ब्लगसोमवार, चैत्र २८, २०७३

प्रदेशमा हराउदैछ मौलिकता

हिमालखबर

ङिमा पाख्रिन

२०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा आदिवासी जनजातीको मौलिक पहिचान झल्कने संस्कृतिको चर्चा हुन थालेको छ । त्यसै मध्येमा पर्छन, बौद्ध धर्मालम्बिले मनाउने ल्होछार पर्व । यो पर्वलाई बिभिन्न समुदायले छुट्टाछुट्टै नामाकरण गरेर तीन चरणमा मनाउने गरेका छन् ।

एउटा तोला ल्होछार जुन गुरुङ समुदायले १५ पुषलाई आधार बनाएर मनाउँदै आएको छ । अर्को तामाङ समुदाय तथा ह्योल्मो समुदायले माघ शुक्ल प्रतिपदालाई आधार बनाएर मनाउने सोनाम ल्होछार वा ल्होसार । र तेस्रो शेर्पा समुदाय र केही तामाङ समुदायले समेत मनाउने ग्याल्पो लोसार जुन अन्तिममा मनाइन्छ । आफ्नो मौलिक संस्कृति र पहिचान जोगाउन यी पर्वलाई मनाउदै आएका छन् ।

यस पटक न्यूयोर्कमा मनाएका सबै लोसार र ल्होछार कार्यक्रममा पुग्ने अवसर जुरेको थियो । ती कार्यक्रममा प्रस्तुतिहरु हेरेर मनमा उब्जेका केही कुराहरुलाई छलफलका विषयवस्तु बनाउने खोजेको छु । कुनै व्यक्ति वा समुदायप्रति दोषारोपण गर्ने मनसाय कदापि होइन ।

ल्होछार पर्वलाई नाराको लागि मात्रै मनाउने कि यसलाई ती समुदायको मौलिकता जोगाउनेतर्फ उन्मुख बनाउने भन्ने प्रश्न टड्कारो छ । आयोजक सामुदायिक संस्थाका अगुवाहरुले गम्भीर रुपले नसोची नारामुखी कार्यक्रम मात्रै बनाउने हो भने अमेरिकामा पहिलो पुस्ताबाट दोस्रो पुस्तामा पुस्तान्तरण भएर जान निकै मुस्किल हुने देखिन्छ । मौलिक पहिचान झल्काउने खालका संस्कार र संस्कृतिप्रति दोस्रो पुस्तालाई बेलैमा सजग गराउन सकिएन भने ल्होछार मात्रै होइन, दशैं, तिहार, माघी, छट, होलीजस्ता नेपाली चाडपर्वहरु पहिलो पुस्तामै सिमित हुनेछन् अमेरिकामा ।

ल्होछार पर्व मनाउँदा दुई/चार वटा नाचगान गरेर मात्र संस्कृति संरक्षण हुन्छ भनेर सोच्नु गलत हुनेछ । दोस्रो पुस्तालाई संस्कार र संस्कृतिप्रेमी बनाएर उनीहरुको सहभागिता बढाउने कदमतिर ध्यान पु¥याउनु उत्तम हुनेछ । केही वर्ष अघिदेखि ल्होछारमा बालबालिकालाई मौलिक पोशाक लगाई स्टेजमा उतार्ने तामाङ समुदायको गतिलो प्रयासलाई यसपालीको ल्होछारमा निरन्तरता दिन सकेन । त्यस्तै ल्होसारको स्टेजमा हिन्दी गीतमा नचाउँदा ह्योल्मो समुदायका दोस्रो पुस्ताका बालबालिकाको कलिलो मष्तिस्कमा पर्ने प्रभावको बारेमा बेलैमा सोच्न जरुरी हुन्छ ।

गुरुङ समुदायले सोरठी नृत्य प्रस्तुत गर्दा यसका उत्पति इतिहास कथालाई समेत छलफलका विषयवस्तु बनाउँदै बालबालिकालाई नाच्न समेत प्रेरित गराउनु आवश्यक छ । शेर्पा समुदायको मौलिक नादिङ गाउँदा त्यसमा प्रयोग हुने मौलिक बाजा टुङना र हर्मोनिका बजाएर देखाउँदा मात्रा दोस्रो पुस्ताले त्यसका बारेमा बुझ्न थाल्छन् ।

यसैबीचमा शेर्पा समुदायमा शेर्पा भाषा कक्षा सञ्चालन थालनीसँगै यसपालीको लोसारमा बालबालिकाहरुले बौद्ध धर्म अनुसारको मन्त्रोच्चारण गर्नु आफैमा राम्रो उदाहरण बनेको छ । त्यस्तै, स्याब्रु प्रतियोगिता उदाहरणको अर्को पाटो हो । तामाङ समुदायबीचमा पनि वार्षिक रुपमा एक दिने तामाङ भाषिक साहित्यिक कार्यक्रम ‘ग्योई थेन सेमल्हेङ’ नामक कार्यक्रम हुँदै आएको छ । यस्ता सिमित प्रयासहरु प्रशंसनीय भए पनि अझै औंसीको रातमा जुनकिरीको उज्यालो जस्तो मात्र भएका छन् ।

तथापि यस्ता कुराहरुको अरु समुदायहरुले पनि सिको गर्दा धेरै राम्रो हुन्छ । हिजोका दिनमा नेपालमा जस्तो आफ्नो मौलिक संस्कृतिलाई खुला रुपले अंगिकार गर्न बन्देज आज अमेरिकामा छैन । अरुलाई असर नपार्ने गरी आफ्नो मौलिकतामा रमाउन पाउने पूर्ण छुट दिएकै छ । त्यति मात्रै हैन, यसलाई यूनिकनेस बनाएर अरु समुदायमा आफूलाई चिनाउने अवसर पनि खुला नै छ ।

गत वर्ष गणतन्त्र दिवसको अवसर पारेर न्यूयोर्कस्थित नेपाली कन्सुलेटले एक दिने बहुभाषी साहित्य गोष्ठीको आयोजना गर्नु एउटा उत्साहपूर्ण कार्य थियो । यो कार्यलाई निरन्तरता दिँदै थप कार्यक्रमहरु गर्न आवश्यक हुन्छ । नेपालको बहुसाँस्कृतिकलाई अमेरिकामा समेत जोगाइ राख्दा त्यसको फाइदा कुनै समुदाय विशेषलाई मात्र नभइ देशलाई नै पुग्छ । एनआरएन अमेरिकाले यो कुरामा उत्तिकै चासो राखेर उचित कदम समयमै चाल्न आवश्यक छ ।

प्रतिकृया दिनुहोस