जानकी मन्दिर र अञ्चल अस्पतालको लाइन काटियो
नेपाल विद्युत प्राधिकरणले जनकपुरको जानकी मन्दिर र अञ्चल अस्पतालसहित विभिन्न कार्यालयहरुको विद्युत लाइन काटेको छ ।
जानकी मन्दिरले विद्युत उपयोग गरेवापतको रु ५८ लाख बक्यौता तिर्न पटक–पटक ताकेता गरे पनि नतिरेपछि मन्दिरमा विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरण, जनकपुरले जनाएको छ ।
मन्दिरमा विद्युत आपूर्ति बन्द भएपछि स्थानीयले सरकारले नै संरक्षण गरी सुविधा उपलब्ध गराउनुपर्ने धार्मिक आस्थाको केन्द्रमाथि खेलवाड गरिएको भन्दै आलोचना गरेका छन् ।
जानकी मन्दिरका महन्थका सहयोगी रामरोशन दासले पहिले मन्दिरभित्रै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मिथिला संस्कृति केन्द्र, नेपाल कराँते संघ लगायतका संस्थाहरु रहेको र उनीहरुले छोडे पनि विद्युत महशुल नबुझाएकाले बक्यौता रकम धेरै देखिएको बताए ।
प्राधिकरणका प्रमुख जितेन्द्र झाले दुई वर्षदेखिको बक्यौता रकम नतिरेमा वा निश्चित म्यादभित्र तिर्ने कागज नभएसम्म लाइन नजोडिने स्पष्ट गरेको छ ।
त्यसै गरी लक्ष्मण मन्दिर र रामजानकी विवाहमण्डपको समेत विद्युत लाइन काटिएको छ ।
लक्ष्मण मन्दिरले रु. १७ लाख रु विवाहमण्डपले रु ७ लाख ५० हजार प्राधिकरणलाई बुझाउनु पर्ने छ ।
त्यसैगरी जनकपुर अञ्चल अस्पतालले रु ५६ लाखभन्दा बढी रकम बक्यौता राखेको भन्दै विद्युत प्राधिकरणले लाइन काटेको छ ।
अञ्चल अस्पताल अन्तर्गत उपचार कक्षको भने लाइन नकाटी आवासतर्फ मात्रै विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरण जनकपुरका प्रमुख जितेन्द्र झाले जानकारी दिए ।
त्यसैगरी जनकपुर– ९ स्थित म्याक प्लाष्टिक उद्योगले रु ५ लाख, सडक डिभिजन कार्यालय मुजेलियाले रु ३ लाख नबुझाएकाले विद्युत आपूर्ति बन्द गरिएको छ ।
प्राधिकरण जनकपुर शाखाका प्रमुख झाले विद्युत कार्यालयको बक्यौता रकम ३२ करोड नाघेको जनाए ।
पछिल्लो समय कार्यालयले ग्रामीण क्षेत्रमा समेत महशुल नबुझाएको ग्राहकको लाइन काटने अभियान नै चलाएको छ । सडक बत्तीको मात्रै १० करोड बक्यौता रहेको छ ।
ईश्वरचन्द्र झा