालि, प्राकृत, संस्कृत भाषा अवश्यै जानेका हुन्थे। बेपारी सम्बन्ध पूर्वकालदेखि भए पनि चीनमा बुद्ध धर्मको प्रचार चाहिं विक्रमको दोस्रो शताब्दीदेखि भएको प्रमाण पाइन्छ।

विक्रमको छैटौं शताब्दीमा भारत भ्रमणमा आएका चिनिया यात्री युवाङ्ग च्वाङ्गको यात्रावर्णन पछि चीनले नेपाललाई र नेपालले पनि चीनलाई चिन्यो। युवाङ्ग च्वाङ्ग नेपाल दून आए, आएनन् यकिन भन्न सकिन्न, तर उनले यहाँको धर्म, संस्कृति र मानिसको स्वभावको निकै वर्णन गरेका छन्।

युवाङ्ग च्वाङ्गले कपिलवस्तु, लुम्बिनीग्राम, कोलीग्राम, रामग्राम डुल्दै कुशीनगर, सारनाथ, बोधगया आदि प्रमुख बौद्ध तीर्थस्थलहरूको अध्ययन भ्रमण गरेर धेरै धेरै बौद्धग्रन्थ लिएर गए।

उनले भारतयात्रा गरेका बेला चीनमा ताङ्ग वंशको शासन थियो। ताङ्ग वृत्तान्तमा नेपाल सम्बन्धी धेरै वर्णन पाइन्छ। युवाङ्ग च्वाङ्ग अघि फाहियान इचिङ्गले भारतका बौद्धविद्यालयमा अध्ययन गरी बौद्ध वाङ्मयका ग्रन्थहरू लिएर गएका थिए। ताङ्गवंशको शासनकालभन्दा पहिलेदेखि नै चीनमा संस्कृत र पालि भाषाका ग्रन्थहरू चिनियाँमा अनुवाद भइरहेका थिए।

आठौं शताब्दीको शुरूमा चीनका राजदूत वाङ्गयुन्चे नेपालको बाटो भएर कान्यकुब्ज हिंडेका थिए, तर बाटामै धेरै समय बितेको र हर्षवर्धन बितिसकेका थिए।

हर्षवर्धनका सामन्तले वाङ्गयुन्चेलाई लूटपाट र बेइज्जत गरे। पछि नेपाल र भोटको मद्दतले ती सामन्तलाई समाती चीन वादशाहको सम्मुख पुर्‍याइयो। त्यसपछि वाङ्गयुन्चेले दुई–चारपल्ट नेपालकै बाटो भएर भारत ओहोरदोहोर गरे।

उतिवेला भोटमा स्रोङ्गचन गम्पोका बाबुका पालादेखि नै जागरण प्रारम्भ भएको थियो। स्रोङ्गचन गम्पोले नेपालकी राजकुमारी भृकुटी र चिनियाँ वादशाहकी छोरी बिहे गरे।

उनले भोट एकीकरण गरी राम्रै राष्ट्रको रूप दिए भने भृकुटीले बौद्ध धर्मको व्यापक प्रसार गरिन् प्रतिष्ठा बढाइन्। यसैबेला नेपाल र भारतका ठूला बौद्ध भिक्षुहरू भोट गएर संस्कृत बौद्ध ग्रन्थहरूलाई तिब्बतीमा अनुवाद गराए, जुन 'क्यङ्गुर त्यन्ज्युर' नामले प्रसिद्ध छ। त्यो क्रम निरन्तर चल्यो।

भोट एकीकरण भइरहँदा नेपालमा अंशुवर्माको समृद्धिको बेला थियो। यसै बखत नेपाल–भोट–चीन सीधा बाटो खुल्यो। त्यो बाटो यूरोपीयका लागि स्वेजनहर खुले जस्तै भो। चीनबाट नेपाल र भारत आउन–जान पूर्व वा पश्चिम घुम्नु परेन। यही बाटो आवतजावत गर्ने चलन राजदूत वाङ्यूङ्चेको समयबाट चल्यो।

विक्रमको चौधो शताब्दीमा ८० जना कलाकार लिएर भोटको शाक्यमठ पुगेका अरनिको शाक्यभिक्षु फग्पाको प्रेरणाले त्यतैबाट वादशाह कुवलय खाँ समक्ष चीन पुगे, श्वेत चैत्य बनाए अनि नेपाली कलाको प्रभाव जमाए। मङ्गोलवंशी वादशाह कुवलय खाँ वितेपछि त्यो साम्राज्य कमजोर भयो र त्यसको ७५ वर्षपछि चीनमा मिङ्ग वंशी हुङवु सम्राट बने।

त्यसवेला चीनमा समृद्धिको समय थियो। हुङवु प्रभावशाली सम्राट थिए। उनको सेखपछि छोराहरूबीच भएको शक्ति संघर्षमा काहिला छोरा विजयी भएर युङ्लो नामले सम्राट बने। यिनको प्रभाव धेरै देशमा फैलिएको थियो।

ती देशका राजदूतहरू हुङवुको दरबारमा सालसालै सौगातका साथ उपस्थित हुन्थे। नेपालको बनेपा पलाञ्चोकका वर्द्धन वंशी शासक महामात्यहरूले पनि आफ्ना दूतमण्डल पठाएका थिए। सरसौगात साथ दूतमण्डलहरूको आवतजावतको वर्णन चीनको मिङ्ग वृत्तान्तमा पाइन्छ।

वि.सं. १४४१ मा वादशाह हुङवुले चिहकाङ्ग नामका बौद्ध भिक्षुको नेतृत्वमा केही उपहारका साथ प्रवानापत्र पठाए। यताबाट मदनसिंहरामबर्द्धनले उपहारस्वरुप सुनको स्तूप, बौद्धग्रन्थ र केही घोडा पठाएका थिए। यो क्रम निकै पल्ट चलेको बुझिन्छ।

हुङव र युङ्लो वादशाहको पालामा बनेपाका वर्द्धन वंशी शासकहरूसँग भएका सम्बन्धबारे माध्यमिक कालको इतिहास मा मैले सविस्तार उल्लेख गरिसकेको छु।

यस्ता संस्कृत भाषाका प्रवाना कति आदानप्रदान गरिएका हुँदा हुन्, ती पाउन सकिएका छैनन्। युङ्लोको यो पत्र पशुपति भण्डारमा सुरक्षित पाइएको हो।

यहाँ बनेपाका तिनै शासक शक्ति सिंहरामले सरसौगातसाथ पठाएको परवानाको जवाफमा चीन बादशाह युङ्लोले सं. १४७२ मा पठाएको संस्कृतमा लेखिएको पत्रको बेहोरा मात्र दिएको छु–

'अहिले मेरो हुकुम विश्वले मानेको छ – संसारका मानिसले मेरो हुकुम पालना गरे भने नै म खुशी हुनेछु, आकाशसम्म पुगेको र सुमेरु पहाडदेखि दक्षिण समुन्द्रसम्म मेरो प्रभाव फैलिएको छ, पश्चिम दिशामा रहेको आर्यावर्त नेपालको पलाञ्चोक शहरमा शक्तिसिंहराम तिमी रहेका छौ, तापनि आकाश समान हाम्रो विशाल दरबारको छत्रछायामा रहेको छु भनी ठान, तिमी हामीमा भक्ति राख्ने छौ, हाम्रै (बौद्ध) धर्म मान्दछौ, आफ्ना प्रजाको पालना गर्छौ भन्ने कुरा मैले सुनेको छु, वर्षौपिछे दुत पठाएर सरसौगात पठाएर हाम्रो सम्मान गरेकोले तिम्रो मन मैले बुझें, तिम्रो र हाम्रो हितचित्त मिलेको छ, यसकारण तिमीलाई वाङ (राजा) को उपाधि प्रदान गरी पठाएको छु।

सुवर्ण मुद्रा (असर्फी) सुवर्ण पत्र (सुनमसीले लेखेको प्रवाना) साथ तिङ्तासी र रिजिन नामका दूतलाई तिमीकहाँ पठाएको छु, यो बुझ्, जस्तो हामी तस्तै तिमी भनि ठानेर हाम्रो आज्ञा पालन गर्ने गर।'

यो सुवर्णपत्रको प्रथम प्रकाशन 'भ्वाइस् अफ हिष्ट्री' १। ५ मा भएको छ। यसमा नेपाल संवत्लाई महाचीन संवत् भनेर लेखिएको छ। वाङ उपाधि दिने चलन पनि निकै पछिसम्मै चल्यो। वादशाह छियन लुङले शाहकालमा चीनसँग सम्बन्ध हुँदा रणबहादुर शाहलाई वाङ र बहादुर शाहलाई घुङको उपाधि दिएको छ। यो परवानाको उतार 'नेपाल भोट चीन सम्बन्धका केही सांस्कृतिक पक्ष' पुस्तकबाट लिइएको हो।

प्रतिकृया दिनुहोस