कामको प्रलोभनमा चीन ल्याइएका तीन नेपालीको उद्धार
तुफान न्यौपाने,बेइजिङ
काम दिलाइदिने प्रलोभन देखाएर एजेन्टले चीनमा ल्याई अलपत्र पारेका तीन जना नेपालीलाई नेपाली राजदूतावास बेइजिङले उद्धार गरी नेपाल फर्काएको छ ।
मेगराज लिम्बु, सुर्जेबहादुर लिम्बु र तेजबहादुर छोङबाङलाई चीनको शानदोङ प्रान्तबाट उद्धार गरी नेपाल पठाएको दूतावासले जनाएको छ ।
डिसेम्बर २०१६ मा आकर्षक तलबसहितको नोकरी दिने झुटा आश्वासन दिएर एक महीने भ्रमण भीजामा उनीहरुलाई एजेन्टले चीन ल्याएका थिए ।
जागिर नपाएका उनीहरुले भीजा र रकम अभावमा तीन महीना गुजारेपछि बेइजिङस्थित दूतावासमा उद्धारका लागि अनुरोध गरेका थिए ।
पीडितका नेपालस्थित आफन्तलेसमेत उद्धारका लागि दूतावासलाई आग्रह गरेका थिए ।
चीनका सार्वजनिक सुरक्षा निकायका अधिकारीसँग नेपाली दूतावासले समन्वय गरेपछि पीडित युवाले ओभर स्टे बापत कुनै जरीवाना नतिरी १० दिने भीजा पाएका थिए ।
दूतावासले घटनाको छानविन गरी त्यसमा संलग्नलाई कारवाही गर्न नेपालको सम्बन्धित कार्यालयलाई अनुरोध गरेको जनाएको छ।
साथै कामका लागि आउनु अघि अनिवार्यरुपमा चीनको घरेलु कानूनबारे जानकारी राख्न,नेपालको वैदेशिक रोजगार विभागबाट स्वीकृति लिन र दूतावासबाट सिफारिस पत्र लिन पनि आग्रह गरेको छ।