रिपोर्टशनिवार, चैत्र २६, २०७३

नाम साधना काम चोरी!

बच्चु विक

प्राज्ञिक लेखनदेखि साहित्यसम्म फैलिएको बौद्धिक चोरीले नेपाली वाङ्मयलाई खोक्रो बनाइरहेको छ।

इलुस्ट्रेशन: भानु भट्टराई

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपति नियुक्त भएपछि ७ भदौ, २०७२ मा पदभार ग्रहण गर्दा प्रा.डा. तीर्थ खनियाले भनेका थिए, “योग्यता र क्षमताले भ्याएसम्म प्राज्ञिक उन्नयनमा लाग्नेछु, मेरा काम हेरेर सुझाव दिन अनुरोध गर्दछु।” 

खनियाले त्यो घोषणा गरेकै दिन उनले २०६१ असारमा अर्काको 'पेपर' सारेर आफ्नो 'पेपर' प्रकाशित गरेको कुरा सार्वजनिक भयो। त्रिविमा मौलाएको 'थेसिस कपी–पेष्ट' धन्दाले नेपाली प्राज्ञिक क्षेत्रलाई खोक्रो बनाइरहेको चिन्ता व्यक्त भइरहेको बेला उपकुलपति नियुक्त खनियाको बौद्धिक चोरी बहसको विषय नबन्ने कुरै भएन।

संचारमाध्यमदेखि सामाजिक संजालसम्ममा 'देशको प्राज्ञिक केन्द्र बौद्धिक चोरी गर्नेको नेतृत्वमा जानुहुँदैन' भन्दै 'खनियाले राजीनामा दिनुपर्छ' भन्ने मागहरू भए। तर, उनीबाट अपेक्षित नैतिकता प्रदर्शन भएन।

अन्य मुलुकमा बौद्धिक चोरीको बात लागेपछि सार्वजनिक पदका लागि आफूलाई अयोग्य मान्ने मान्यता रहेको पछिल्लो उदाहरण अमेरिकाकी मोनिका क्रोली हुन्।

लक्ष्मी उप्रेतीको नेपालका नारी कथाकार: प्रवृत्ती र प्रतिनिधि कथा र २०७०मा प्रज्ञा प्रतिष्ठान (सम्पादक ज्ञानु पाण्डे) ले निकालेको नेपाली महिला कथाकार, भाग-२ (२०४० सालयताका) मा आफूले समय-समयमा गुञ्जनलाई बुझाएको नेपाली महिला साहित्यकार पाण्डुलिपिको उतार गरेको आरोप लीला लुइटेलको आरोप छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा परिषद्को प्रवक्ता हुन दोहोर्‍याएर प्रस्ताव राख्दा पनि उनले अस्वीकार गरिन्। क्रोलीले कोलम्बिया विश्वविद्यालयबाट विद्यावारिधि गर्दा शोधपत्रमा बौद्धिक चोरी गरेको सार्वजनिक भएको थियो।

नेपालमा भने उपकुलपतिले नै प्रमाणित आरोप पचाउँदा बौद्धिक चोरीमा संलग्न सबैलाई हाइसन्चो भएको एक प्राध्यापक बताउँछन्। नाम उल्लेख गर्न नचाहने उनी भन्छन्, “अब त्यस्तै व्यक्तिले नेतृत्व गरेको त्रिविको प्राज्ञिक ओज कस्तो रहला?”

प्रा.डा. खनियाले क्यानाडाको टीईएसएल जर्नल (२००४ जुलाई) मा छापिएको टर्कीका भाषाविद् फेरिट किलिच्कायाको 'अथेन्टिक मेटिरियल्स एन्ड कल्चरल कन्टेन्ट इन ईएफएल क्लासरुम्स' शीर्षकको 'पेपर' बाट ५३ पंक्ति हुबहु सारेर नेपाल इङ्गलिस ल्याङ्गवेज एसोसिएसन (नेल्टा) को 'जर्नल' (वर्ष ११, अंक १–२, डिसेम्बर २००६) मा प्रकाशित गरेको पाइएको थियो।  

'युज अफ अथेन्टिक मेटेरियल्स इन ईएफएल क्लासरुम्स' शीर्षकको खनियाको 'पेपर' मा प्रा. किलिच्कायालाई कतै 'क्रेडिट' दिइएको थिएन। तर, आफूले कुनै गल्ती नगरेको जिकिर गर्दै प्रा.डा. खनिया भन्छन्, “सम्पादन गर्दा किलिच्कायाको नाम छुटेको मात्र हो, खेदो खन्न आवश्यक छैन।” 

त्रिवि उपकुलपति तीर्थ खनियाले क्यानाडाको टीइएसएल जर्नल (२००४ जुलाई) मा छापिएको टर्कीका भाषाविद् फेरिट किलिच्कायाको 'पेपर' बाट ५३ पंक्ति हुबहु सारेर नेपाल इङ्ग्लिस ल्याङ्ग्वेज एसोसिएसन (नेल्टा) को जर्नल (वर्ष ११, अंक १-२, डिसेम्बर २००६) मा प्रकाशित गरेको पाइएको थियो । स्क्यान इमेज:  माइ रिपब्लिकाबाट

उपकुलपतिको पछिपछि
प्रा. ज्योति भण्डारी प्याकुरेलले 'पी.एच.डी. मञ्चकला (संगीत)' उपाधिका लागि २०६८ चैतमा भारतको दीनदयाल उपाध्याय गोरखपुर विश्वविद्यालय (गोवि) मा बुझाएको 'काठमाडौं उपत्यका के नेवारी जनजाति का पारम्परिक लोक संगीत का सर्वेक्षणात्मक अध्ययन' शीर्षकको शोधपत्रमा त्रिविकै अर्का प्राध्यापक बेनीजङ्गम रावलको किताब र विद्यावारिधिको शोधपत्रबाट हरफका हरफ सारेको पाइएको छ, स्रोत उल्लेख नगरिकनै।

प्याकुरेलले रावलको पुस्तक सन्दर्भः लोकगीतका (२०६३) को पृष्ठ १५–१७, १९–२१ र पृष्ठ २१–२७ हुबहु सारेकी छन्। रावलले त्रिविमा बुझाएको शोधपत्रबाट सार्दा प्याकुरेलको हिन्दी शोधमा एक पृष्ठ नेपाली भाषामै परेको छ।

प्याकुरेलले रावलको विद्यावारिधिको शोधपत्र 'वाग्मती अञ्चलमा प्रचलित नेपाली बाह्रमासे लोकगीतको सांगीतिक अध्ययन' बाट आफ्नो विषयभन्दा बाहिरको कुरा पनि सारेको देखिन्छ।

प्रा. रावलले ६ पुस २०७२ मा नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएकोमा महानगरीय प्रहरी परिसर हनुमानढोकामार्फत अनुसन्धान भएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

दीपा मेहताको फिल्म 'वाटर' मा आधारित भएर २०६२ सालमा मिल्कवीड एडिसन्सले प्रकाशन गरेको पाकिस्तानकी बाप्सी सिध्वाको उपन्यास वाटरको आवरणमै लेखिएको  छ- 'बेस्ड अन दि फिल्म बाई दीप मेहता' ।

प्रतिलिपि अधिकार ऐन, २०५९ ले बौद्धिक चोरी (प्लेजरिजम) लाई फौजदारी अपराध मान्छ। “देशका प्राध्यापकहरू यस्तो मुद्दामा पर्नु विडम्बना हो” अध्येता प्रत्यूष वन्त भन्छन्, “अझ् उपकुलपति नै यसमा मुछिनु त बडो लाजमर्नु अवस्था हो।”

त्रिवि, रसायनशास्त्र केन्द्रीय विभागका मेघराज पोखरेल, देवबहादुर खड्का र केदारनाथ घिमिरे पनि 'प्लेजरिजम' मा मुछिएका प्राध्यापकहरू हुन्।

विश्वविद्यालय अनुदान आयोगले २०६८ मा सञ्चालन गरेको दोस्रो उच्च शिक्षा परियोजनाको 'फ्याकल्टी रिसर्च ग्रान्ट' लिएर उनीहरूले गरेको 'केमिकल मोडिफिकेसन अफ नेचुरल पोलीमर्स एन्ड देअर अप्लिकेसन इन वेस्ट/ड्रिङकिङ वाटर' शीर्षकको 'इन्ष्टिच्युसनल रिसर्च' मा अरूका अध्ययन–लेखरचना सारेको भेटिएको थियो।

त्यसपछि अनुदान आयोगले २३ साउन २०७० मा 'बौद्धिक सम्पत्तिको अनधिकृत प्रयोग गरेको तथा शैक्षिक मर्यादा उल्लंघन गरी पेशागत मर्यादा पालन नगरेको' ठहर गर्दै उनीहरूको प्रतिवेदनलाई कालोसूचीमा राख्यो।

'पेशागत मर्यादा पालन नगर्ने' मध्ये घिमिरे अहिले त्रिवि शिक्षा सेवा आयोग सदस्य छन्। 'रिसर्च' टोलीको प्रमुख रहेका प्रा.डा. पोखरेलले यसबारे कुरा मिलिसकेको बताए।

उपकुलपति खनियासँग 'कुरा मिलाउने' प्राध्यापक र 'थेसिस कपी–पेष्ट' गर्ने विद्यार्थीलाई 'बौद्धिक चोरी नगर' भन्ने नैतिक शक्ति छैन। अनुसन्धाता वन्त प्राज्ञिक क्षेत्रमा चोरीकर्म रोक्न नक्कली सर्टिफिकेट झैं डिग्री पनि रद्द गर्नुपर्ने बताउँछन्।

साहित्यमा चोरीको सहारा

'नेपाली लोककथा' पुस्तकबाट 'लोकवार्ताविज्ञान र लोकसाहित्य' मा बुडो बाबु फाल्ने डोको, सात भाइ, खीरपाक ताउलीलगायत १४ कथा एकशब्द तलमाथि नगरी सारिएको छ ।

कला, साहित्य वा संगीत सिर्जना गर्नेलाई समाजमा ठूलो सम्मान गरिन्छ। त्यो स्थान पाउने लालसा र हतारले हुन सक्छ, केहीले अर्काको सिर्जनालाई खुसुक्क आफ्नो बनाएर प्रस्तुत गर्छन्।

खास गरेर नेपाली साहित्य र संगीतमा 'प्लेजरिजम' को समस्या चर्को रहेको कवि तुलसी दिवस बताउँछन्। २०२५ सालपछिका पाँच वर्ष देशका कुनाकाप्चा पुगेर संकलन गरेको नेपाली लोककथा २०३२ मा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित गरेका उनी आफैं पनि त्यसका शिकार हुन्।

“त्यसको ३० वर्षपछि २०६२ को कुनै हिउँदे साँझ्मा एकजना साहित्यकार आएर बजारमा पाइएन, पढ्न दिनुस् भन्दै नेपाली लोककथा मागे” दिवस भन्छन्, “त्यसको ५/६ महीनापछि लोक वार्ता विज्ञान र लोक साहित्य बजारमा आएपछि भुस्कुट पारेको थाहा पाएँ।”

लोकवार्ताविज्ञान र लोकसाहित्य का लेखक प्रा. मोहनराज शर्मा र डा. खगेन्द्रप्रसाद लुइटेल हुन्, जसमा कवि दिवसको नेपाली लोककथा बाट बूढो बाबु फाल्ने डोको, सातभाइ, खीरपाक ताउलीलगायत १४ कथा एकशब्द तलमाथि नगरी सारिएको छ।

कतै सन्दर्भमा समेत आफ्नो किताबको नाम नलिई कथाहरू उतारेको दिवस बताउँछन्। “उतारे के भन्नु, भसक्कै चोरे” उनी भन्छन्, “प्रकाशक विद्यार्थी पुस्तक भण्डारका सञ्चालकलाई त झपारें, लेखकहरूसँग चाहिं अझै भेट भा'छैन।”

चोरीको आरोप लागेका प्रा. शर्माले यो विवाद प्रकाशकले मिलाइसकेको बताए।

प्रख्यात आख्यानकार धु्रवचन्द्र गौतमको उपन्यास अलिखित (२०४०) पनि भारतीय लेखक फणीश्वरनाथ रेणुको मैला आँचल सँग मिलेको डा. रामदयाल राकेशले औंल्याए।

२०५५ सालमा प्रकाशित नेपाली साहित्यः विभिन्न आयाम (पृष्ठ १४६) मा अलिखित को कथावस्तु, बनोट, पात्र र पात्रका चरित्र दाँज्दै राकेशले लेखेका छन्– 'आदिदेखि अन्त्यसम्म समीक्ष्य उपन्यासको कथानक संरचना, कथोपकथन आदि संयोग भनौं कि अनुसरण भनौं कि चोरी भनौं मिल्न खोज्दछ।' 

गौतमले 'मान्छेहरू यस्ता आरोप किन लगाउँछन्, आफूले बुझन नसकेको' हिमाल सँग बताए।

नेपाली साहित्यमा सजिलै बुझन सकिने कुरा चाहिं के छ भने पछिल्लो समयमा सामूहिक र संस्थागत रूपमै बौद्धिक चोरी हुन थालेका छन्।

२०६८–७० बीचमा प्रकाशित नेपाली महिला साहित्यकारहरूको इतिहास सम्बन्धी कृतिहरू यसका ज्वलन्त उदाहरण हुन्। यो बौद्धिक चोरीको कथा रोचक छ।

नेपाल प्रज्ञा प्रतिष्ठानको आर्थिक सहयोगमा नेपाली महिला साहित्यकारहरूको इतिहास लेख्न २०६६ सालमा साहित्यिक संस्था गुञ्जनले प्रस्ताव राखेपछि लीला लुइटेल अध्ययन–अनुसन्धानमा जुटिन्। उनले सकिएका काम (प्रगति विवरण) पनि बेलाबेला बुझाउँदै गइन्।

नेपाली महिला साहित्यकार को 'फाइनल' पाण्डुलिपि भने २०६९ वैशाखमा बुझाएको लुइटेल बताउँछिन्, जसलाई गुञ्जनले त्यही वर्ष प्रकाशित गर्‍यो। “तर, त्यसअघि नै मेरो पाण्डुलिपिबाट चोरिएका पुस्तकहरू बजारमा आइसकेका थिए”, साहित्यकार लुइटेल भन्छिन्।

उनका अनुसार, २०६८ मा प्रकाशित लक्ष्मी उप्रेतीको नेपालका नारी कथाकारः प्रवृत्ति र प्रतिनिधि कथा र २०७० मा प्रज्ञा प्रतिष्ठान (सम्पादक डा. ज्ञानू पाण्डे) ले निकालेको नेपाली महिला कथाकार, भाग–२ (२०४० सालयताका) मा आफूले समय–समयमा गुञ्जनलाई बुझाएको पाण्डुलिपिको उतार आए।

उनले गुञ्जनलाई प्रगति विवरण बुझाउँदा पाण्डुलिपिको बीच–बीचमा विद्यालयकालका आफ्ना ३० जना साथीको नाम घुसाएकी थिइन्।

“फाइनल पाण्डुलिपिमा ती नाम सच्याएर दिएकीले मेरो किताबमा सत्य कुरा आयो”, लुइटेल भन्छिन्, “प्रज्ञा प्रतिष्ठान र पाण्डुलिपि चोर्नेहरूको किताबका लेखकमा चाहिं मेरा बाल्यकालका साथीहरूको नाम आयो।”

नेपालका नारी कथाकारः प्रवृत्ति र प्रतिनिधि कथा ले देउती पराजुलीको 'आघात सहने मुटु' (२०५५), पद्मा सिंहको 'धर्मराएका पाइलाहरू' (२०५४), लीला आचार्यको 'बीसौं शताब्दीकी द्रौपदी' (२०५८) र रत्नबाबा मल्लको 'विरह वेदना' (२०६०) कथा संग्रह प्रकाशित भएको बताउँछ।

त्यस्तै, डा. ज्ञानू पाण्डेले सम्पादन गरेको किताबले देउकी पराजुलीको 'आघात सहने मुटु' (२०६५) र रत्नबाबा मल्लको 'विरह वेदना' (२०६०) प्रकाशित भएको बताउँछ। यी नामहरू साहित्यकार लुइटेलका साथीका हुन्, जसले कहिल्यै पुस्तक लेखेनन्।

कोही अरूले थाहा पाउन्नन् भन्ने सोच प्रबल भएर जानीजानी त कोही अज्ञानतावश बौद्धिक चोरीमा फँस्छन्। 
प्रा.डा. चूडामणि बन्धु

आफ्नो किताब पहिला निस्केकाले लीला लुइटेलको बाट सारेको भन्न नमिल्ने उप्रेती बताउँछिन्। पात्र दोहोरिए पनि विश्लेषण फरक भएकोले चोरेको भन्न नमिल्ने डा. पाण्डेको दाबी छ। लुइटेलको अनुसन्धानमा समन्वय गरेकी गुञ्जन सदस्य गीता त्रिपाठी भन्छिन्, “दुरुपयोगको नियत नभए पनि काम गर्दै जाँदा अलिकति 'मिस्टेक' भएको हुन सक्छ।”

प्रभाव कि बदमासी?
अलिखित देखि कृष्ण धरावासीको गेस्टापो सम्म आइपुग्दा कहलिएका नेपाली लेखकहरूका 'मौलिक नेपाली कृति' अरूका सिर्जनासँग मिलेको अनेक आरोप लागेका छन्। अमर न्यौपानेको चर्चित उपन्यास सेतो धरती भारतीय निर्देशक दीपा मेहताको फिल्म 'वाटर' सँग मिलेको आरोप छ।

२०६१ सालको फिल्म 'वाटर' मा बनारसको आश्रममा बस्ने बालविधवाको कथा छ। फिल्ममा ६ वर्षकी चुइया ४१ वर्षे पुरुषसँग बिहे भएको अर्को साल विधवा हुन्छिन्। त्यसपछि आश्रममै बसेकी चुइया उमेर बढ्दै जाँदा सपनाको राजकुमारको रूपमा नारायणलाई सम्झिरहन्छिन्।

२०६९ सालमा प्रकाशित सेतो धरती मा बालविधवा ताराको कथा छ। ९ वर्षको उमेरमा विधवा भएपछि देवघाटमा आश्रममा बसेकी तारा जवान हुँदै जाँदा उनको मानसपटलमा गोपाल आइरहन्छन्।

२०६२ सालमा मिल्कवीड एडिसन्सले प्रकाशन गरेको पाकिस्तानकी बाप्सी सिध्वाको उपन्यास वाटर को आवरणमै लेखिएको छ– 'बेस्ड अन दि फिल्म बाई दीपा मेहता', तर सेतो धरती मा त्यस्तो स्वीकारोक्ति छैन। उपन्यासकार न्यौपाने एक महीना देवघाट बसेर लेखेको जोड दिंदै भन्छन्, “भारतमा कसैले रिक्सावाला वा मजदूरको कथा लेख्यो भन्दैमा यहाँ लेख्नुहुन्न भन्ने छैन।”

विना 'क्रेडिट' अर्काको वियषवस्तु, विचार, प्लट, भाव प्रयोग गर्नु पनि बौद्धिक चोरी हो। 
नगेन्द्रराज शर्मा, साहित्यकार

तर, दुई वटा कृतिको परिवेश मात्र नभई पात्र र उसको मनोदशा पनि ठ्याक्क मिल्नु संयोग मात्र हो या अरू केही? प्रा.डा. चूडामणि बन्धु मूल कृतिकारलाई 'क्रेडिट' नदिई गरिने अनुकरण, अनुसरण, प्रभाव सबै चोरीमा गनिने बताउँछन्।

उनका अनुसार, संयोगले मिल्न गएछ भने पनि पहिले सार्वजनिक भएकै कृति मौलिक मानिन्छ।

अनुकरण, अनुसरण, प्रभाव, शैली आदिलाई पनि मौलिक कृति झैं समाजमा पेश गर्ने र त्यसैको वाह्वाही हुने चलनले नेपाली साहित्यलाई खोक्रो बनाउँदै लगेको चिन्ता उनले व्यक्त गरे।

'फलानोबाट प्रभावित भएर लेखें' भनेको कृति पनि बेजोड हुन सक्ने बताउँदै वन्धु भन्छन्, “क्रेडिट नदिई गरिने बदमासीले कसैलाई साहित्यिक भएको फुईं लगाउने अवसर दिए पनि नेपाली साहित्यलाई खोक्रो बनाउने काम मात्र हुन्छ।”

लेखनाथ पौड्याल, गोपालप्रसाद रिमाल, विजय मल्ल, लक्ष्मीप्रसाद देवकोटा र बीपी कोइरालादेखि लैनसिंह बाङ्देलसम्म विश्व साहित्यमा उठेको वैचारिक तथा शैलीगत धारहरूबाट प्रभावित भएको मानिन्छ।

उनीहरूबाट नेपाली साहित्यले सम्बन्धित धार वा शैलीका बेजोड कृतिहरू पायो। साहित्यिक द्वैमासिक अभिव्यक्ति का सम्पादक नगेन्द्रराज शर्मा भन्छन्, “अहिले त प्रभाव होइन, सीधा नक्कल आउन थालेको छ।”

नेपाली साहित्यमा सम्मानित स्थान बनाइसकेका कृष्ण धरावासीको पछिल्लो उपन्यास गेस्टापो मा पनि अरूको सिर्जना सारेर आफ्नो बनाउने काम भएको आरोप छ, जसमा भारतीय इतिहासकार सत्यकेतु विद्यालंकारको यूरोप का आधुनिक इतिहास बाट हरफका हरफ सारिएको छ।

धरावासीले गेस्टापो को प्रस्टोक्ति खण्डमा उपन्यास लेख्ने क्रममा मिहिन पाराले यूरोपको इतिहास अध्ययन गरेको खुलाउँदै स्रोतसामग्रीको सूची समेत राखेर त्यसमा रहेको विद्यालंकारको किताबको पृष्ठ ३२ सारेका छन्।

एउटै विषयवस्तुमा उही सर्जकले हिजो, आज र भोलि गर्ने सिर्जना फरक हुन्छ। 
तुलसी दिवस, कवि

विद्यालंकारको यूरोप का आधुनिक इतिहास को पृष्ठ ३१ लाई धरावासीले गेस्टापो को पृष्ठ ३१ मै नेपालीकरण गरेका छन् भने क्रुसेडको प्रसंग (पृष्ठ ३६–३७) को भावानुवाद गरेका छन्। तर, धरावासी यसलाई प्रभाव, संयोग, बदमासी मान्दैनन्।

उनी भन्छन्, “ऐतिहासिक उपन्यास भएकोले इतिहासका तथ्यहरू ल्याएर 'पोस्टमोर्डन' शैलीमा राखेको छ, विद्यालंकारका वाक्यहरू जस्ताको त्यस्तै आएका छैनन्।”

किन चोरिन्छ?
प्रा.डा. चूडामणि बन्धु अरूको सिर्जना साह्रै मन परेर लोभ त्याग्नै नसकेपछि चोरीकर्म हुने बताउँछन्। उनका अनुसार, त्यसक्रममा कतिले हुबहु सार्छन् भने कतिपयले तलमाथि पारेर उतार्छन्।

अर्काको मौलिक सिर्जना चोर्नु र धनमाल उडाउनु एकै हो भन्दै बन्धु भन्छन्, “चोरीको प्रमाण पेश भइसक्दा पनि मौलिक हो भनेर जिद्दी गर्नु अझ खराब हो।”

भाषा सम्बन्धी जानकारी गराउने अमेरिकाको १५० वर्ष पुरानो मेरियम–वेब्स्टर डिक्सनरीका अनुसार, 'अरूका विचार वा अरूले लेखेका कुरा आफ्नो बनाएर प्रस्तुत गर्नु, स्रोत उद्धृत नगरी अर्काको कृति पूरै वा त्यसको अंश प्रयोग, अन्य स्रोतबाट लिइएका विचार वा उत्पादन नयाँ र मौलिक जस्तै गरी प्रस्तुत गर्नु तथा चोरी गर्नु र त्यसपछि होइन भनेर ढाँट्नु' 'प्लेजरिजम' हो।

प्रतिलिपि अधिकार सम्बन्धी अमेरिकी विज्ञ जोनाथन वेलीले त एक समयमा प्रकाशन/प्रसारण गरेको आफ्नै सामग्रीलाई अर्को समयमा सन्दर्भ नखुलाई प्रकाशन/प्रसारण गर्नुलाई पनि 'प्लेजरिजम' भनेका छन्।

२०२९ भदौमा 'प्लेजरिजम' को आरोप लागेपछि रूपरेखा पत्रिकामा दिएको जवाफमा प्रसिद्ध लेखक शंकर लामिछानेले लेखेका थिए– 'शङ्कर लामिछाने स्वयंलाई लेखक ठान्दैन। यस पाँच वर्षभित्र उसले चार, पाँचवटा विश्वको महान् इतिहास र लेखन शैलीसमेत चोरेको छ।'

साहित्यिक पत्रकार संघका अध्यक्ष समेत रहेका अभिव्यक्ति का सम्पादक नगेन्द्रराज शर्मा लामिछानेको त्यो स्वीकारोक्तिले 'शैली' पनि बौद्धिक चोरीमा पर्ने देखाएको बताउँछन्। उनी भन्छन्, “विना 'क्रेडिट' अर्काको वियषवस्तु, विचार, प्लट, भाव प्रयोग गर्नु पनि बौद्धिक चोरी हो।”

कवि तुलसी दिवस एउटै विषयवस्तुमा उही सर्जकले हिजो, आज र भोलि गर्ने सिर्जना फरक भयो भने मात्र त्यो मौलिक हुने बताउँछन्। त्यसो भए साहित्यमा किन चोरी हुन्छ त?

रूपरेखा मा कुमुदिनीको नामबाट छापिएको पाठकपत्रले चोरी समातेपछि शंकर लामिछानेले दिएको जवाफमा लेखेका छन्– 'यो उसले गर्नुपरेको कारण हो– उसको जागीर थिएन र उसलाई बाँच्नु थियो। तपाईंले एउटा मात्र पाउनुभयो, बाँच्नको निमित्त मैले त्यस्ता ५/६ वटा बदमासी गरेको छु।'

प्राज्ञिक क्षेत्रमा चोरीकर्म रोक्न नक्कली सर्टिफिकेट झै डिग्री पनि रद्द गर्नुपर्छ। 
प्रत्यूष वन्त, अनुसन्धाता

अभिव्यक्ति का सम्पादक शर्मा भने साहित्यिक चोरीलाई मनोरोग भन्छन्। त्यस्ताले आफूलाई मन परेको सिर्जना चोर्ने लोभ संवरण गर्नै नसक्ने उनी बताउँछन्। उनको विश्लेषणमा, राम्रो सर्जकमा दरिने अनियन्त्रित लोभले चोर्न बाध्य बनाउँछ।

प्रा.डा. वन्धु कमजोर लेखकलाई ख्याति कमाउने हुटहुटी र कतिपय स्थापित लेखकलाई चर्चामा आइरहने रहरले चोर्न बाध्य पार्ने बताउँछन्। उनी भन्छन्, “कोही अरूले थाहा पाउन्नन् भन्ने सोच प्रबल भएर जानीजानी त कोही अज्ञानतावश बौद्धिक चोरीमा फँसेका देखिन्छन्।”

चोरकै ठूलो स्वर
'आभाँ गार्देको सौन्दर्यशास्त्र' शीर्षकको लेख मौलिक नभएको खुलेपछि शंकर लामिछानेले आफ्नो कमजोरी स्वीकार्दै रूपरेखा को अर्को अंकमा लेखे– 'म शायद साहित्यिक क्षेत्रबाट सन्न्यास लिंदैछु र अब लेख्ने पनि छैन होला।' त्यसपछि तीन वर्ष मात्रै बाँचेका उनले लेेखेनन् पनि।

“गल्ती भएको खुला दिलले स्वीकारे, धेरै बाँचेको भए लेख्थे पनि होलान्”, लामिछानेसँग संगत गरेका अभिव्यक्ति का सम्पादक शर्मा भन्छन्, “अचेल त जो चोर, उसैको ठूलो स्वर हुन्छ।”

यसको एउटा उदाहरण अशोक सुवेदी हुन्, जसले दुई जनाको कीर्ति चोरेर आफ्ना पिताको नाममा छपाए। १९९१ सालमा प्रकाशित खण्डकाव्य श्री अंगद–रावण संवाद का कवि र प्रकाशक दुवै अनङ्गनाथ पौड्याल थिए।

त्यसको ७१ वर्षपछि २०६२ सालमा सुवेदीले आफ्ना बुवा हितप्रसाद उपाध्याय सुवेदीका नामबाट त्यही पुस्तकलाई अंगद रावण संवाद शीर्षक दिएर पुनःप्रकाशन गरे।

पुस्तकको नामबाट 'श्री' हटाएको बाहेक अरू सबै हुबहु सारिएको अंगद रावण संवाद को सम्पादक अशोक सुवेदी, प्रकाशक जुनामाया सुवेदी र भूमिका लेखक राजेन्द्र सुवेदी छन्।

यस विषयमा प्रगतिशील लेखक संघले २०७२ भदौमा गठन गरेको तीन सदस्यीय छानबीन समितिले १५ मंसीरमा बुझ्ाएको प्रतिवेदनको पहिलो बुँदामा भनिएको छ– 'अनङ्गनाथ पौड्यालद्वारा रचित श्री अङ्गद–रावण संवाद कृतिको नाममा सामान्य हेरफेर गरी अङ्गद रावण संवाद प्रकाशन गरिएको र उक्त कृतिमा श्री अङ्गद–रावण संवादको १३२ वटा श्लोक सारिएको पाइयो।'

त्यस्तै, दोस्रो बुँदा भन्छ– 'कवि लोकनाथ उपाध्याय पोखरेलद्वारा रचित लोक मञ्जरी (१९४४ साल) काव्य अन्तर्गत 'नलिकाण्ड' खण्डका श्लोकहरू हुबहु र केही सामान्य हेरफेर गरी हितप्रसाद सुवेदीको नाममा प्रकाशित अङ्गद रावण संवाद को फुटकर रचना खण्डमा समावेश गरिएको पाइयो।'

तर, यसमा लेखक संघको दुराग्रह रहेको सम्पादक सुवेदीको जिकिर छ। “बुवाले लेखेर राखेका रचनाहरू उहाँको स्वर्गारोहणपछि प्रकाशित गरेको हुँ” सुवेदी भन्छन्, “कसैले चोरेको दाबी गर्छ भने उसैको नाम राखिदिउँला।”

फौजदारी अपराध
२० वर्ष प्राध्यापन गरेका मिहिरकुमार ठाकुरले तीन वर्ष मिहिनेत गरेर २०५१ सालमा नेपाली संविधान र राजनीतिक–निर्णायक घटना र मोड प्रकाशित गरे, जसमा एकीकरणदेखि २०५१ सालसम्मका राजनीतिक घटनाक्रम समेटिएका छन्। २०५३ मा प्रकाशित दि किङ भर्सेज द पिपुल मा ठाकुरकै पुस्तकको अंग्रेजी अनुवाद आयो, जसका लेखक भेषजंग बादल लामिछाने हुन्।

ठाकुरले नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएपछि चलेको मुद्दामा जिल्ला अदालत, काठमाडौंले २४ चैत २०६३ मा लामिछानेलाई रु.५० हजार जरिवाना र रु.७ लाख क्षतिपूर्ति भराउने फैसला गर्‍यो।

त्यसविरुद्ध लामिछाने पुनरावेदन अदालत पुगे, फैसला पनि उनकै पक्षमा आयो, तर २०६६ मा सर्वोच्च अदालतले जिल्लाकै फैसला सदर गर्‍यो। लामिछाने रु.७ लाख क्षतिपूर्ति र ५० हजार जरिवाना तिर्न बाध्य भए।

त्यस्तै, म्याकमिलन इण्डिया लि.द्वारा प्रकाशित शिव खेराको यू क्यान विन को नेपालीमा अनधिकृत प्रकाशन गर्ने नेत्रप्रसाद पोखरेल, भगवती रिसाल, नारायणप्रसाद भुषाल र विष्णु सिलवाललाई काठमाडौं जिल्ला अदालतले २०६६ सालमा क्रमशः रु.१० हजार, रु.३० हजार, रु.२० हजार र रु.३० हजार जरिवाना तोक्यो।

प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार सजाय तोकिने बौद्धिक चोरीका मुद्दामा प्रहरी अनुसन्धान पछि जिल्ला सरकारी वकीलको कार्यालयमार्फत जिल्ला अदालतमा सरकारवादी फौजदारी मुद्दा दर्ता हुन्छ।

प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार राजेन्द्र सिग्देलका अनुसार रु.१० हजारदेखि रु.१ लाखसम्म जरिवाना वा ६ महीना कैद वा दुवै सजाय हुनसक्ने यस्तो उजुरी सीधै प्रहरीमा गर्दा पनि हुन्छ। यो कानूनी व्यवस्था पर्याप्त भने नभएको उनी बताउँछन्।

“यसमा प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले जिल्ला वन वा मालपोत कार्यालयहरूले जस्तो शुरूमा केही हदसम्म दण्ड सजाय गर्न सक्ने कानूनी व्यवस्था हुनुपर्छ”, रजिष्ट्रार सिग्देल भन्छन्, “जसबाट हामीले प्रहरीमा उजुरी पठाउने काममा सीमित हुन नपरोस्।”

विदेशमा बौद्धिक चोरी
लिस्टभर्स अनलाइनको १८ सेप्टेम्बर २०१४ को ‘टप टेन प्लेजिरिस्टस्’ सूचीमा बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयर र इराकका पूर्व राष्ट्रपति सद्दाम हुसेनदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसम्मको नाम छ ।

ब्लेयरको इराकसम्बन्धी १८ पृष्ठको डकुमेन्ट र हुसेनले राष्ट्रसंघमा पेश गरेको प्रतिवेदनमा बौद्धिक चोरी भएको उल्लेख छ । त्यस्तै, पुटिनले सेन्ट पिटर्सवर्ग स्टेट युनिभर्सिटीबाट १९९० मा विद्यावारिधि गर्दा बौद्धिक चोरी गरेको आरोप लागेको छ ।

‘इतिहासको सबभन्दा घटिया बौद्धिक चोरी’ नाम दिइएको लिस्टभर्स अनलाइन सूचीमा प्रसिद्ध स्कटिस लेखक जेम्स ए म्याकी पनि छन् । प्लेजरिजमको बात लाग्ने बित्तिकै म्याकीका ‘अलेक्जेन्डर ग्राह्म वेलः अ लाइफ’ (१९९७) र ‘आई ह्याव नट विगन टु फाइट’ (१९९९) गरी सात हजार पाँचसय पुस्तक प्रकाशक अट्लान्टिक प्रेसले नष्ट गरेको थियो ।

१९७६ मा प्रकाशित ‘रुट्स’ उपन्यासबाट पुलित्जर पुरस्कार जितेका अमेरिकी लेखक एलेक्स हेलीले हेरोेल्ड कारेन्डरको ‘द अफ्रिकन’ बाट चोरेको आरोप लागेपछि अदालतमा धाउनु पर्‍यो ।

विश्वका कवि/लेखकहरूले ‘प्लेजरिजम’ का लागि कठोर सजाय स्वीकारेका/भोगेका छन् । अठारौं शताब्दीका प्रतिष्ठित स्कटिस कवि विलम लाउडरले बौद्धिक चोरीको बात लागेपछि लेख्न मात्र होइन, स्कटल्याण्ड नै छोडे ।

१७७१ मा वेस्टइन्डिजमा मजदूरी गरिरहेका बेला उनको मृत्यु भयो । चार्ल्स डार्विनका प्रतिस्पर्धी जीव वैज्ञानिक रिचार्ड ओन बौद्धिक चोरीको आरोप लागेपछि ‘रोयल जुलोजिकल सोसाइटी’ बाट निकालिएका थिए ।

पत्रकारितामा बौद्धिक चोरीको बात लागेकाहरूले तत्कालै सजाय पाएका छन् । द बोस्टन ग्लोब का माइक बेर्निकलले लेखमा बौद्धिक चोरीको आरोप लागेपछि १९९८ मा राजीनामा दिनुपर्‍यो भने २००३ मा द न्यूयोर्क टाइम्स ले आफ्ना रिपोर्टर जेसन विलियरलाई बर्खास्त गरेर प्रमुख पृष्ठमै बौद्धिक चोरी सम्बन्धी प्रष्टीकरण छाप्यो ।

२०१२ मा न्यू योर्कर मा छापिएको आलेखमा केही लाइन आफ्नै पुराना लेखहरूबाट सारेकोमा जोन लेररले राजीनामा दिनुपर्‍यो ।

त्यही साल न्यू योर्कर मा लेखेको लेखको एक अनुच्छेद टाइम म्यागजिन को स्तम्भमा उतारेको भेटिएपछि फरिद जकारिया टाइम र सीएनएनबाट एक साताका लागि निलम्बन गरिए । पछि न्यूयोर्क टाइम्स सँगको अन्तर्वार्तामा जकारियाले आफूबाट ‘भयानक गल्ती’ भएको बताए ।

बौद्धिक चोरीसम्बन्धी पोलिटीको म्यागजिनले २३ जुलाई २०१४ मा अनलाइन संस्करणमा राखेको ‘टेन हाइ–प्रोफाइल प्लेजरिज्म केसेज’ मा परेपछि डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपति बाराक ओबामासँगै दुई कार्यकाल उपराष्ट्रपति रहेका अमेरिकी पूर्व उपराष्ट्रपति जोय वाइडेनले राष्ट्रपतिको चुनावी दौडबाट बाहिरिनुपर्‍यो ।

उनीमाथि रोबर्ट केनडी, जोन एफ केनेडी र हबर्ट हम्फेरीको भाषण चोरेको आरोप लागेको थियो । २०१६ मा रिपब्लिकन पार्टी अध्यक्षका रुपमा हेरिएका रेन्ड पलले पनि २०१२ मा प्रकाशित पुस्तक ‘गभर्मेन्ट बुल्लिज’ र २०१३ को एक भाषणमा बौद्धिक चोरी गरिएको भेटिएपछि प्रतिस्पर्धा गर्नै पाएनन् । प्रकाशक हेरिटेज फाउण्डेसन र क्याटो इन्ष्टिच्यूटले उनका पुस्तकहरू बजारबाट फिर्ता लियो ।

प्रतिकृया दिनुहोस