लमजुङका गाउँ पर्यटकले भरिभराउ
लमजुङका विभिन्न गाउँ नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ भएका छन् ।
घलेगाउँ, काउलेपानीलगायत गाउँमा होमस्टे, प्राकृतिक दृष्यावलोकका लागि पर्यटक आउन थालेका छन् । घलेगाउँमा बिहीबार मात्रै दुई सय ५० भन्दा बढी पर्यटक आएको घलेगाउँ पर्यटन विकास समितिका सचिव आशवीर गुरुङले बताए ।
उनले आएका पर्यटकलाई ठाउँ नपुगेर नजिकका छिमेकी गाउँमा पठाएको जानकारी दिए ।
“गाउँमा आएका सबै पर्यटकलाई राख्न सकिएन, केहीलाई भुजुङ, घनपोखरातिर पठाउन बाध्य भयौं,” उनले भने ।
यसैगरी काउलेपानी सोत पर्यटकले भरिभराउ भएको छ । काउलेपानी पर्यटन सूचना केन्द्रका सचिव कवीन्द्र गुरुङका अनुसार गाउँका सबै होमस्टे पर्यटकले भरिएका छन् ।
“कुनै घर खाली छैन, हामीलाई भ्याइनभ्याई भएको छ,” गुरुङले भने । दुई सयभन्दा बढी पर्यटक काउलेपानीमा आएको उनले जानकारी दिए ।
सदरमुकाम बेँसीसहर नजिकैको खासुरका होमस्टे पनि पर्यटकले भरिएका छन् ।
यसैगरी खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेन रहेको खानीगाउँमा समेत पर्यटकको ओइरो लागेको स्थानीयवासीले बताएका छन् ।
नयाँ वर्षको अवसरमा यहाँ पर्यटकको घुइँचो लागेको हो । नयाँ वर्षको दिन सार्वजनिक बिदा र भोलिपल्ट शनिबार परेकोले पर्यटकको चाप बढेको हो ।
गाउँमा पर्यटकको चाप बढेपछि स्थानीयवासी खुशी भएका छन् । यहाँक बासिन्दाको मुख्य पेसा कृषि र पर्यटन हो ।
रासस