ब्लगबुधवार, चैत्र २३, २०७३

सपनामा बरालिने कि पाइला चाल्ने ?

कनक दीक्षित

कतिपय 'टाइटल' आफूले आफैंलाई कहलाउनु हुँदैन। 'म बौद्धिक' अथवा 'म विद्वान' भन्नु, तत्व नभएर सारमा मात्र ध्यान पुग्ने व्यक्तिको अभिव्यक्ति हुन्छ। 'उहाँ/तपाईं बौद्धिक हुनुहुन्छ' भन्नु र 'म बौद्धिक हुँ' भन्नुमा कालो–सेतोको फरक छ।

यस्तै को, कहिले 'राजनीतिज्ञ' हुन्छन् भन्ने हो। आजसम्म परामर्शदाता, जागीरे या प्राध्यापक भएकाले नयाँ राजनीतिक दलको सदस्यता लिनासाथ आफ्नो फेसबूक प्रोफाइलमा 'पोलिटिशन्' स्वघोषित गर्नु उपयुक्त होइन कि?

घोषणा गर्दैमा केही हुँदैन, न निजी न सार्वजनिक जीवनमा। नयाँ राजनीतिक दलकालाई आइडियोलोजी चाहियो नत्र भए कसरी दल भयो भनी सोध्यो, जवाफ आउँछ; 'छ नि त आइडियोलोजी, हाम्रो धार हो लोकतान्त्रिक समाजवाद।'

तर त्यति भनेर पुगेन। उक्त राजनीतिक दर्शनको आडमा आजका जल्दाबल्दा विषयहरूमा के हो त आफ्नो अडान पनि खुलाउनु पर्‍यो, दर्शनको नाम मात्र घोषणा गरेर पुग्दैन।

विवेकशील पार्टी या नवआगन्तुक साझा पार्टीकै कुरा गरौं। राजनीतिक दल खोल्ने, तर मूल मुद्दामा मुख नखोली बस्नु भएन। आजको अन्योलग्रस्त राजनीतिक वातावरणलाई चिर्न नयाँ दलले मैदानमा उत्रँदा वर्तमानका महत्वपूर्ण मुद्दामा आफ्नो अडान अगाडि ल्याउनुपर्ने हो :

–गत वर्षको नाकाबन्दी 'भारतीय' थियो कि थिएन?

–माओवादीले 'जनयुद्ध' घोषणा गर्नु ठीक थियो कि बेठीक?

–गंगामाया अधिकारीको न्यायको संघर्ष र अनशन जायज कि नाजायज?

–संविधान संशोधनपश्चात् मात्र स्थानीय निर्वाचनमा जाने कुरा उचित हो?

–राजनीतिमा धर्म छिराउने खेलबारे के छ राय?

नारै नारा
वास्तवमा नाराले नै सिध्यायो हामीलाई। राजा महेन्द्रको समयमा 'हरियो वन, नेपालको धन' अगाडि ल्याइँदै गर्दा तराईका घना जंगल मास्ने काम हुँदैथियो। आज कतिपय अगुवा नागरिकहरूको नारा रहेको छ, 'सकारात्मक सोच!' उहाँहरूको भनाइ छ, निजी र सार्वजनिक जीवनमा स्वच्छ विचार र उदार भावना राखे मात्र पनि समाज अगाडि बढ्छ।

'सकारात्मक सोच' राख्छु/राख्नुस् भन्दैमा कसरी समाज अगाडि बढ्छ मैले बुझेको छैन। सकारात्मक सोच भनेको जबरजस्ती मनलाई मीठा, गुलिया, नबिझ्ने विचारको भारी बोकाउनु हो, जबकि मन बाहिरको संसार त आफ्नै गतिले चलेको हुन्छ तीता, मीठा, अमिला, टर्रा स्वादसहित।

सबै राम्रा, ज्ञानी, सहृदयी हुन्छन् ठान्नु एउटा कुरा, र सकारात्मक सोचवालाले यही पूर्वानुमान गर्दछन्; तर त्यो वास्तविकता होइन। आफूले सकारात्मक सोच राख्दैमा अरुले राख्ने भन्ने छँदै छैन।

'पोजिटिभ थिङ्किङ्ग' द्वारा समाज रूपान्तरण गर्न एक एक नागरिकबाट शुरु गर्नुपर्छ भन्ने तर्क आउँछ– आखिर एकएक थोपाले त सागर बन्छ। तर मानव मस्तिष्कले त्यसो हुन दिंदैन।

मानिसको मनोविज्ञान र चरित्रले पहिला आफ्नो र आफू नजीककाको स्वार्थ हेर्छ, आफ्नो अग्रगतिको लागि अर्काको अधोगतिमा समेत आश बिसाउँछ। सबै ज्ञानी र राम्रा हुन्छन् वा हुनुपर्छ भनेर सकारात्मक सोच राख्नु निश्चय नै सराहनीय, तर जीवन दर्शनको खम्बा यसलाई बनाइनुहुँदैन।

लोकतान्त्रिक स्थिरता
चाहिएको त तर्कपूर्ण सोच हो। समाज, व्यक्ति र समुदायको स्वार्थमा चलेको हुन्छ भन्ने सत्यको आधारमा कसरी सबैको भलो र उन्नति हुने गरी क्रियाशील हुने, लिनुपर्ने बाटो यो हो। तर्कपूर्ण 'र्‍यासनलिजम्' मा आधारित छ, जसको जग कल्पना, आशा, आकांक्षा र 'गुड इन्टेन्शन्' नभई विज्ञान हो, मात्र विज्ञान।

'सकारात्मक सोच' ले भन्छ– नेपाल स्वीट्जरल्याण्ड, सिंगापुर बन्न सक्छ, मात्र हाम्रा नेताहरू महाथिर मोहम्मद र लि क्वान यू जस्ता भइदिए। भन्छ, काठमाडौंमा मेट्रो रेल ल्याउन सकिन्छ, पहाड–मधेश मिले कति राम्रो, फास्ट ट्र्याक बनाइदिए कति राम्रो। तर सकारात्मक सोच भनेको फेसबूकमा 'लाइक' ठोक्नु जस्तो हो, त्यसैलाई नै क्रियाशीलता वा जुझ्ाारुपन ठानिदिए भइहाल्यो।

तर्कले भन्छ– नेपाल स्वीट्जरल्याण्ड नै किन बन्नुपर्‍यो, इतिहास–परिवेशको कारण त्यो सम्भव पनि छैन कि! काठमाडौं उपत्यकाको अर्थतन्त्रले मेट्रो रेल धान्न सक्छ? बरु ट्राम, ट्रलिबस पो हेर्ने हो कि! भीमकाय धनराशि खर्चेर मेट्रो रेल नै निर्माण गर्दा बाँकी मुलुकलाई अन्याय हुन्छ कि!

त्यस्तै, अहिले उत्पन्न पहाड–मधेश दूरी मेटाउन इतिहासक्रम, भूराजनीति, विकास निर्माण, सरकारी नियुक्ति आदि कुरा हेर्नुपर्‍यो र पहाड–मधेश सहयात्राले सबैलाई समृद्धि दिलाउने तर्क–तथ्यांक पेश गर्नुपर्‍यो। देखिने र नदेखिने भेटघाट, भेला, गोष्ठी गर्नुपर्‍यो, बहसमा जुट्नुपर्‍यो। पहाड–मधेशको दूरी बढ्यो, यो मेटाउनु पर्‍यो भन्ने विचार त लामो यात्राको पहिलो पाइला मात्र हो।

आफूलाई मृदुभाषी सहृदयी नागरिकमा बदल्ने कोशिश सराहनीय होला सकारात्मक सोचका हिमायतीको, तर बाँकी संसार त अर्थतन्त्र र स्वार्थको क्रूर नियम र परिपाटीबाटै चलेको हुन्छ। त्यो स्वार्थको धरातललाई बुझीवरी विज्ञान र तर्कमा आधारित योजना बनाउने हो भने मात्र समाजले छलाङ मार्छ।

आज नेपालमा द्वन्द्वकाल सकिएको छ, संक्रमणकाल पनि सकिन–सकिन आँटेको छ र संविधान कार्यान्वयनको पहिलो फड्को स्थानीय निर्वाचनको मुखमा हामी छौं। समाज रुपान्तरण सपनाको सिंगो भारी आज 'लोकतान्त्रिक स्थिरता' मा अडेको छ। तसर्थ आज नेपाललाई स्वीट्जरल्याण्ड बनाउने सपनामा बरालिनुभन्दा स्थानीय निर्वाचन गराउन पूरापूर लाग्नुपरेको छ। यसलाई सकारात्मक सोच भन्नुस्, या नकारात्मक !

प्रतिकृया दिनुहोस