रिपोर्टबुधवार, चैत्र ३०, २०७३

मुसहर बस्तीमा मनकारी

बच्चु विक

'म खाउँ, मै लाऊँ' भन्ने व्यक्तिवादी सोच हावी भइरहेका बेला अमेरिकामा बस्ने नेपालीले एकीकृत नमूना मुसहर बस्ती निर्माणका लागि रु.२ करोड १० लाख सहयोग गरेका छन्।

निर्माण सम्पन्न भइसकेको बर्दिबास स्थित एकीकृत नमूना बस्तीमा कुञ्जना घिमिरे र सीताराम कट्टेल । तस्वीर: घिमिरे कुञ्जनाको फेसबुकबाट

अमेरिकाबाट 'दुई करोड रुपैयाँ दिन्छौं' भनेर फोन आउँदा धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल 'धुर्मुस' मज्जाले हाँसे। उनलाई लाग्यो, “हास्यकलाकार त म हुँ, मानिसहरु मलाई नै हँसाउँछन्।” 

भूकम्पपछि एकीकृत नमूना बस्ती निर्माणमा जुटेका कट्टेललाई 'पैसा दिन्छौं' भनेर दिनहुँ फोन आउँथ्यो। तर अधिकांशले पैसा त टाढाको कुरा दोस्रो पटक फोन पनि नगरेको तीतो अनुभव उनीसँग छ।

नयाँ वर्षमा महोत्तरीको बर्दिबासस्थित एकीकृत नमूना मुसहर बस्ती स्थानीयलाई हस्तान्तरण गर्न एक साता बाँकी रहँदा रकमको अभाव भएपछि कट्टेल र कुञ्जना घिमिरे 'सुन्तली' लगायत फाउण्डेशनको टोली तनावमा थियो। तर, त्यही दुई करोडको कुराले राहत दियो। “दुई करोडको पनि गफै होला भन्ठानेको थिएँ, कुरा साँचो रहेछ”, उनी भन्छन्।

अमेरिकाको एसोसिएसन अफ नेप्लिज् इन मिनेसोटाका सञ्चालक समिति सदस्य अनिल रायमाझी र सहयोग संकलन समिति संयोजक स्विटी सिंह श्रेष्ठले २१ चैतमा बस्तीमै पुगी फाउन्डेशनलाई रु.२ करोड १० लाख हस्तान्तरण गरे। “सोचेभन्दा राम्रो पायौं। सहयोग गर्न पाएर खुशी लागेको छ”, रायमाझी भन्छन्।

सहयोग हस्तान्तरण गर्न आएका एसोसिएसन अफ नेप्लिज इन मिनेसोटाका बोर्ड सदस्य अनिल रायमाझी र सहयोग संकलन समिति संयोजक स्विटी सिंह श्रेष्ठ।

१२ वैशाख, २०७२ मा नेपालमा भूकम्प गएपछि मिनेसोटाका नेपालीहरु राहत संकलनमा जुटेका थिए। घरमा राहत संकलनको चर्चा चलिरहँदा साढे चार वर्षीय छोरा आर्विनले आफूले जम्मा गरेको पैसा दिएपछि स्विटी सिंह श्रेष्ठ झस्किइन्।

“त्यत्तिकै बस्नुहुन्न, केही गर्नुपर्छ भन्ने लाग्यो” श्रेष्ठ सम्झिन्छिन्। उनकै नेतृत्वमा सहयोग संकलन टोली गठन गरियो र त्यो टोलीले रु.३ करोड (तीन लाख डलर) जुटायो।

हिमालय रेस्टुरेन्ट, गोर्खा प्यालेसलगायतका व्यावसायिक संघसंस्था, नेपाली व्यवसायीहरु त खटिएकै थिए, राहतमा शिख, भियतनामी, भारतीय, अमेरिकीहरुले पनि सघाए।

राहत संकलनका क्रममा टी–सर्ट, खानेकुरा बिक्री तथा कन्सर्टसमेत आयोजना गरेको बताउँदै उनी भन्छिन्, “विदेशीहरुले सहयोगको लागि तीन/चार वटा टी–सर्टको पैसा तिर्थे तर एउटा मात्र लिएर जान्थे।”

त्यो रकमबाट उनीहरुले रेडक्रसमार्फत तत्काल आवश्यक राहत सामग्री पठाए। नेपाल हेल्पकेयर इक्वीपमेन्ट डेभलपमेन्ट फाउन्डेशन (एनएचईडीएफ) संस्थामार्फत भूकम्प प्रभावित जिल्लामा स्वास्थ्योपचारमा पनि सघाए, धादिङमा एउटा विद्यालय भवन नै निर्माण गरिदिए। त्यसपछि पनि दुई करोड रुपैयाँ बाँकी नै रह्यो।

सहयोग संकलनमा जुटेका मिनेसोटाका नेपाली बालबालिका।

“सहयोगका लागि सयौं प्रस्ताव आउँथे तर सदुपयोग हुन्छ कि हुँदैन भन्नेमा शंका लाग्थ्यो” संयोजक श्रेष्ठ भन्छिन्, “नेपाल नै नदेखेकाहरुको सहयोग यो बस्तीमा आइपुगेको छ।” रायमाझी भने गिरानचौर बस्ती निर्माण गर्दा नै फाउण्डेशनलाई सहयोग गर्न चाहेको तर रकमको कमी नदेखिएकाले चूप बसेको बताउँछन्।

अमेरिकालगायत विदेशमा रहेका नेपालीहरुसँग सामाजिक कार्यका लागि संकलन गरेको थुप्रै पैसा भए पनि नेपालमा काम गर्ने भरपर्दो व्यक्ति/संस्था नभेटिंदा त्यसै थन्किरहेको रायमाझी बताउँछन्। यहाँका बालबालिकाका लागि थप सहयोग गर्ने योजना रहेको बताउँदै उनी भन्छन्, “अब अरु क्षेत्रमा पनि सहयोग गर्ने सोच छ।”

एकमुष्ट दुई करोडको सहयोग पाएपछि फाउण्डेशन बस्ती हस्तान्तरणको तयारीमा जुटेको छ। “अन्तिम समयमा समस्यामा थियौं, सहयोगले सजिलो भएको छ। एउटा सपना पूरा भएको छ”, फाउन्डेशनका अध्यक्ष कट्टेल भन्छन्। उनका अनुसार, करीब रु.७ करोडको लगानीमा निर्मित एकीकृत नमूना बस्ती ५३ मुसहर परिवारको जिम्मा लगाइनेछ।
बच्चु विक

प्रतिकृया दिनुहोस