पाँच बर्षमा फलाममा आत्मनिर्भर हुन्छौंः मन्त्री जोशी
उद्योग मन्त्री नविन्द्रराज जोशीले पाँच वर्षभित्र देश फलाममा आत्मनिर्भर हुने बताएका छन् ।
नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ पोखरीमा फलाम खानीको बिस्तृत भौगर्भिक अध्ययन तथा सर्भे कार्यको निरीक्षणका क्रममा मन्त्री जोशीले उक्त कुरा बताएका हुन् ।
मन्त्री जोशीले फलाम खानीसम्म पुग्ने सडक, खानेपानी, बिद्युतीकरणमा सरकारले काम गरिरहेको बताए ।
उनले फलामको प्रशोधनका लागि मात्रै पाँच हजार जनाले रोजागरी पाउने दाबी गरे ।
“यहाँको स्टिल उद्योगले पहिलो रोजगार दिन्छ त्यसमा स्थानीयलाई प्राथमिकता हुन्छ,” उनले भने “यो खानीले राष्ट्रको समृद्धिमा ठूलो सहयोग पुर्याउने छ ।”
मन्त्रालयले खनिजसम्बन्धी नीति निर्माणको काम गअघि बढाएको भन्दै जोशीले नीति बनिसकेपछि उद्योग स्थापना गरिने बताए ।
१० किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीलाई पाँच भागमा बिभाजन गरी नीजि क्षेत्रलाई पनि काम दिइने उनले बताए ।
यहाँको फलामको नमूना परीक्षणमा ५८ प्रतिशत हेमटाइड रहेकोले यो उत्तम मानिन्छ ।
राजमार्गबाट नजिकै र ठूलो परिमाणमा फलाम खानी रहेकाले यसको सफल उत्खनन सम्भव भएको अन्वेषणमा खटिएका भूगर्भविद् नारायण बाँस्कोटाले बताए ।
“पोखरीको क्षेत्रमा दुई ठाउँमा ड्रिलिङ्गको काम भइरहेको छ । यसमा ७५ मिटर क्रोइङ्ग गरी नमुना परिक्षण जारी राखिएको छ,” खानी तथा भूगर्भ विभाग धातु अन्वेषण शाखाका प्रमुख धर्मराज खड्काले बताए ।
फलाम खानी सञ्चालनमा आउने खबरले उत्साही भएपनि यसले पार्ने असरलाई सरकारले बेलैमा सम्बोधन गर्न स्थानीय चन्द्रबहादुर रानाले आग्रह गरे ।
विद्रोही गिरी, नवलपरासी