टिप्पणीशनिवार, बैशाख २, २०७४

सम्पदामाथिको शुद्धिहीन व्यवहार

वसन्त महर्जन

हिन्दू वा बौद्ध सम्प्रदायविशेषको आग्रह राखेर गरिने दाबीले इतिहास अध्ययनमा अर्थ राख्दैन।

दैलेखको भूर्तीमा रहेको 'पञ्चदेवल' भनिने शिखरशैलीका शिला। तस्वीर: बसन्त महर्जन

नेकपा (एमाले) को भ्रातृ संगठन अनेरास्ववियूकी अध्यक्ष नवीना लामालाई देशको भोलिको नेतृको रूपमा पनि लिन सकिन्छ। चलचित्रका नायिका वा मोडल जस्तो भएर हिंड्ने गरेकाले मात्र नभई विद्यार्थी राजनीतिमा गरेको प्रगतिका कारण पनि उनीबाट धेरै आशा गरिएको छ।

केही वर्षअघि दैलेखको भूर्ती पुगेकी उनले देवलमा चढेर खिचेका फोटाहरू 'फेसबूक' मा पोष्ट गरेकी थिइन्। ती फोटालाई सयौंले लाइक गरे भने कतिले कुन ठाउँको हो भनेर सोधेको देखियो, त्यो उछलकुदको उपयुक्ततामाथि भने कसैले टिप्पणी गरेनन्। 

कालीकोट, दैलेख, अछामलगायतका जिल्लामा 'पञ्चदेवल' भनिने शिखरशैलीका शिला वास्तुकला वास्तवमा के हो र कुन प्रयोजनका लागि बनाइएको भन्ने ठम्याउन सकिएको छैन। यिनको संख्या जति भए पनि 'पञ्चदेवल' नै भन्ने गरिएको छ।

महाभारतका पाण्डवहरूले बनाएकाले पञ्चदेवल नाम रहेको भन्ने जस्ता तर्क सुन्न पाइन्छ, जसमा ऐतिहासिक चेतको अभाव बाहेक केही पाइन्न।

भारत र नेपालमा पनि प्रचलित शिखर शैलीका मन्दिरजस्तो देखिए पनि पञ्चदेवलहरूको बाह्य–भित्री वनावट र अवयव फरक छ। ठूला हुन् या साना, सबै वर्गाकारको गारोलाई उठाएर माथि गुम्बज आकारमा चुच्चो पारेर शीर्षभागमा चक्राकार आमलक शिला (कुनैमा एउटा कुनैमा दुईवटा) राखिएका छन्।

आमलकहरू त धेरैजसो खसेर हराइसकेका छन्। पञ्चदेवलहरूको वास्तुको गर्भगृह खाली राखेर त्यत्तिकै छाडेको पाइन्छ। मन्दिरका गर्भगृहमा देवमूर्ति राख्न गवाक्ष बनाइएको हुन्छ, तर यी देवलहरूमा गवाक्ष छैन।

पहिलेको कुरा अज्ञात छ, तर अहिले स्थानीय जनजीवनसँग यी देवलहरूको सम्बन्ध देखिंदैन। न कुनै चिह्न वा प्रतीक न त इतिहास वा संस्कृतिको झ्ल्को नै मिल्छन्।

यी पञ्चदेवलहरूलाई हिन्दू मन्दिरका रूपमा चिनाउने गरिएकोमा अहिले बौद्ध सम्पदाका रूपमा पनि दावी गर्न थालेको पाइन्छ। दुवै दाबीको ठोस आधार भने छैन।

२०५४ पुसमा धनगढीमा भएको धर्मोदय सभाको छैटौं राष्ट्रिय सम्मेलनमा प्रस्तुत भिक्षु सुदर्शन महास्थविर र केशवमान शाक्यको 'प्राचीन कर्णाली क्षेत्रको बौद्ध संस्कृति' शीर्षकको संयुक्त कार्यपत्रमा पञ्चदेवलहरू बौद्ध सम्पदा भएको दाबी गरिएको थियो।

कार्यपत्र प्रस्तोतामध्ये वास्तुकला र पुरातत्व विषयका जानकार भिक्षु सुदर्शन सम्बन्धित क्षेत्रमा पुगेका थिएनन् भने शाक्यले कामविशेषले दैलेख पुग्दा पञ्चदेवलहरूको फोटो खिचेका थिए।

बोधगयास्थित महाबोधि मन्दिरसँग शैली मिलेकै आधारमा भिक्षु सुदर्शन महास्थविरले यसलाई बौद्ध वास्तुकला हुनुपर्ने अनुमान गरेका थिए। हिन्दू वा बौद्धको यस्ता दाबीमा ऐतिहासिकता नभई सम्प्रदायविशेषको आग्रह पाइने हुनाले इतिहास अध्ययनमा यसले महत्व राख्दैन।

भारतको कुमाउ, गढवाललगायतका क्षेत्रमा पनि पञ्चदेवल जस्तै वास्तुहरू छन्। ती वास्तुसंरचना विभिन्न सम्प्रदाय वा देव मन्दिरका रूपमा प्रयुक्त छन्।

पाँचौं शताब्दीपछि खसहरू कुमाउ, गढवाल क्षेत्रबाट यो वास्तुशैलीसहित कर्णाली क्षेत्र पसेर लामो समय बसोबास गरी पूर्वतिर लागेको अनुमान गर्न सकिन्छ।

वास्तु एउटै भए पनि प्रयोजन फरक हुनु धेरै संभव छ। अहिलेसम्ममा कर्णाली क्षेत्रमा धेरै परिवर्तित भए पनि बसोवास गर्ने जातीय समुदाय खस नै छ। कुमाउ, गढवालका खसहरूको मृत्युसंस्कारमा शव गाड्ने चलन यता आएर हराएको देखिन्छ। 

एकै मूलका भए पनि वेद नमान्नेलगायतका कारणले वैदिक आर्यहरू खसलगायतका जातीय समुदायलाई हेय दृष्टिले हेर्थे। चौधौं शताब्दीअघि गंगाको मैदानबाट खसान क्षेत्रमा पुगेका वैदिक आर्यहरू खसहरूसँग प्रभावित भएको इतिहास पाइन्छ। कर्णालीका खसहरूमा शव गाड्ने चलन भएको तर वैदिक आर्यहरूसँगको संसर्गपछि जलाउन थालेको देखिन्छ।

यसरी बुझ्दा, पहिले कुलीन खसहरूको शव गाड्दा बनाएको वास्तु नै अहिलेका देवलहरू हुन् भन्न सकिन्छ। त्यसकारण यो पूजास्थल नभई चिहान हो। शव गाड्ने चलन हराएसँगै देवलहरू उपेक्षित र रहस्यमय हुन थालेको अनुमान गर्न सकिन्छ।

यस सम्बन्धमा निष्कर्ष निकाल्नुअघि खस जातिको विगत, उपलब्ध ऐतिहासिक–पुरातात्विक संरचनाहरूको सूक्ष्म अध्ययन आवश्यक छ।

ऐतिहासिक–पुरातात्विक सम्पदाको संरक्षण भनेको विगतमा मानव समुदायले हासिल गरेको ज्ञान जोगाउनु पनि हो, जसबाट भविष्य निर्माणमा सहायता पुगोस्। देवल भनिएका वास्तु के रहेछन् भनेर ठम्याइनसकेको अवस्थामा त संरक्षण झनै जरूरी हुन्छ।

यी वास्तुहरू जेसुकै भए पनि सम्पदा त जरुर हुन्। त्यसमा चढेर जथाभावी गर्नाले सम्पदा संरक्षण हुँदैन। केटाकेटीहरू चढेको देखेर अनेरास्ववियूकी अध्यक्ष लामा फोटो खिच्न देवलमाथि चढेको अनुमान लगाउन गाह्रो पर्दैन, तर उनी जत्तिको नेतृबाट समाजले कहिल्यै त्यस्तो 'सेन्सलेस एक्ट' को अपेक्षा राखेको हुँदैन।

प्रतिकृया दिनुहोस