कला/साहित्यआइतवार, चैत्र २७, २०७३

'घामपानी मार्फत जातीय सहिष्णुता'

हिमालखबर

निर्देशक दीपेन्द्र लामा ।

आउदो १ वैशाखदेखि प्रदर्शनमा आउने चलचित्र 'घामपानी'का निर्देशक दीपेन्द्र लामा भन्छन्, “चलचित्रको समीक्षा गर्नुभन्दा निर्देशन गर्नु निकै कठिन रहेछ ।” थपः

घामपानी कस्तो चलचित्र हो ?
घामपानीलाई एक समसामयिक सामाजिक कथावस्तु बोकेको यथार्थपरक मनोरञ्जक चलचित्र भन्न रुचाउँछु । ठाउँ विशेषको भन्दा पनि फरक भूगोल र जातिको फ्युजन झल्किन्छ । चलचित्रमा बाहुन र तामाङबीचको प्रेमकथा छ, त्यसलाई सार्थकता प्रदान गर्न मैले विभिन्न पाटोमा काम गरेको छु ।

घाम र पानीको फरक बिम्बलाई कसरी प्रयोग गर्नुभएको छ ?
घामपानी नाममा दुई फरक तत्व छन्, घाम र पानी । फरक तत्वबीचको मिश्रणले घामपानी बनेजस्तै फिल्ममा फरक जातिबीचको प्रेमसम्बन्धलाई पस्केर जातीय सहिष्णुताको कुरालाई उठाएको छु । एउटा पात्रलाई घाम र अर्को पात्रलाई पानीका रुपमा पनि तुलना गरिएको छ । साथै ‘घामपानी घामपानी स्यालको बिहे, कुकुर जन्ती बिरालो बाहुन’ भन्ने गीतमा जस्तै नेपाली समाजको संरचना समावेशी रुपमै अगाडि बढ्नुपर्छ भन्ने आग्रह पनि चलचित्रमा मिसाएको छु ।

चलचित्रमा नेपालीपन हुनुपर्छ भनेर बहस गर्नेमध्ये तपाइँ पनि पर्नुहुन्छ । आफ्नै चलचित्रले चाहिं मौलिकतामाथि कत्तिको न्याय गर्न सकेको जस्तो लाग्छ ?
नेपाली दर्शकको रुचिलाई हेर्ने हो भने नेपालीपन र मौलिकता भएकै चलचित्र लोकप्रिय भएका छन् । चाहे त्यो ‘कबड्डी’, ‘पशुपति प्रसाद’ वा ‘छक्का पञ्जा’ नै किन नहोस् । जुनजुन चलचित्रले स्थानीय कथावस्तु, पात्र र परिवेशलाई ग्रहण गरेका छन्, तिनै चलचित्र दर्शकका रोजाइमा पर्छन् । यही कुरा मनन् गर्दै ‘घामपानी’मा पनि बाहुन र तामाङ दुवैका संस्कृति, गाउँका जीवन्त पात्रहरु र उनीहरुका सानासाना समस्याहरु समेटेको छु ।

घामपानीको एक दृश्यमा दयाहाङ राई र केकी अधिकारी ।

चलचित्र समीक्षक हुनु र निर्देशक हुनुमा कत्तिको फरक रहेछ ?
झट्ट हेर्दा समीक्षा लेख्नु र निर्देशन गर्नु फरक काम नै हो जस्तो लाग्छ । तर, मैले पत्रपत्रिकामा कलमको सहाराले समीक्षा लेख्थेँ भने चलचित्र निर्देशन गर्दा चाहिं क्यामेराले लेखें । वास्तवमा गम्भीर भएर चलचित्र बनाउने सबैले समाजका विभिन्न विकृति र प्रवृत्तिहरुको समीक्षा गरेका हुन्छन् । खाली फरक के हो भने चलचित्र निर्देशनमा क्यामेराम्यान, लाइटम्यान, आर्ट डाइरेक्टर, साउन्ड डिजाइनर, सम्पादक, संगीतकार लगायत अरु क्रियटिभ पर्सनहरुको पनि सहयोग चाहिन्छ । निर्देशक एक्लैले केही गर्न सक्दैन ।

अभिव्यक्तिको माध्यमका दृष्टिमा पत्रकारिता र चलचित्रकारिता कुन चाहिं सशक्त लाग्यो ?
फिल्म निर्देशन गर्नु सोचेभन्दा कठिन रहेछ भन्ने बुझें । तर, यसले मलाई थुप्रै ज्ञान दिलाएको छ । पत्रकारिता वा समीक्षामात्र गरिरहेको भए, यी ज्ञान बटुल्नबाट म बन्चित हुन्थें । भविष्यमा लगातार निर्देशन गरिरहने प्रेरणा पनि मिलेको छ । मैले अभिव्यक्तिको अझ फराकिलो माध्यम भेटाएको छु, छोड्ने कुरै आउँदैन ।

थुप्रै चलचित्रको समिक्षा गर्नु भएको छ । घामपानीबाट कस्तो आश गर्नु भएको छ ?
मलाई जस्तो चलचित्र मन पर्छ, ‘घामपानी’लाई त्यस्तै बनाएको छु । मेरो रुचि, स्वभाव र शैली मन पराउनेले यो फिल्मबाट भरपूर आनन्द पाउने कुरामा म ढुक्क छु । चलचित्रका गीतहरु र ट्रेलरलाई दर्शकले उत्साहका साथ मन पराइदिएका छन् । चलचित्रलाई मन पराइदिने छन् भन्ने आशा लिएको छु ।

 

प्रतिकृया दिनुहोस