२०७३ साल स्वास्थ्य क्षेत्रका लागि उत्साहप्रद
२०७३ साल स्वास्थ्य क्षेत्रका लागि निकै उत्साहप्रद रह्यो ।
गगन थापाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै स्वास्थ्य क्षेत्रमा विभिन्न नीतिगत सुधार भएका छन् ।
स्वास्थ्य मन्त्रालयले प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याई जनतालाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्रालयले १९८ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी, करार र छात्रवृत्तिका चिकित्सकलाई पठाइसकेको छ । निःशुल्क औषधि वितरणको निर्देशिका संशोधन गरेर हरेक जिल्लाले रु पाँच लाखसम्मको औषधि बिना टेन्डर सोझै खरिद गर्न सक्ने व्यवस्था गरेको छ ।
सरकारले मानवअङ्ग प्रत्यारोपण नियमावली २०७३ ल्याई देशभित्रै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा शुरु गरेको छ । यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाको आठ अङ्ग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरेको छ । मस्तिष्क मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्याङ्क्रियाज, सानो आन्द्रा र आँखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।
त्यस्तै बाथ मुटु रोगको शल्यक्रिया निःशुल्क गरेको छ । मिर्गौला रोगीको लागि अब डायलासिस सेवा निःशुल्क भएको छ । १ वैशाखदेखि मिर्गौला प्रत्यारोपण सेवा पनि निःशुल्क हुने घोषणा भइसकेको छ । त्यसका लागि सरकारले चालु आवमा रु डेढ करोड छुट्याएको छ ।
त्यसबाहेक विशिष्ट व्यक्तिलाई रु १५ लाखभन्दा बढी उपचार खर्च नदिने, नवजात शिशुको निःशुल्क उपचार, सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला, सबै सरकारी अस्पताल ९ देखि ३ बजेसम्म खुल्ला गर्नुपर्ने र सबै अस्पतालमा सूचना केन्द्र राख्नुपर्ने व्यवस्था पनि यसै वर्षदेखि शुरु गरिएको छ ।
प्रतिष्ठान, निजी मेडिकल कलेजसँगको सहकार्यमा जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गर्ने सम्झौता पनि गरिएको छ ।
भावी योजना
सबै जिल्लामा पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन भिआइए टेस्ट हुने, २० स्थानमा प्रजनन स्वास्थ्य शिविर गर्ने, सात प्रदेशमा प्रयोगशाला स्थापना, स्वास्थ्य सेवा ऐनको तयारी ९ (ख) को विवादको अन्त्य, पुल दरबन्दी सिर्जना, ५० शैयाभन्दा बढी शैया भएका अस्पतालमा सामाजिक सेवा एकाइ गठन गर्ने व्यवस्था, पत्रकारलाई उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्थाबारे पनि छलफल भइरहेको छ ।
सहरी जनतालाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउन सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको स्थापना गर्न काठमाडौँ महानगरपालिकासँग सम्झौता भइसकेको छ ।
स्वास्थ्य सेवाको क्षेत्रमा झन्डै ५० वर्ष बिताएका जनस्वास्थ्यविद् डा बद्री पाण्डेले स्वास्थ्यसम्बन्धी नीतिलाई कार्यान्वयनमा लान सके ठुलो उपलब्धि हुने बताउँछन् ।
जनतालाई आफ्नो स्वास्थ्यप्रति सचेत बनाउन सरकारले वर्ष २०७४ लाई ‘मेरो स्वास्थ्य मेरो वर्ष’ को रूपमा मनाउने तयारीसमेत गरेको छ । कल्पना पौडेल, रासस