सगरमाथा चढ्ने २० समूह आधारशिविरमा
सगरमाथा अरोहणका लागि सबैभन्दा खतरनाक मानिएको खुम्बु आईसफल हुँदै क्याम्प टू सम्मको बाटो बनाउने काम सकिएको छ ।
सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपीसीसी) का आठ जना आईसफल डाक्टरले सगरमाथाको आधारशिविरदेखि क्याम्प टू सम्मको बाटो बनाउने काम सकेका हुन् ।
गत सिजनको तुलनामा यस वर्ष एक हप्ता अगाडिनै क्याम्प टू सम्मको बाटो बनाउने काम सकिएको एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए ।
एसपीसीसीका आईसफल डाक्टरहरुले सगरमाथाको आधारशिविरदेखि क्याम्प टू सम्मको बाटो बनाउने काम सके पनि त्यो बाटोलाई निरन्तर सरसफाई गरिरहने समेत एसपीसीसीका अधिकृत राईले बताए ।
बनाईसकेको बाटोमा स–साना हिउँपहिरो झरिरहनाले पनि आधारशिविरदेखि क्याम्प टू सम्मको बाटोमा आईफल डाक्टरहरुले दैनिक रुपमा बनाइरहनु पर्ने एसपीसीसीका बेशक्याम्प म्यानेजर छिरिङतेञ्जिङ शेर्पाले बताए ।
सन् २०१४ मा खुम्बुआइसफलको कुनाबाट बाटो बनाइएकोमा हिमपहिरो झर्दा १६ आरोही तथा उचाइका कामदार (हाइअल्टिचियूड वर्कर) ले ज्यान गुमाएका थिए । त्यसैले गत वर्षदेखि आइसफलको बीचबाट बाटो बनाइएको छ ।
सगरमाथा, लोत्से र नुप्चे हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधारशिविरमा पुगेका छन् ।
जसमध्ये १६ समूहले सगरमाथा, २ समूहले लोत्से र २ समूहले नुप्चे हिमालको आरोहण गर्ने एसपीसीसीका कार्यक्रम अधिकृत कपिन्द्र राईले बताए । यी २० समूहमध्ये एक मात्र नेपाली समूह रहेको छ, ब्रीटिस गोर्खाली सेनाको समूह ।
नुप्से र लोत्से हिमाल आरोहण गर्नको लागि पनि सगरमाथाको आधारशिविर हुँदै क्याम्प थ्रीसम्म एउटै बाटो भएर जानु पर्दछ ।
सगरमाथा आधारशिविरमा यतिबेला विभिन्न समूहका आरोही, उचाईको कामदार, क्लाईम्बिङ शेर्पा लगायत चार सय भन्दा बढी मानिसको चहलपहल रहेको अधिकृत राईले बताए ।
सगरमाथा लगायत खुम्बु क्षेत्रमा रहेका अन्य हिमालहरु आरोहण गर्नको लागि एसपीसीसीमा आरोहीहरुको नाम, आरोहणका लागि लैजाने सामानहरु दर्ता गरेर जानु पर्दछ । हिमाल आरोहण गरेर फर्किदा आपूmले प्रयोग गरेका सामानहरु एसीसीसीको कार्यालय नाम्चेसम्म ल्याउनु पर्ने प्रावधान रहेको छ ।
आरोहीहरुले जथाभावी फोहोर गर्न थालेपछि आरोहणका लागि लगिएको समान प्रयोग गरिसकेपछि पुनः एसपीसीसीको कार्यालय नाम्चेबजासम्म ल्याउनु पर्ने प्रावधान कडाईका साथ लागू गरिएको अधिकृत राईले बताए ।
बुद्धवीर बाहिङ, सोलुखुम्बु