सुस्ताका १९ जनाविरुद्ध भारतीय अदालतमा मुद्दा
भारतको बिहार प्रहरीमा सुराकीको काम गर्दै आएका सुस्ताका एक व्यक्तिको हत्या अभियोगमा सुस्ताका १९ जना नेपाली विरुद्ध भारतमा मुद्दा चलाइएको छ ।
मुद्दा चलेको थाहा पाएपछि सुस्ताबासी त्रसित भएका छन् । नेपालीहरुलाई डर त्रास देखाइ राख्न मुद्दा चलाएको आरोप सुस्ताबासीको छ ।
सुस्ताको जनता दलित प्राबि नजिक घर भएका २७ वर्षीय प्रभु लोनिया एक महिनाअघि विहार, बगाहाको नौरगिंया कटाहाको खेतमा मृत अवस्थामा फेला परेका थिए ।
मृतक लोनिया ससुरालीमा बसेर बिहार पुलिसका लागि सुराकीको काम गर्दै आएको स्थानीयबासीको भनाई छ ।
सुस्तामा रहेका नेपालीका गतिबिधि र दिनचर्याका बारेमा उनले बिहार प्रहरीलाई जानकारी दिन्थे र नेपालीलाई भुठा आरोप लगाएर सताउँथे भन्ने स्थानीयको आरोप छ ।
मुद्दा चलाइएका १९ जना मध्ये समाजमा अगुवा देखिने युवाहरु नै बढी छन् ।
विद्रोही गिरी, नवलपरासी