बलात्कार अभियोगमा दश वर्ष जेल सजाय
बालिका बलात्कारको अभियोगमा उदयपुर जिल्ला अदालतले एक जनालाई १० वर्ष र अर्कोलाई ८ वर्ष जेल सजाय सुनाएको छ ।
उदयपुरको लाफागाउँ–५ का ५५ वर्षीय डिकबहादुर पाठकलाई २७ चैतमा जिल्ला अदालत उदयपुरले दश वर्ष जेल सजाय र रु. ५० हजार जरिबानाको फैसला गरेको छ । त्यस्तै उदयपुरकै मैनामैनी–९ का २३ वर्षीय बोलमान राईलाई आठ वर्षको जेल सजाय र रु.१५ हजार जरिवाना गर्ने फैसला गरेको छ ।
पुर्पक्षका लागि थुनामा राखेर बलात्कारको अभियोगमा मुद्दा चलाइएका अभियुक्त डिकबहादुरलाई जिल्ला न्यायाधीश महेन्द्रबहादुर कार्कीको एकल इजालासले जेल सजाय र जरिवानाको फैसला गरेको स्रेस्तेदार ऋतबहादुर मगरले बताए ।
यस्तै बोलमानलाई जिल्ला न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले आठ वर्ष जेल सजाय र रु. १५ हजार जरिवाना गर्ने फैसला गरेको हो ।
डिकबहादुरलाई गत १५ साउनमा र बोलमानलाई गत २२ पुसमा बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । रासस