राप्रपाको स्थानीय तह निर्वाचन निर्देशिका
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनमा देशभर प्रचारप्रसारका लागि कार्यक्रम सञ्चालन निर्देशिका तयार गरेको छ ।
स्थानीय तह निर्वाचन तयारी कार्ययोजना रहेको निर्देशिकामा पार्टी सङ्गठनलाई सुदृढ तुल्याउन विभिन्न तहका कार्यकर्तालाई परिचालन गर्नेबारेमा उल्लेख गरिएको छ ।
सर्वसाधारण जनता र राप्रपाबीचको सम्बन्धलाई निकट र आत्मीय तुल्याउनका लागि निर्देशिका प्रकाशन गरिएको नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार निर्देशिकाले पार्टीको एजेण्डाप्रति आमजनतामा सकारात्मक भावना बढाउन सहयोग पुर्याउने छ ।
निर्देशिका अनुसार घरदैलो कार्यक्रममा सबै वडा, गाउँ, नगरका घरघर पार्टीका कार्यकर्ता पुग्ने छन् ।
महिला जागरण कार्यक्रमअन्तर्गत पार्टी निकट महिला सङ्गठनले महिला अधिकारबारे देशैभर छलफल गराउनेछ । विद्यार्थी सङ्गठनले युवा, विद्यार्थी उत्सवका रूपमा हाजिरी जवाफ, खेलकुद, सांस्कृतिक कार्यक्रम गरिनेछ ।
पार्टीको सन्देश नामक पर्चा तथा प्रसार सामग्री केन्द्रले पठाउने तथा अन्य प्रचार सामग्री जिल्लाले आफैँ तयार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।
कृष्णराज गौतम, रासस