ब्लगबुधवार, चैत्र ३०, २०७३

प्रगतिशील कलानाथ

कनकमणि दीक्षित

त्यो बेला, जब 'प्रगतिशील' भनेको कुनै समुदाय चिनाउने नाम होइन, विशेषण थियो।

करीब ४० वर्ष अगाडि मैले कलानाथ अधिकारीका रेकर्ड भएका प्रायः गीतहरू सुन्ने मौका पाएँ, र यी शोधकर्ता–गायक–अभियन्ता विस्मृतिमा जानु भनेको समाजले आफूमाथि अन्याय गरेको ठानें। 'राइजिङ नेपाल' अंग्रेजी दैनिकमा लेखें लेख, 'द एक्लिप्स् अफ कलानाथ'– ओझेलमा परेका कलानाथ।

कलानाथको विस्मृति आजैसम्म कायम छ। राणाकालबाट प्रजातन्त्रकालको संक्रमण थियो उनी जागेको बेला, र आज 'आधुनिक' वा 'प्रगतिशील' ठानिने भन्दा पनि गहन सामाजिक न्याय समर्पित अडान उतिबेला कलानाथले बोकेका थिए।

उनी गीत मात्र गाउने पनि होइनन्, राजनीतिदेखि भूराजनीति, महिला जागरण, श्रमसंगठन, चितौनाली थारू संगीत र धर्मग्रन्थबारे शोध प्रकाशन, बालसाहित्य, बस्ती निर्माण हर क्षेत्रमा जुझारु भई क्रियाशील थिए।

कलानाथका गीतहरू 'यूट्यूब' मा उपलब्ध छन्, तर तिनमा थोरै 'लाइक' ले अचम्मित पार्दछ– के रहेछ हाम्रो चिन्तन र मनोरञ्जनको धरातल!

हालै विद्वान् यादव खरेल, आभास, कृष्णहरि बराल तथा केदार शर्माले कलानाथको 'यो जल्दो फिलिङ्गो' गीतको सेरोफेरोमा रहेर गरेको विवेचनाले यो पंक्तिकारलाई थप ऊर्जा दिएको छ यो भन्न, कि कलानाथलाई बिर्संदा पूरै समाजलाई घाटा पुगेको छ।

कलानाथ सर्वगुणसम्पन्न भन्ने होइन, र उनले आफ्नो धार नबदलेका होइनन् बेलाबखतमा– अध्ययनले यही देखाउँछ। तर यो पनि भन्न मन लाग्छ कि उनीमा लोकरिझ्याइँ देखिंदैनथ्यो, त्यसै कारण पनि कतिपय उनका अडान आज आएर असान्दर्भिक ठानिन सक्छन्, तर 'आउटडेटेड' भइएला कि, वा समाजले के भन्ला भनी उनी तर्सने खालका थिएनन्।

बरु तीन–तीन चोटि सर्वस्वहरण हुँदा, काठमाडौंको सम्पन्नताबाट बनारस, पाल्पा, चितवन, मकवानपुर र बारा धकेलिंदा उनले काठमाडौंको बौद्धिक वृत्तबाट 'भ्यालिडेशन्' खोज्नु सट्टा जता पुगे त्यतै उत्साहका साथ शोध, लेखन र संगठनमा लागे।

कलानाथको एउटा गीतको सँगालो छ 'कतुकुते गीत' (२००८) जहाँ प्रकाशक कलामोहनी अधिकारीले कलानाथको परिचय यसरी दिन्छिन्ः “हाम्रो मुलुकलाई रचनात्मक आलोचना, प्रचूर मात्रामा दरकार छ। प्रगतिशील समाजको साहित्यमा तर्कपूर्ण व्यंग्यात्मक रचनाको कमी हुन नपाओस् भन्ने विचारले गीतकारले कुतकुते गीत लेखेका हुन्।”

कलानाथको छोटो र प्रारम्भिक चिनारी उनका गीतका केही हरफ प्रस्तुत गरे पुग्छ, जहाँ उनको फराकिलो प्रयोग, चासो र 'गरिहालौं' मान्यता झल्कन्छन्।

यो जल्दो फिलिङ्गो हेरी जाउ मायालु, एक झलक मात्र भए पनि, आँखा लगाई 'फू' गर या नगर, एक फेर नियाली, पुलुक्क हेरी त जाउ ...
***

पर त्यहाँ किन हो बज्छ मुरली

दूर कतै अज्ञातबाट, शान्त वातावरण छेडी

मौनताको शून्य क्षणमा, सम्झनाको मन्द सुरले...

डाक्छ कसैले विलौना, हृदयको एकान्तबाट

अन्धकार सजिव पारी, बोल्छ को उसपारबाट

***

सुन भाइ दिदी हो

लाली पाउडर लाइवरी, घरै भित्र भूली बसी

रानी बन्न मोज मानी, लेख्न–पढ्न गाह्रो मानी

संगठनमा जान छाडी, असल चाल नलिएमा

पुरुष जाति थिच्न किन छाड्थे...

आधुनिक र उत्तर आधुनिकको बहस पूर्व उनी गाउँथे, लेख्थे र उनको समयमा 'प्रगतिशील' कुनै विचार समुदाय चिनाउने नाम नभई विशेषण मात्र थियो।

कलानाथको एउटा गीत भने धेरैलाई थाहा छ, 'ललहरी' जसको बोल छ, 'आइज निदरी छुनुमुनु छुनुमुनु'। जसले बालमनोविज्ञानको गहिरो बुझाइ प्रष्ट हुन्छ। बालकको मनमा कल्पनाशीलता जगाउने कैयौं 'रेफरेन्स', त्यस गीतमा हामी पाउँछौं– पुष्टकारीदेखि मयुरको प्वाँख, रुस–चीन–अमेरिका, रंगीचंगी फलफूल, धरहराको टुप्पो, सगरमाथा टुप्पो, झिलीमिली बत्ती, गलल्ल हाँसो, माछाको खाजा, जीराको पाचा, ईत्यादि।

'ललहरी' बाटै कलानाथ अधिकारीको अध्ययन थालनी गरौं। र सामग्री तयार छ, यूट्यूब वा एम्पी–थ्रीमा गएर उनका गीत सुनौं, रमाऔं, र सोचौं उनको लेखन र गायनको काल, परिस्थिति, परिवेश।

उनले आफूलाई चिनाउने यसरी रहेछन्ः 'अखिल नेपाल सांस्कृतिक कार्यकर्ता।'
-----------------------------------------------
थप जानकारीका लागिः 'कलानाथ अधिकारीका कृति' कलानाथ अधिकारी स्मृति प्रतिष्ठान (२०७३) ।

प्रतिकृया दिनुहोस