मुस्ताङका रैथाने वनस्पति
- कमल मादेन
अद्भुत प्राकृतिक सौन्दर्यले भरिएको हिमाली जिल्ला मुस्ताङमा संसारमै नपाइने वनस्पति पाइन्छन् भन्ने कुरा कमैलाई मात्र थाहा छ।
नेपाल बाहेक अन्यत्र कतै नपाइने रैथाने वनस्पतिका प्रजाति हिमाली जिल्ला मुस्ताङमा प्रशस्तै पाइन्छन्। हालै यस्तै एउटा प्रजाति पत्ता लागेको छ– पोवा मुक्तिनाथेन्सिस्।
वरिष्ठ वनस्पतिविद् केशवराज राजभण्डारीले पत्ता लगाएको यो प्रजातिलाई लामो अनुसन्धानपश्चात 'जर्नल अफ जापानिज बोटानी, २०१६' संस्करणमा नेपालको रैथाने घोषित गरिएको हो।
अनुसन्धानहरूले नेपालमा अहिलेसम्म भेटिएका ३२४ वनस्पतिका प्रजातिमध्ये ३४ प्रजाति मुस्ताङमा पाइएको उल्लेख गरेका छन्। ती वनस्पति संसारकै अमूल्य निधि हुन्, प्रकृतिको अनुपम सिर्जना हुन्, घाँस र बुट्यान मात्र होइनन्। यी वनस्पति मुस्ताङमा नाश भए, फेरि प्रकृतिमा कहिल्यै पाउन सकिन्न।
गैरवनस्पतिविद्को खोज
मुस्ताङमा सन् १९२८–३० तिर नेपाली सेनाका मेजर लालध्वज सुनुवारको नेतृत्वमा वनस्पति संकलन गरिएको देखिन्छ। उनले संकलन गरेका वनस्पतिका नमूना सोझै बेलायत नै पठाइने गरेबाट पनि यसको पुष्टि हुन्छ।
उनी सेनाकै टुकडी लिएर मुस्ताङ पुगेको प्रमाण भने पाइएको छैन। वनस्पति संकलनकै क्रममा सन् १९३१ मा मुक्तिनाथमा उनको मृत्यु भएको बताइन्छ।
मेजर सुनुवारलाई वनस्पति संकलनका लागि बेलायत सरकारको आग्रहमा राणा प्रधानमन्त्री चन्द्रशमशेरले खटाएको बुझिन्छ। यसक्रममा उनी कहाँ, कहाँ गए, के कति वनस्पति संकलन गरे भन्ने बारेमा पनि अन्योल छ।
तर, उनले संकलन गरेका वनस्पतिका प्रजाति वैज्ञानिक जगतका निम्ति अक्सर नयाँ सावित हुन्थे। संसारका वैज्ञानिकहरूलाई त्यस्ता वनस्पति पनि संसारमा छन् भन्ने थाहै थिएन।
अनुसन्धानपछि हरेक नयाँ वनस्पतिलाई वैज्ञानिक नाम दिइन्छ। यस्तो नाम दुई शब्दको हुन्छ। पहिलो शब्दले समूह र पछिल्लोले उक्त समूहको नयाँ पत्ता लागेको प्रजाति जनाउँछ।
सुनुवारले मुस्ताङबाट संकलन गरेका दर्जनौं प्रजातिमध्ये ६ प्रजाति सौसुरिया ध्वोजी, एकोनिटम ध्वोजी, कोलुटिया मल्टिफ्लोरा, एकोनिटम भेडिङ्गेसिस् र सिनोकारम नोर्मानिएनम् अहिलेसम्म नेपालबाहेक अन्यत्र पाइएका छैनन्।
तीमध्ये पहिलो र दोस्रो प्रजातिको नाम त सुनुवारकै सम्मानमा राखिएको हो। त्यसो त लालध्वजिया नामक समूह/जिनसले पनि उनलाई नै याद दिलाउँछ।
लालध्वोजिया स्टेनटोनी र लालध्वजिया पास्टिनासिफोलिया नेपालकै रैथाने वनस्पति प्रजाति हुन्। लालध्वजले दोलखाबाट संकलन गरेको अर्को एक नमूना प्रजाति मेकोनोप्सिस् ध्वोजी पनि संसारकै लागि नयाँ थियो।
मेजर सुनुवारको निधनपछि संकलित वनस्पति बेलायत पठाउने जिम्मा खडानन्द शर्माले पाए, त्यसो त सुनुवारकै टोलीमा शर्मा पनि सहभागी थिए भन्ने अनुमान पनि गरिएको छ।
शर्माले अगष्ट १९३१ मा संकलन गरेको इयुफ्रासिया नेपालेन्सिस् नामक प्रजाति बेलायतस्थित नेचुरल हिष्ट्री म्युजियममा संग्रहित छ। संकलन स्थानको नाम भने छैन, मध्य नेपाल मात्र लेखिएको छ।
शर्माले जून–अगष्ट १९३१ मा मुक्तिनाथबाट संकलन गरेको बीउबाट उमारिएको वनस्पतिलाई 'प्रिमुला शर्मी' नाम दिइएको छ। त्यो प्रजातिको तस्वीरलाई सरकारले सन् २००५ मा दश रुपैयाँको हुलाक टिकटमा छापेको थियो। दुवै वनस्पति रैथाने हुन्।
यीसहित शर्माले मुस्ताङबाट संकलन गरेको सायनान्थस हायनसु र प्रिमुला विग्रामिबना पनि रैथाने नै हुन्। वनस्पतिमा जीवित भए पनि शर्माको पुर्खा र परिवारबारे थप जानकारी पाइएको छैन।
तर, रोचक कुरा चाहिं के हो भने वनस्पति संकलनका लागि सरकारबाट खटाइएका सुनुवार र शर्मा वनस्पतिशास्त्रका विद्यार्थीसम्म पनि थिएनन्।
सुनुवार र शर्मापछि मुस्ताङका वनस्पति संकलन गर्ने व्यक्ति हुन्, बेलायतका जेडिए स्टेनटन। स्टेनटन, डब्लुआर साइकस् र एलएचजे विलिमको टोलीले सन् १९५४ को अगष्टदेखि अक्टोबरसम्म वनस्पति संकलन गरेका थिए।
उनीहरूको अभियानलाई ब्रिटिश म्युजियम र रोयल हर्टिकल्चर सोसाइटीले प्रायोजन गरेको थियो। डा. केशवराज राजभण्डारीका अनुसार, बेलायती अभियानले नेपालभरबाट विश्वका लागि ३९ नयाँ प्रजाति पत्ता लगाएको थियो, जसमध्ये दुई दर्जन जति मुस्ताङमै संकलन गरिएको हो।
स्टेनटन मुस्ताङ पुग्नु दुई वर्षअघि मात्र सन् १९५२ मा नेपालको एक रैथाने गुराँस रोडोडेन्ड्रन ल्वोन्डेसी मनाङमा भेटिएको जानकारी पहिलोपटक सार्वजनिक भएको थियो।
स्टेनटनले उक्त गुराँसको बीउ बेलायत पुर्याए। अहिले बेलायतका विभिन्न उद्यानमा त्यही बीउबाट गुराँस फुलेको छ।
स्टेनटन पनि वनस्पतिविद् थिएनन् तर उनी वनस्पति संकलनका लागि निरन्तर १० पटकसम्म नेपाल आए। १९७२ मा फरेष्ट्स अफ नेपाल पुस्तक नै निकाले। संयोगले स्टेनटन पनि वनस्पतिविद् नभई कानूनविद् थिए।
टोकियो विश्वविद्यालयका प्रा. हिडेकी ओह्बाको नेतृत्वमा सम्पादित फ्लोरा अफ मुस्ताङ, नेपाल पुस्तकमा मुस्ताङमा अहिलेसम्म ८८९ वनस्पतिका प्रजाति पाइएको उल्लेख छ।
तीमध्ये 'आर्टेमिसिया मुस्ताङगेन्सिस्', 'मिक्रोउला मुस्ताङगेन्सिस्', 'जन्कस मुस्ताङगेन्सिस्' र 'पोवा मुस्ताङगेन्सिस्' मुस्ताङको सम्झ्नामा नामकरण गरिएका प्रजाति हुन्। पोवा मुस्ताङगेन्सियावाहेक सबै रैथाने हुन्।
'आर्टेमिसिया मुस्ताङगेन्सिस्' प्रजाति मुस्ताङको मार्फा–स्याङ, ओम्माङ–मार्फा, टुकुचे–जोमसोम, छुसाङ–समारमा मात्र पाइन्छ। उक्त वनस्पतिको नमूना गोदावरीस्थित राष्ट्रिय हर्बोरियम तथा वनस्पति प्रयोगशालामा संग्रहित छ।
'मिक्रोउला मुस्ताङगेन्सिस्' मुस्ताङको थान्टी घुमी नजीक लेथाक खर्कबाट अहिलेसम्म दुई पटक संकलन गरिएको अभिलेख छ। तर, यसको नमूना, नेपालमा होइन, टोकियो विश्वविद्यालयमा छ।
'जन्कस मुस्ताङगेन्सिस्' तल्लो मुस्ताङको साग्दा ला र फल्याकबाट संकलन गरिएको हो। उक्त प्रजातिको नमूना पनि नेपालमा छैन। टोकियो विश्वविद्यालयमा मात्र संग्रहित छ।
'पोवा मुस्ताङगेन्सिस्' तल्लो मुस्ताङको थोरुङ फेदीबाट पहिलो पटक डा. केशवराज राजभण्डारीले सन् १९८३ मा संकलन गरेका थिए। उक्त प्रजाति अहिले नेपालसहित भूटान, भारतका सिक्किम र उत्तराखण्डमा पनि पाइएको अभिलेख छ।
उताको 'मुस्ताङ'
त्यसो त मुस्ताङ शब्दसँग मिल्दो वनस्पति पहिल्याउँदै जाँदा 'भाइटिज मुस्ताङगेन्सिस्' पनि भेटिन्छ। अङ्गुरको एक प्रजाति यो वनस्पति नेपालको होइन, अमेरिकी हो। 'मुस्ताङ अङ्गुर' बाट बनेको 'मुस्ताङ रेड वाइन' पनि विश्वमा चर्चित छ।
प्रसिद्ध फोर्ड कम्पनीले मुस्ताङ कार पनि उत्पादन गर्छ। नेपालमा हुलास मोटर प्राइभेट लिमिटेडले उत्पादन गरेको हुलास मुस्ताङ गाडी पनि त्यसैको नक्कलमा नामकरण गरिएको अनुमान गर्न सकिन्छ।
त्यसो त अमेरिकाको मुस्ताङ घोडा पनि चर्चित छ। यता नेपालमा पनि उतैबाट मुस्ताङ घोडा आयात हुन्छ। तर त्यो घोडा सोह्रौं शताब्दीमा स्पेनबाट लगिएको जंगली घोडाका वंशज भएको बताइन्छ। मुस्ताङ नाम पनि स्पेनिस भाषाको मेस्टेन्गो र मोस्ट्रेन्कोबाट बनेको देखिन्छ।
सुस्त अनुसन्धान
वन मन्त्रालय अन्तर्गतको वनस्पति विभागले सन् १९६१ यता ललितपुरको गोदावरीस्थित राष्ट्रिय वनस्पति उद्यानमा वनस्पतिको नमूना संग्रह गर्दै आएको छ।
उद्यानमा कुल १ लाख ६० हजार वनस्पतिका नमूना राखिएको छ, जसमा फूल फुल्ने वनस्पतिका करीब ४५ सय प्रजाति छन्। तर, अहिलेसम्म नेपालका रैथाने वनस्पतिका ८७ प्रजातिका नमूना मात्र उद्यानमा छन्।
त्यसैले, सर्वसाधारण त परै जाओस्, अधिकांश वनस्पतिविद्लाई समेत देशका रैथाने प्रजातिका प्रकृतिबारे अत्तोपत्तो छैन। एक समयमा रैथाने अहिले विनाश भइसके वा फैलिएका छन् भन्ने थप अध्ययन पनि हुनसकेको छैन।
यो विडम्बनालाई अवसरका रूपमा बदल्न सके वनस्पति अनुसन्धानले नयाँ गति लिने पक्का छ।
(मादेन वनस्पतिविद् हुन्।)