सर्वोच्चले आईजीपीलाई भन्यो, 'बालकृष्ण ढुंगेललाई सात दिनभित्र पक्राउ गर'
सर्वोच्च अदलातले अदलातबाट सर्वस्वसहित जन्म कैदको सजाय पाएका बालकृष्ण ढुंगेललाई ७ दिनभित्र पक्राउ गरी कारागार पठाउन आदेश दिएको छ ।
न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजालशले दिएको आदेशमा भनिएको छ, “बालकृष्ण ढुंगेललाई निज जहाँ भए पनि खोजतलास गरी ७ दिनभित्र पक्राउ गरी सम्बन्धित कारागार कार्यालयमा जिम्मा लगाई यस अदालतमा प्रतिवेदन पेश गर्नू भनी नेपाल प्रहरीका महानिरीक्षकका नाउँमा यो आदेश जारी गरिएको छ ।”
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या अभियोग लागेका ढुंगेललाई सर्वोच्चले १९ पुस २०६६ मा सर्वस्वसहित जन्मकैदको फैसला सुनाए पनि राजनीतिक पहुँचका आधारमा उनी पक्राउ परेका छैनन् ।
पूर्व माओवादी सांसद समेत रहेका ढुंगेललाई बाबुराम भट्टराई नेतृत्वको सरकारले आममाफीका लागि सिफारिस गरे पनि सर्वोच्च अदालतले उक्त सिफारिस कार्यान्वयनमा रोक लगाएको थियो ।
ढुंगेलले गत २९ फागुनमा रामेछापको सैंपुमा भएको कार्यक्रममा ‘अदालतको फैसला मान्दिन, फैसला सुनाउने न्यायाधीशमाथि कार्वाही गर्छु, फिला चिरिदिन्छु’ भन्दै भाषण गरेपछि उनी विरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको मुद्दा परेको थियो ।