पोखराका होटेल आन्तरिक पर्यटकले नै भरिए
नयाँ वर्ष २०७४ को पूर्व सन्ध्यामा पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
नयाँ वर्षका कारण पोखराका प्रत्येक होटेलमा आज र भोलिका लागि शतप्रतिशत पर्यटक भरिएको पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले जानकारी दिए ।
पोखराको पर्यटकीय विकासलाई लक्षित गरी रु एक खर्ब बढीको लगानी भएको उनको भनाइ छ ।
पोखरामा पाँचवटा पाँच तारे, १४ वटा तीन तारे र ५०० जति सामान्य होटेल तथा रिर्साट रहेको पराजुलीले जानकारी दिए । सराङकोटमा एउटा चार तारे होटेल निर्माणको क्रममा छ ।
पोखरा र आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका होटलसमेत गरी प्रतिदिन ३० हजार भन्दाबढी सङ्ख्यामा पर्यटकलाई राख्नसक्ने क्षमता रहेको छ ।
पोखरामा नयाँ वर्षको आगमन पूर्व दुईसाता अघिदेखि नै होटेलमा विभिन्न ठाउँबाट पर्यटकले अग्रिम बुकिङ गरेको लेकसाइडस्थित होटेल एसियाका प्रोपाइटर धर्मराज पन्थी बताउँछन् ।
निश्चित समयका साथै पर्व विशेषभन्दा पनि पोखरामा सदावहार रूपमा पर्यटक आउने अवस्था सिर्जना गर्नु आवश्यक रहेको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष एवम् नेपाल पर्यटन व्यवसायी सङ्घ पोखराका अध्यक्ष सोम थापाको भनाइ छ । रासस