टिप्पणीशुक्रवार, चैत्र २५, २०७३

परम्परामा सीमित बज्रयान

वसन्त महर्जन

संगायन परम्परालाई विश्व बौद्ध समाजको उदाहरणीय अभ्यास भनी अर्थ्याउन सकिन्छ।

बसन्तपुर दरबार स्क्वायरमा भएको विशेष भेला। तस्वीरहरुः बसन्त महर्जन

चैतको दोस्रो साता कृष्णाष्टमी र नवमीका दिन स्वयम्भू र हनुमानढोकाभित्र कान्तिपुरका बज्राचार्यहरूको विशेष भेला भयो। चूडाकर्म गरी बज्राभिषेक पाएका काठमाडौंभित्र पनि प्राचीन कान्तिपुर क्षेत्रका बज्राचार्यहरूको देश आचार्य गुठी (देय् आचाःगू) को यस्तो भेलाको परम्परा ८०० वर्ष पुरानो रहेको मानिन्छ।

यसको ऐतिहासिकता र उपादेयतामा यथोचित ध्यान नपुग्दा अन्य गुठी–पर्वको रूपमा बुझ्न थालेको पाइन्छ। यो परम्परालाई प्रारम्भिक बौद्ध इतिहाससँग सामञ्जस्य गरेर हेर्दा बौद्ध संगायनको जीवित परम्परा देख्न र विश्व बौद्ध समाजका लागि उदाहरणीय अभ्यास भनी अर्थ्याउन सकिन्छ। 

संगायन परम्परा
इ.पू. ४८३ मा गौतम बुद्धको महापरिनिर्वाणपछि अनुशासनमा बस्नु नपर्ने भयो भनी खुशी हुने भिक्षुहरूका कारण धर्ममा विकृति आउने चिन्ता व्याप्त भयो।

त्यो अवस्था आउन नदिन भिक्षु महाकाश्यपको अगुवाइ र मगध सम्राट अजातशत्रुको संरक्षणमा तीन महीनापछि राजगृहको वेभार पर्वतको सप्तपर्णी गुफामा प्रथम धर्म संगायन भयो। बौद्ध इतिहासमा कोसेढुंगा सावित भएको उक्त संगायनमा मुख्यतः बुद्धका धर्म उपदेशहरू संकलन गरिए।

त्यसको १०० वर्षपछि दोस्रो, सम्राट अशोकको संरक्षकत्वमा पाटलीपुत्रमा इ.पू. २५० मा तेस्रो, कुषाण वंशीय राजा कनिष्कको संरक्षकत्वमा कश्मीरमा इ. १०० को आसपासमा चौथो र त्यसपछि क्रमशः श्रीलंका र बर्मामा भएका संगायनहरू बौद्ध इतिहासमा उल्लेख्य छन्।

सम्बन्धित व्यक्तिहरूको छलफलबाट मत्यैक्यता बनाउने काम संगायन हो। तर, अचेल यो पूजा र दान–दक्षिणामा सीमित हुन पुगेको देखिन्छ, छलफल परम्परा टुटेको छ।

काठमाडौं उपत्यकामा बज्रयान बौद्ध धर्मको अभ्यास शुरू हुँदा सबै बज्रयानी बौद्धहरू एकै छातामुनि आबद्ध रहेको बुझिन्छ। समाजलाई सुदृढ पार्न त्यही छाता संगठनमा आवद्ध भई वर्षमा एकपटक भेला वा संगायन गर्ने गरेको देखिन्छ। कालान्तरमा कान्तिपुर र भक्तपुर क्षेत्रको छुट्टै गुठी बन्यो।

काठमाडौंमा हुने दुईदिने भेलाको समदृश्य भक्तपुरमा अरू नै कुनै दिन पारेर एकै दिनमा सम्पन्न गरेको पाइन्छ। काठमाडौं र भक्तपुरमा छुट्टाछुट्टै विहारमा गरिने यस्तो भेला ललितपुरमा पनि हुने गरेको पाइन्छ। यसले बुझाउने कुरा हो– काठमाडौं उपत्यकाका सबै बज्रयानी बौद्ध एकै परम्पराबाट हुर्केका हुन्।

काठमाडौंभित्रको कान्तिपुरलाई क्षेत्रगत रूपमा चार इलाका (पुइँ) मा विभाजन गरिएको छ– थथुपुइँ, दथुपुइँ, लायकूपुइँ र क्वथुपुइँ। ठमेलदेखि असनको ढुंगे माछासम्मका चारवटा विहार क्वाःबहाल, झ्वाःबहाल, ध्वाखाबहाल र गंबहाल थथुपुइँ अन्तर्गत पर्छन्।

त्यहाँबाट दक्षिण हनुमानढोकासम्मको दथुपुइँमा सातवटा विहार (तक्षबहाल, जनबहाल, इतुंबहाल, मूबहाल, सबलबहाल, टेबहाल, मखनबहाल) पर्छन् भने हनुमानढोका क्षेत्रको लायकूपुइँमा एउटा मात्र विहार सिंखोमूबहाल छ।

क्वथुपुइँअन्तर्गत ओमबहाल, मिखाबहाल, इकुबहाल, लगंबहाल, मुसुंबहाल (बाह्रवर्षे इनार) र मुसुंबहाल (बाहिर) समेत गरी अठार विहार छन्। यी विहारअन्तर्गतका स्वयम्भू र हनुमानढोकामा सम्पन्न बज्राचार्यहरूको भेलालाई वार्षिक साधारण भेलाको रूपमा मात्र नभई धर्म संगायनका रूपमा बुझनुपर्छ, झ्ट्ट हेर्दा दान प्रदान मुख्य रहेको देखिए पनि।

स्वयम्भूमा भएको विशेष भेला।

परम्परा धान्दै, इतिहास बिर्संदै 
अठार विहारमध्येको थकाली अर्थात् मूल चक्रेश्वरले मूलाचार्य भई स्वयम्भू धर्मधातु वागीश्वरसमक्ष शान्तिपुरमा चर्या गायनसहित विशेष पूजा गर्छन्।

दोस्रो दिन एक विशिष्ट बज्राचार्य बज्रसत्व बनेर विशेष चर्यानृत्य गर्छन्। यी दुवै अनुष्ठानलाई आभ्यान्तरिक पूजा अन्तर्गत राखिएको छ, बज्राभिषेक लिएका बाहेक अरूले हेर्न मिल्दैन। 

काठमाडौं उपत्यकामा अभ्यास हुने बज्रयानी बौद्ध धर्म विश्व बौद्ध डबलीमा नेपालको विशिष्ट पहिचान हो। तिब्बतलगायतका क्षेत्रमा बज्रयानी बौद्ध अभ्यास हुने गरे पनि काठमाडौंको विशिष्ट हुनाको कारण खोतल्नु बाँकी नै छ।

काठमाडौंमा पनि यो नेवार समुदायमा सीमित भएका कारण कतिपय पश्चिमा अध्येताहरू यसलाई 'नेवार बौद्ध धर्म' भन्न रुचाउँछन्। यस बाहेक नेपालमा प्रचलित बौद्ध धर्मका अन्य अभ्यास वा पद्धतिले अन्य भूक्षेत्रको पहिचान बोक्छ, नेपालको होइन।

काठमाडौंको बज्रयान बौद्ध धर्म बज्राचार्यहरूमा मात्रै सीमित नभएर समस्त परम्परागत बौद्ध समुदायसँग सम्बन्धित भएका कारण यो सार्वजनिक चासोको विषय हो। यसको विगतको विशिष्टताले निरन्तरता पाएको देखिन्न।

धर्मदर्शन सम्बन्धी अध्ययन–अनुसन्धान चिन्तनमनन र अभ्यास त परको कुरा, यजमानहरूको सामान्य पूजामा पनि समस्या आइसकेको देखिन्छ।

बज्रयानी पुरोहितको ठाउँ अरूले लिनु भनेको वर्चश्व गुमाउँदै जानु हो। स्वयं बज्राचार्यहरू वर्षमा एक पटक भेला हुन पनि उदासीन देखिनु कम चिन्ताको कुरा होइन।

उनीहरू आफू उपस्थित नभई परम्परा धान्न निमन्त्रणापत्र अरूको हात पठाई दान थाप्छन्। विदेशमा रहेका वा नभ्याएका १०–१२ बज्राचार्यको निमन्त्रणापत्र एकै जनाले बोकेर आएको देख्न पाइन्छ। त्यसकारण, संगायनको अर्थ मनन गरेर छलफल गर्न र योजनाहरू बनाउन ढिलो भइसकेको छ।

युवा बज्राचार्यहरू 'भेला परिमार्जन गर्न र नयाँ ढंगमा जान' विभिन्न शैक्षिक उपाधि हासिल गरेकाहरूलाई सम्मानपत्र वितरण कार्यक्रम गर्न खोज्दैछन्, जसलाई अन्य सन्दर्भमा देखिने सामाजिक कार्यको प्रभाव भन्न सकिन्छ।

अघि–पछि गर्दा पनि हुने यस्ता सामाजिक कार्यहरूले संगायन गरिमा बोक्न सक्तैन। त्यो भनेको धार्मिक–सांस्कृतिक विचलन हो।

प्रतिकृया दिनुहोस