नयाँ वर्षदेखि उपत्यकामा हर्न बजाउन नपाइने
१ वैशाख २०७४ अर्थात् भोलिदेखि काठमाडौँ उपत्यकामा हर्न बजाउन निषेध गरिएको छ ।
महानगरीय ट्राफिक प्रहरी र यातायात व्यवस्था विभागको सहकार्यमा उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरभित्र आकस्मिक बाहेकको अवस्थामा हर्न बजाउन निषेध गरिएको हो ।
अब उपत्यकाभित्र गुड्ने कुनै सवारीले हर्न बजाए ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँ जरिवाना गर्नेछ ।
यस्तो कारबाहीको रेकर्ड राखिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । दोस्रोपटक हर्न बजाए १ हजार र तेस्रोपटक बजाए १५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।
तर यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन ।
सवारी दुर्घटना हुने गरी खतरा भएमा र सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइने छ । चालकले जोखिमयुक्त मोड र आकस्मिक अवस्थामा पनि छोटो हर्न प्रयोग गर्नुपर्ने ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।