विकासले निम्त्याएको बिजोग
गत असार दोस्रो साता आएको बाढीले दुइटा भवन, पानीट्यांकी, चर्पीलगायतका संरचना बगाएपछि जाजरकोटको लहँ–४, पीपलचौरस्थित जनता प्राथमिक विद्यालय क्षेत्र बगरमा परिणत भयो। त्यसयता चर्को घाममा पनि विद्यार्थीलाई बगरमै राखेर पढाउन बाध्य भएको बताउँदै प्रधानाध्यापक बलबहादुर रावल भन्छन्, “पानी परे पठनपाठन बन्द गर्नुको विकल्प रहँदैन।”
रावलका अनुसार, फेरि बाढीपहिरो आउने डर छ, तर पाँच कक्षासम्म पढाइ भइरहेको विद्यालय सार्न अन्यत्र ठाउँ पनि छैन। बर्खा नसकिई बगरमा टहरो, चर्पी आदि बनाउने कुरा पनि आएन।
बगर बनेको ठाउँमा बाढीपहिरोको डर कायम रहँदा विद्यार्थी संख्या पनि ह्वात्तै घटेको र उनीहरूलाई अनिवार्य रूपमा विद्यालय आऊ भन्न पनि नसकेको प्रअ रावल बताउँछन्। पढ्न आउने बालबालिका पनि बगरको चिसो र तातोबाट बिरामी पर्न थालेको उनले बताए। उनका अनुसार, अहिले ४ र ५ कक्षाका विद्यार्थी मात्र विद्यालय आइरहेका छन्।
“बाढीले बगाएको विद्यालय निर्माणका लागि जिल्ला शिक्षा कार्यालयदेखि गैर–सरकारी संघ–संस्थासम्म धाउँदा कसैले चासो दिएनन्”, प्रअ रावल भन्छन्।
गुर्से खोलामा आएको बाढीले विद्यालय मात्र होइन, पीपलचौरका २६ घरपरिवारलाई पहिरोको जोखिममा पारेको छ। गाविस भवन रहेको ठाउँ र नलसिंगाड जोड्ने सडक खन्ने क्रममा डोजरले जथाभावी कोतर्दा बाढीपहिरो निम्तिएको प्रअ रावल बताउँछन्। उनका अनुसार, बाढीले विद्यालय भवनहरू बगाउँदा रु.७० लाख बराबरको क्षति भएको छ। “विकासको नाममा जथाभावी डोजर चलाउँदा यो अवस्था आयो”, प्रअ रावल भन्छन्, “यस्तो विकास नगरौं भन्दा कसैले वास्ता गरेनन्।”
बद्री पन्त, जाजरकोट