बैशाख ३ देखि नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुने
नेपाली सेना र चिनिया जनमुुक्ति सेनाबीच आउँदो ३ बैशाखदेखि काठमाडौंमा संयुक्त सैन्य अभ्यास हुने भएको छ ।
पछिल्लो समय चर्चामा रहेको तर मिति तय हुन नसकेको नेपाल–चीन संयुक्त सैन्य अभ्यास ३ बैशाखमा शुरु हुने तय भएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार नेपाली सेना र चिनिया जनमुक्ति सेनाबीचको ‘विशेष फौज संयुक्त सैन्य तालिम’ नाम दिइएको यो अभ्यास १२ बैशाखसम्म सञ्चालन हुनेछ । नेपाली सेनाले यो अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप–२०१७’ का रुपमा चर्चा गरेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले ३१ चैतमा जारी गरेको विज्ञप्ति अनुसार संयुक्त अभ्यासका क्रममा दुवै देशका सेनाले आ–आफ्नो अनुभव आदानप्रदान समेत गर्नेछन् ।
त्यसैगरी पेशागत क्षमता अभिबृद्धिका लागि नियमित रुपमा सञ्चालन हुने यस प्रकारका द्धिपक्षीय तथा बहुराष्ट्रिय सैनिक तालिम तथा अभ्यासहरुबाट सैनिक ज्ञान तथा पेशागत क्षमता अभिबृद्धि गर्न र सैनिक तथा कुटनीतिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने सेनाको विश्वास छ ।
सेनाले यो अभ्यासलाई छिमेकी तथा अन्य मित्रराष्ट्रका सेनासँग सञ्चालन हुँदै आएका संयुक्त तालिम तथा अभ्यासहरुकै निरन्तरता भनेको छ । “विश्वभर गम्भिर सुरक्षा चुनौतीको रुपमा देखा पर्दै गईरहेको आतंकवादबाट भविश्यमा आउन सक्ने संभावित सुरक्षा चुनौतीलाई मध्यनजर राखी पहिलो पटक मित्रराष्ट्र चीनको जनमुक्ति सेनासँग संयुक्त सैन्य अभ्यास सञ्चालन हुन लागेको हो”, विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाले विपद् व्यवस्थापन लगायत अन्य साझा सरोकारका विषयवस्तरुमा केन्द्रित रही नेपालको दौत्य सम्बन्ध रहेका विभिन्न देशका सैनिकहरुसँग समय–समयमा संयुक्त तालिम, सेमिनार तथा अभ्यास गर्दै आएको छ ।