एउटै नगरपालिकामा दुई कार्यकारी
भक्तपुरको चाँगुनारायण नगरपालिकामा दुईजना कार्यकारी अधिकृत भएपछि कर्मचारी र सेवाग्राही अन्योलमा परेका छन् ।
२७ फागुनमा स्थानीय तहको पुनःसंरचनाको क्रममा जिल्लाको नगरकोट नगरपालिका चाँगुनारायण नगरपालिकामा गाभिएपछि यस नगरपालिकामा दुई कार्यकारी अधिकृत कार्यरत छन् ।
सरकारले ४ चैतमा कार्यकारी अधिकृतहरुको सरुवा गर्ने क्रममा साविक चाँगुनारायण नगरपालिकामा कार्यकारी अधिकृत लोकनाथ भुसाललाई स्थानीय तह पुनःसंरचना घोषणा भएपछि गाभिएको चाँगुनारायण नगरपालिकामा सरुवा गरेको थियो ।
नगरकोट नगरपालिकामा कार्यरत कार्यकारी अधिकृत राजेन्द्र कार्कीलाई भने महोत्तरीको बर्दिबासमा सरुवा गरेको थियो । सरुवा भएका कार्यकारीलाई तत्काल खटाएको स्थानीय तहमा काम गर्न जान सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले निर्देशन दिए पनि कार्की भने अटेर गरेर बसिरहेका छन् ।
वरिष्ठताका आधारमा आफू चाँगुनारायण नगरपालिकामै हुनुपर्ने अडान राख्दै सरुवाप्रति असन्तुष्ट जनाएर कार्कीले मन्त्रालयमा पुनःमूल्याङ्कन गर्न आवेदन दिएपछि मन्त्रालयले ९ चैतमा सिराहको मिर्चैया नगरपालिकामा सरुवा गरेको थियो ।
सरुवा पत्र बोकेर चाँगुनारायण नगरपालिकामा हाजिर हुन आएका भुसाललाई कार्कीले हाजिर गर्न नदिएपछि साविक चाँगुनारायण नगरपालिकाकै पुरानो हाजिर कापीमा हाजिर गर्दै आएको छन् ।
भुसालले भने – “मैले रमानापत्र लिएर आए पनि हाजिर गर्न पाइनँ, पुरानै हाजिर कापीमा हाजिर गरेको छु, सरकारले खटाएको ठाउँमा जानुपर्ने कर्मचारीको दायित्व हो, तर यहाँ त्यसो हुन सकेन, दुईजना कार्यकारी अधिकृत हुँदा कर्मचारीदेखि सेवाग्राहीसमेत अन्योलमा परेका छन् ।”
नगरपालिकामा पुग्दा दोस्रो तलामा कार्कीले कार्यालय चलाएको र तेस्रो तलामा भुसालले कार्यालय चलाएर काम गरेको पाइएको थियो । कार्यालयको ढोकामा दुवै कार्यकारी अधिकृतको नाम प्लेट टाँसिएको पाएपछि सेवाग्राही थप अन्योलमा परेका छन् ।
नगरपालिकाका कर्मचारीका अनुसार पुरानो नगरकोट नगरपालिकाका कर्मचारीले सेवाग्राहीको काम कार्कीको टेबुलमा लैजाने र चाँगुनारायण नगरपालिकाका कर्मचारीले भुसालको टेबुलमा सेवाग्राहीको काम लैजाने गरेका छन् । यसो गर्दा एउटै नगरपालिकामा पनि दुई कार्यालय भएको जस्तो भएको र कर्मचारीसमेत विभक्त भएको एक कर्मचारीले बताए । रासस