कांग्रेसको निर्वाचन तयारी: स्थानीय तहमा छुट्टै घोषणापत्रदेखि देशव्यापी आमसभा
नेपाली कांग्रेसले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएर अगाडि बढ्ने जनाएको छ ।
कांग्रेसले स्थानीय पूर्वाधार, कृषि, वातावरण, पानी, माटो, सिँचाइ, सडक निर्माणका साथै दैनिक जीविकोपार्जनका विषयमा योजना लिएर स्थानीय तहमा जाने बताएको छ ।
प्राकृतिक स्रोत साधनको संरक्षणमा स्थानीय जनताको सहभागिता, स्वामित्व र अनुगमनले मात्र विकास सम्भव हुने हुँदा यस्ता विषयलाई प्राथमिकता साथ घोषणा पत्रमा समेट्न लागेको कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेसले सम्बन्धित समितिलाई ७ वैशाखभित्र उम्मेदवार चयन गरिसक्न निर्देशन दिएको छ ।
स्थानीय तहमा छुट्टै घोषणापत्र
नेपाली कांग्रेसले चैत मसान्तभित्र घोषणापत्रको प्रारम्भिक मस्यौदा तयार गर्ने भएको छ । घोषणा पत्रमा छलफलका लागि २५ चैतमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकसमेत बोलाएको छ । त्यस्तै केन्द्रको घोषणा पत्रलाई आधार बनाएर स्थानीय तहको आवश्यकता अनुसार छुट्टै घोषणापत्र बनाउने तयारी थालेको छ ।
देशव्यापी आमसभा
कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारका लागि सात प्रदेशमा आमसभा गर्ने निर्णय गरेको छ ।
कार्यक्रम अनुसार कैलालीमा २७ चैतमा, दाङमा २८ चैतमा, रुपन्देहीमा २९ चैतमा, पोखरामा ३० चैतमा, जनकपुरमा ३१ चैतमा र झापामा २ वैशाखमा आमसभा गर्ने तयारी गरेको छ । साथै ७४४ स्थानीय तहमै प्रचारप्रसार समिति गठन गर्न तयारी थालेको छ ।