कांग्रेसले सबै तहमा प्रचार समिति गठन गर्ने
नेपाली कांग्रेसले आसन्न स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि आगामी २ वैशाखभित्र ७४४ तहमै प्रचारप्रसार समिति गठन गरिसक्ने भएको छ ।
पार्टीको केन्द्रीय प्रचारप्रसार समितिको आज बसेको बैठकले यही ३१ चैतभित्र अनिवार्य रुपमा सबै जिल्लामा प्रचारप्रसार समिति गठन गर्न परिपत्र गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उक्त समिति गठन गर्दा जिल्लास्थित पार्टीको जिल्ला प्रचार विभाग प्रमुखको संयोजकत्वमा, नेपाल प्रेस युनियनको अध्यक्ष वा युनियनले तोकेको प्रतिनिधिलाई सहसंयोजक बनाउन निर्देशन दिइएको छ ।
समिति गठन भएको जानकारीसहितको सम्पूर्ण विवरण ३ वैशाखभित्र केन्द्रीय प्रचारप्रसार समितिमा पठाउनुपर्ने समितिको निर्णय छ ।
केन्द्रीय निर्वाचन परिचालन समितिले नेता रमेश लेखक संयोजक र गगनकुमार थापा सहसंयोजक रहेको २५ सदस्यीय केन्द्रीय प्रचारप्रसार समिति गठन गरिसकेको छ । रासस