पर्यटनका लागि उत्साहपूर्ण वर्ष– २०७३
२०७२ मा भूकम्प र नाकाबन्दीबाट थलिएर प्रतिकुल असर पुगेको मुलुकको पर्यटन क्षेत्र वर्ष २०७३ मा भने उत्साहपूर्ण रहयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्याय पर्यटनको हिसाबले २०७३ साल उत्साहजनक रहेको र यस वर्ष पर्यटकको सङ्ख्यामा ४० प्रतिशतले वृद्धि भएको बताउँछन् ।
साहसिक पर्यटन पर्वतारोहण र पदयात्रा पर्यटनका लागि उपयुक्त मौसम मानिने वसन्त ऋतुको आवागमनसँगै अहिले उल्लेख्य रुपमा आरोही र पदयात्री आइरहनुले पर्यटन क्षेत्रमा थप आशा देखिएको छ ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरिङ शेर्पा पनि भूकम्प र नाकाबन्दीपछि २०७३ सालमा नेपालको पर्यटन क्षेत्रले निकै राम्रो पुनरुत्थान गरेको बताउँछन् । यस वर्ष गरिएको चर्चित अन्तर्राष्ट्रिय ‘इभेन्ट’, पर्यटन प्रवर्द्धनका नयाँ आयाम आदिले पर्यटनमा नयाँ उत्साहज जगाएको उनको भनाइ छ ।
यस वर्षको वसन्त ऋतुमा आठ सयदेखि नौ सय स्वदेशी तथा विदेशी आरोही हिमाल आरोहणमा जाने अध्यक्ष शेर्पाले बताए ।
पदयात्रा पर्यटनका लागि पनि २०७३ साल निकै उपलब्धिमूलक र उत्साहजनक रहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजाल बताउँछन् ।
उनका अनुसार यस वर्ष पदयात्रामा कुनै अप्रिय घटना भएनन् । थुप्रै पदयात्री गन्तव्यमा पुगे । पदयात्रामा समेत आन्तरिक पर्यटन प्रबर्द्धन भयो । अध्यक्ष रिजाल २०७३ हालसम्मकै उत्साहजनक वर्ष भएको दाबी गर्छन् ।
वर्ष २०७३ मा मुलुकको होटल व्यवसायले निकै प्रगति हासिल गरेको पाइयो । पर्यटकीय याममा बुकिङ राम्रो भएका कारण पर्यटक बढ्ने होटल एसोसिएसन नेपाल(हान)का महासचिव विनायक शाह बताउँछन् ।
हानको विवरण अनुसार होटलमा हाल ३८ हजार सुविधायुक्त वेड रहेका छन् । अझै थपिने क्रम जारी छ । सन् २०२० सम्ममा चार हजार अन्तराष्ट्रियस्तरका सुविधायुक्त वेड थपिदैछन् । होटल व्यवसायमा लगानी पनि बढेको छ । काठमाडौँलगायत मुख्य सहरमा उत्साहपूर्ण लगानी रहेको हानले जनाएको छ ।
विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार यस वर्ष (सन् २०१६) मा सात लाख २९ हजार पर्यटक नेपाल घुम्न आएका छन् ।
अहिलेसम्म सबैभन्दा बढी सन् २०१२ मा आठ लाखको हाराहारीमा पर्यटक नेपाल आएका थिए । अध्यागमन विभागको विवरणअनुसार सन् २०१५ मा जम्मा पाँच लाख ५४ हजार ७४७ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
वर्षको शुरुवातमै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणमा देखिएको उत्साहले नेपालको पर्यटनबारे विश्व बजारमा सकारात्मक सन्देश पुग्यो । पर्यटन विभागको विवरण अनुसार (वैशाख २९ बाट शुरु भएको) २०७३ को वसन्त ऋतुमा ४०० भन्दा बढीले सगरमाथा आरोहण गरेका थिए ।
त्यस्तै अन्नपूर्ण, मनास्लु, मकालुलगायत हिमालको १०० जनाले सफल आरोहण गरेका थिए । यसबाट नेपालको हिमाल आरोहण सुरक्षित रहेको सन्देश प्रवाह भयो । आरोहण सफलतासँगै ‘मनास्लु–ल्होत्से र मकालु कञ्चन्जङगा’ हिमालको हीरक महत्सवले नेपालको पर्वतीय पर्यटनलाई विश्वमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्यो ।
महोत्सवको अवसरमा विश्वचर्चित जुनको तावेइलगायत आरोहीको नेपाल आगमन र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीको जमघटले नेपालको पर्वतीय पर्यटनको सकारात्मक सन्देश पुग्यो । त्यस्तै गत २९ मे २०१६ मा मनाइएको अन्तर्राष्ट्रिय सगरमाथा दिवसको कार्यक्रममा विश्वभरका आरोहीको आवागमनले थप उत्साह जगायो ।
पर्यटन बोर्डले भूकम्प र नाकाबन्दीबाट थलिएको नेपालको पर्यटनलाई विश्व बजारमा प्रवर्द्धन गर्न चर्चित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसी, रोयटर र ट्रिप एडभाइजरसँग गरेको साझेदारीले वर्षको उत्तरार्धमा थप सकारात्मक सन्देश गयो ।
यसैगरी गत चैत २५ गते राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी ‘ए’ ३३०–२०० विमान खरिदका लागि अमेरिकी कम्पनी एएआरसँग खरिद सम्झौता गरेको छ । उपाध्यायका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको तीव्रता र हालै एनएसीले दुई बाइड बढी विमान खरिदका लागि गरेको सम्झौताले वर्ष २०७३ लाई निकै उपलब्धिमूलक बनायो ।
नेपालको उड्डयन इतिहासमा यति ठूलो रकम खर्चेर एकै पटक दुईवटा विमान खरिद गर्न लागेको यो पहिलो पटक हो । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले तीव्रता पाउँदा पर्यटन व्यवसायी झन उत्साहित भएका छन् ।
अर्कोतर्फ सरकारले घोषणा गरेको घुमफिर वर्ष २०७३ का कारण आन्तरिक पर्यटनप्रवर्द्धनमा महत्वपूर्ण सहयोग पुग्यो ।
यसरी एकपछि अर्को अन्तर्राष्ट्रियस्तरका पर्यटकीय गतिविधि, गन्तव्य प्रवर्द्धनका नयाँ प्रयास, पर्यटन सेवाको विविधिकरण र सेवा विस्तारको तीव्रताले २०७३ साललाई उपलब्धिमूलक बनायो ।
रासस