अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो
नारायणगढ मुग्लिन सडक खण्डको चार किलो भन्ने ठाउँमा आज बिहानदेखि सुख्खा पहिरो खसेपछि अवरुद्ध बनेको सडक तीन घन्टापछि सञ्चालनमा आएको छ ।
नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालकाअनुसार पहिरो पन्छयाउने काम सकिएपछि अहिले दिउँसो १२:३० बजेबाट सडक सञ्चालनमा आएको हो ।
उनका अनुसार, पहिरो बढी खसेपछि आज बिहान ९:१५ बजेबाट सडक अवरुद्ध भएको थियो । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएको ठाउँमा तीन दिनयता सुख्खा पहिरो खसिरहेको थियो । करिब ३५ मिटरमाथिबाट पहिरो खसेको थियो ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ कालीखोला र पाँच किलोको बीचमा पर्दछ ।
आज नयाँ वर्षको पहिलो दिन भएकाले दैनिक रुपमा दिउँसो गरिँदै आएको आवागमन बन्द नगरिएको खनालले जानकारी दिए ।