जानकी मन्दिर र अस्पतालको विद्युत लाइन काटियो
नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रले जानकी मन्दिर, जनकपुर अञ्चल अस्पतालसहित जनकपुरको विभिन्न सरकारी कार्यालयहरुको विद्युत लाइन काटेको छ ।
प्राधिकरणले जानकी मन्दिरको रु. ५८ लाख रकम बक्यौता रहेको भन्दै ७ भदौमा लाइन काटेको हो । स्थानीयले भने मन्दिरको लाईन काटेर धार्मिक आस्थासित खेलवाड गरिएको भन्दै प्राधिकरणको आलोचना गरेका छन् ।
मन्दिरका महन्थका सहयोगी रामरोशन दासले मन्दिरभित्रै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, मिथिला संस्कृति केन्द्र, नेपाल कराँते संघ लगायतका संस्थाहरु रहँदादेखि नै विद्युत महशुल बक्यौता रहेको जानकारी दिए । उनले ती संस्थाहरु खाली गरेर गए पनि महशुल भुक्तानी नगरेकोले बिल रकम बढेको दाबी गरे ।
प्राधिकरणका प्रमुख जितेन्द्र झाले भने दुई वर्षदेखि बक्यौता रहेकाले निश्चित म्यादभित्र तिर्ने कागज नभएसम्म लाइन नजोडिने स्पष्ट गरेको छ । गुठी संस्थान मातहात नै रहेपनि संस्थानका कर्मचारीले मन्दिरले महशुल बुझाए नबुझाएको आफूहरुको मातहातमा नपर्ने स्पष्ट गरे ।
त्यसै गरी लक्ष्मण मन्दिर र रामजानकी विवाह मण्डपको समेत विद्युत लाइन काटिएको छ । लक्ष्मण मन्दिरमाथि विद्युत प्राधिकरणको बक्यौता रकम १७ लाख रुपियाँ रहेको छ । विवाहमण्डपमाथि साढे सातलाख बक्यौता रहेको छ । जनकपुर अञ्चल अस्पतालमाथि रु. ५६ लाखभन्दा बढी रकम बक्यौता रहेको छ ।
अञ्चल अस्पतालको उपचार कक्षबाहेक आवासको लाइन मात्रै काटिएको प्राधिकरण जनकपुरका प्रमुख जितेन्द्र झाले जनाए । जनकपुर–९ मा रहेको म्याक प्लाष्टिक उद्योगले बक्यौता साढे रु. ५ लाख तिर्न नसक्दा उद्योगको लाइन समेत काटिएको छ । सडक डिभिजन कार्यालय मुजेलियाले ३३ महिनादेखि साढे रु. ३ लाख विद्युत महशुल बक्यौता राखेको छ ।
प्राधिकरण जनकपुर शाखाका प्रमुख झाले विद्युत कार्यालयको बक्यौता रकम ३२ करोड नाघेको जनाए । पछिल्लो समय कार्यालयले ग्रामीण क्षेत्रमा समेत महशुल नबुझाएको ग्राहकको लाइन काटने अभियान नै चलाएको छ । सडक बत्तीको मात्रै रु. १० करोड बक्यौता रहेको छ ।
इश्वरचन्द्र झा, जनकपुर