मानसिक स्वास्थ्य नीति तयार
स्वास्थ्य मन्त्रालयले रााष्ट्रिय मानसिक स्वास्थ्य नीति–२०५३ लाई परिमार्जन गरेर नयाँ ‘राष्ट्रिय मानसिक स्वास्थ्य नीति–२०७३’ तयार गरेको छ ।
विश्व स्वास्थ्य दिवसको अवसर पारेर मन्त्रालयले मानसिक स्वास्थ्यको नीतिलाई परिमार्जन गरेर ‘रााष्ट्रिय मानसिक स्वास्थ्य नीति–२०७३’ नीति तयार पारेको स्वास्थ्यमन्त्री गगन थापाले बताएका छन् । मन्त्री थापाले उक्त नीति कानून र महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयको राय लिएर छिट्टै मन्त्रीपरिषद् बैठकमा पेश गरिने बताएका छन् ।
२०५३ सालको मानसिक स्वास्थ्य नीति पुरानो भएकाले संघिय संरचना अनुसारको मानसिक स्वास्थ्यको नयाँ नीति तयार पारिएको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका मानसिक रोग विभाग प्रमुख प्रा.डा.सरोजप्रसाद वझाले हिमालखबरलाई बताए ।
मन्त्रालयले सबै नागरिकको मानसिक स्वास्थ्य तथा मनोसामानिक सुस्वास्थ्यको सुनिश्चितता गरि उत्पादनशिल र गुणस्तरीय जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले नयाँ नीति तयार पारेको जनाएको छ ।
यसमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सेवा प्रवाह गर्नका लागि आवश्यक जनशक्ति तयार पार्ने, मानसिक स्वास्थ्य प्रवद्र्धनका लागि जनचेतना अभिबृद्धि गर्ने, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको आधारभूत मानव अधिकारको संरक्षण गर्ने लगायतका विषय समावेश गरिएको छ ।
नयाँ मानसिक स्वास्थ्य नीति कार्यान्वयनमा आएपछि अहिले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकलाई नै मानसिक स्वास्थ्यसम्बन्धीे तालीम दिएर मानसिक स्वास्थ्य सेवालाई विकेन्द्रीकरण गर्न मद्दत्त पुग्ने डा.वझाले बताए ।
नेपालमा ५० लाख मानिस मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको बिभिन्न अध्ययनहरुले देखाएको छ । ती मध्ये ९ लाख डिप्रेसनबाट पीडित रहेका छन् ।