आइजीपी नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्चद्वारा कारण देखाउ आदेश जारी
प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्ति विरुद्ध परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारलाई १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
अदालतले अन्तरिम आदेश भने जारी गर्नु नपर्ने भनेको छ ।
रिट निवेदक प्रहरी नायब महानिरीक्षक (डिआईजी) नवराज सिलवालले कार्यसम्पादन मूल्याङ्कनको गणनामा झेल गरी प्रकाश अर्याललाई महानिरीक्षक बनाइएको भन्दै उक्त नियुुक्ति कार्यान्वयन नगराउनका लागि अन्तरिम आदेश जारी गर्न समेत माग गरेका थिए ।
निवेदनमा सिलवालले आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषद्को निर्णय बदर गरी प्रहरी महानिरीक्षक बनाउन माग गरेका छन् । चार वर्षको कार्यसम्पादन मूल्याङ्कनमा आफूले २६३ अङ्क र प्रकाश अर्यालले २६२ अङ्क प्राप्त गरेको हुँदा आफू कार्यसम्पन्न र मूल्याङ्कनमा अगाडि भएको सिलवालको रिट निवेदनमा उल्लेख गरिएको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उक्त आदेश दिएको हो ।