अब देश पूर्ण लोडसेडिङ्मुक्त, तीन वर्षभित्र विद्युतमा आत्मनिर्भर
नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ले देश पूर्ण रूपमा लोडसेडिङ्मुक्त भएको र अबको तीन वर्ष भित्र देश विद्युतमा आत्मनिर्भर हुने बताएका छन् ।
प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै घिसिङ्ले अबको तीन महिनाभित्र उद्योग तथा कलकारखानामा पनि लोडसेडिङ् नहुने बताएका हुन् । हाल औद्योगिक क्षेत्रमा बेलुका दैनिक चार घण्टा लोडसेडिङ् हुँदै आइरहेको छ । त्यस्तै निर्माणधिन विभिन्न जलविद्युतमार्फत अबको तीन वर्षभित्र १२ सय मेघावाट विद्युत् उत्पादन हुने र देश पूर्णरुपमा विद्युतमा आत्मनिर्भर हुने भएको छ । आगामी एक वर्षभित्रै २०० मेघावट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै काठमाडौँ उपत्यकामा एक वर्ष भित्रमा १००० मेघावाटको ट्रान्सफर्मर मार्फत विद्युत् आपूर्ति हुने भएको छ । अहिले उपत्यकामा ४०० मेघावाटको ट्रान्सफर्मर मार्फत विद्युत् आपूर्ति भइरहेको छ ।
गत वर्ष १७३० मेघावट विद्युत् १४ अर्ब रुपैंयामा आयात भएको र यो आर्थिक वर्षमा १५ अर्बमा १९७२ मेघावट विद्युत् आयात गर्ने सम्झौता भएको कार्यकारी निर्देशक घिसिङ्ले बताए । उनले भने– “ एक प्रतिशत मात्रै बढी रकममा गत वर्षभन्दा १४ प्रतिशत बढी विद्युत् आयात गरिएको छ ।” १५ अर्बको सम्झौतामा हालसम्म ९ अर्बको विद्युत् आयात भइसकेको छ ।
२५ चैतमा विद्युत् सुरक्षा दिवस मनाइने
नेपाल विद्युत् प्राधिकरण र सोसाइटी अफ इलेक्ट्रिकल इन्जिन्यर्सको संयुक्त आयोजनामा २५ चैतमा विद्युत् सुरक्षा दिवस मनाइने भएको छ ।
७५ जिल्लाका विद्युत् प्राधिकरण कार्यालयबाट विद्युत् खपत तथा चुहावट नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरेर दिवस मनाइने प्राधिकरणले जनाएको छ । विगत ६ महिनामा चुहावटको नियन्त्रणबाट मात्रै चार प्रतिशत विद्युत् खपत भएको र एक अर्ब २५ करोड रुपैंया बचत भएको घिसिङ्ले बताए ।
लोडसेडिङ् हटाउने अभियानका क्रममा कर्मचारीहरू रातदिन खटेको र यसले विशेषगरी फिल्डमा खटिने कर्मचारीहरू बढी जोखिममा रहेको प्राधिकरणले जनाएको छ । विद्युत् सुरक्षा दिवसले विद्युतीय जोखिम कम गर्न जनचेतना फैलाउने प्राधिकरणको दाबी रहेको छ ।