देश टुक्राउने षडयन्त्र भइरहेको छः देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश र पहाडको नाममा देश टुक्राउने षडयन्त्र भएको दाबी गरेका छन् ।
एमालेलाई संकेत गर्दै देउवाले भने, “पहाडवाद र मधेशवादको नाममा देश टुक्राउने षडयन्त्र भइरहेको छ, मधेश र पहाडबीच झगडा गराउने षडयन्त्र भइरहेको छ ।”
कांग्रेसले आज पोखरामा आयोजना गरेको प्रदेश नं. ४ स्तरीय चुनावी सभालाई संवोधन गर्दै देउवाले स्थानीय चुनाव सबै भन्दा महत्वपुर्ण रहेकाले ‘तेरो मेरो नभनी’ जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने बताए ।
उनले उम्मेदवारको नाम केन्द्रमा नपठाउन आग्रह गर्दै भने, “सबैलाई म चिन्दिन जिल्लामै अधिकतम सहमति गरेर राम्रो मान्छेलाई टिकट दिनुहोला ।”
उनले निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई सहयोग गर्न कार्यकर्तालाई आह्वान गर्दै हराउन खोज्नेलाई कारबाही गर्ने चेतावनी दोहोर्याए ।
कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेले जनतालाई भ्रम दिएको आरोप लगाए ।
“एमालेले जनतालाई दिग्भ्रमित बनाएको छ,” पौडेलले भने, “उल्टो– उल्टो, भाउँतो– भाउँतो काम गर्ने एमालेको कुरा जनताले पत्याउन पर्दैन ।”
राप्रपाले धर्मको नाममा राजनीति गरेको भन्दैे आपत्ती जनाएका पौडेलले अगाडि भने, “कहाँबाट राजनीतिमा धर्म आयो ? सबैलाई संरक्षण दिने कांग्रेस हो, कोही गाई देखाएर जनतालाई भ्रममा पार्न आउलान्, नपत्याउनु ।”
मधेशी मोर्चालाई निर्वाचनमा सहभागी हुन आग्रह गर्दै उनले स्थानीय तहको निर्वाचन हुन नसके संघीयता, गणतन्त्र र समावेशिता नै खतरामा पर्ने बताए ।
यस्तै, कांग्रेस महामन्त्री शशांक कोइरालाले निर्वाचनमा पार्टीका आधिकारिक उम्ेदवार विरुद्ध उम्मेदवारी दिनेलाई कारबाही गरेर निष्काशन गर्नुपर्ने बताए ।
कार्यक्रमलाई संवोधन गर्दै अर्का नेता कृष्णप्रसाद सिटौलाले निर्वाचनको मिति कुनै हालतमा सार्न नमिल्ने बताए । उनले भने, “निर्वाचन जनताको पक्षमा छ, कोही सामन्त विषेश वा नेताको लागि निर्वाचन विथोल्नुहुँदैन, निर्वाचन विथोल्दा परिवर्तन नै विथोलिन्छ ।”
युवराज श्रेष्ठ, पोखरा